प्रज्वल चापागार्इँ –
रेडियो नेपालमा कार्यरत छँदा २०५४ साल वैशाख जेठतिर एउटा आमसभाको रिपोर्टिंग गर्न अर्घाखाँचीको सन्धिखर्क गएको थिएँ। काम सकिएपछि औधि भोक लाग्यो। खाजा खान मासु चिउरा खोज्दै जाँदा होटलवालाहरुले एउटै प्रश्न तेर्स्याए, ‘हजुर लिनी हो र अलिकति?’ यसो भन्दै मासुसंग सोमरस बेच्न सक्दो प्रयास गर्दा रहेछन होटलका साहु-साहुनिहरु। रक्सी नखाए खाजा पाउन गार्हो पर्ने त्यो अवस्थाले यो आलेख तयार गरायो। आलेख प्रकाशित भएको केही समयपछि सन्धिखर्कका एक मित्रले मलाई सुनाएका थिए, ‘तिम्रो लेखको कारण नयाँ सिडिओले सन्धिखर्क बजारमा मदिरा बेच बिखनमा प्रतिबन्ध लगायो।’ :
‘हजुर! लिनी हो र अलिकति?’ अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कका भोजनालय र चमेनागृहहरुमा ग्राहकलाई सँधै सोधिने प्रश्न हो यो। प्राय: सबै भोजनालय र चमेनागृहमा एउटै प्रश्न तेर्स्याइंदा त्यहाँ पुग्ने नौलो मानिस एकपटक अल्मलिन्छ। खाजा वा खान खान गएको मानिसलाई ठाडै यसरी रक्सी खान आमन्त्रण गर्दा अनौठो लाग्नु स्वाभाविकै हो। तर तितो सत्य के हो भने सन्धिखर्कले रक्सीकै कारण ख्याती वा कुख्याती कमाएको छ।
त्यसो त नेपालमा ‘खोयाबिर्के’ नपाइने र नखाईने गाउँ खोज्नु मरुभूमिमा हरियाली खोज्नु जस्तै हो। बरु औषधी पाइदैन, मदिरा जहाँसुकै पाइन्छ। तर सन्धिखर्कले उपभोग गर्ने सोमरसको मात्रा र त्यसका कारण फैलिएको विकृति चाहिँ चरम अवस्थामा पुगिसकेको छ।
डिभर्ना, अर्घा, किमडाँडा र वाङ्गला गाविसहरुको बीचमा पर्ने सन्धिखर्क बजारमा ३ सय २५ जति घरहरु छन। तिनमध्ये केहीमा विभिन्न सरकारी कार्यालयहरु छन भने बाँकी झन्डै १ सय २५ घरहरुमा चमेनागृह वा भोजनालय छन। यिनमा लोकल खोयाविर्के, श्री पाउच (जुस जस्तो देखिने प्लास्टिकको पोका), खुकुरी रम, रंगिला, भोड्का, गोल्डेन ग्रेप, च्यालेन्जर आदि अनेक नाम र ब्रान्डका रक्सीका बोतलहरु गजबसँग सजाएर राखिएका हुन्छन। चिया, खाजा वा भोजन गर्न आउनेहरुलाई ‘हजुर! लिनी हो र अलिकति ?’ भन्ने प्रश्न पस्केर पसले-पसल्निहरु सोमरस बेच्न सक्दो बल गर्छन। उनीहरुको यो प्रयास सितिमिति खेर जाँदैन। त्यसैले मदिराको उपभोग सन्धिखर्कमा प्रचुरतासाथ हुने गर्दछ। बाँगी खोलापारिको चुत्राबेँसी र वारिको सन्धिखर्कमा दैनिक खपत हुने २ हजार लिटर रक्सीको प्रति लिटरको सरदर ५० रुपैयाँको दरले हिसाब गर्दा पनि यहाँ एकदिनमा १ लाख रुपैयाँ रक्सीमा सिध्याईन्छ। कृषिमा निर्भर रहने किसानहरुद्वारा मासिक ३० लाख रुपियाँ उडाइनु वास्तवमै उदेक लाग्दो विषय हो।
यहाँका किसान र कर्मचारीहरु मात्र होइन युवा, किशोर र बिद्ध्यार्थीहरु समेत रक्सीको लतमा नराम्रोसित परेका पाइन्छन। बिद्यार्थीहरुले क्याम्पसकै हाताभित्र र कक्षामा नै श्री पाउच पिउनु यहाँ असामान्य मानिदैन। बिद्यालयका शिक्षकहरु पनि श्री पाउचलाई जुस भन्दै तनतनी पिउने गर्छन र नसामा लट्ठ पढाउने कोठामा छिर्छन।
युवाहरु भर्ती जाने यहाँको पुरानो चलन हो। कतिपय अशिक्षित युवाहरु भारतको लखनऊ, कानपुर, पन्जाव र दिल्ली जस्ता ठाउँमा गई कुल्ली, घरेलु नोकर, दरबन र रिक्साचालक भएर अर्थोपार्जन गर्छन। उच्चशिक्षा अध्ययन गर्ने र जागीर खानेहरु गाउँमा छैनन्। सबै सहर पसेका छन। त्यसैले पनि यहाँ पुरुषहरुको संख्या अलि न्यून छ। गाउँमा बाँकी रहेका पुरुषहरुमा पनि अनुत्पादक गफमा समय खर्च गर्ने रोग लागेको छ। सिद्धरा गाविसका हुमनारायण बेलबासेको भनाइमा दिनमा १२-१५ कप चिया पिउनु, रक्सि खानु, अनुत्पादक समय खेर फाल्नु अनि दिनभरि तास खेल्नु यहाँका पुरुषहरुको दिनचर्या बनेको छ। सन्धिखर्कमा चिया बेचेर आफ्नो गुजारा चलाउने पसल्नी राधा पौडेल पनि यस बढदो विकृतिका कारण आफ्नै गाउँदेखि निरस भएकी छिन। उनी भन्छिन, ‘यहाँ दूध किन्न पाइन्न तर रक्सी चाहिँ जत्ति चाहिए पनि पाइन्छ। पुरुषहरु पाएसम्म जाँड रक्सी खान्छन र महिलालाई काममा दलेर दु:ख दिन्छन।’ उनको भनाइमा छिमेकी गाविसहरुमा निस्क्रिय अवस्थामा भएपनि आमा समूहहरु छन। तर सन्धिखर्कमा आमा समूह बनाउने आँट अहिलेसम्म कसैले गर्न सकेको छैन।
भनिन्छ, ‘सदरमुकाम सन्धिखर्कमा रक्सी खाने चलन फुल्छ-फल्छ र जिल्ला भरिका गाउँतिर सर्छ।’ राजनीतिक पार्टीका स्थानीय नेताहरुलाई पनि यस समस्याप्रति खासै सरोकार भएको देखिदैन, किनभने अर्घाखाँचीकै एकजना पूर्व उद्योगमन्त्री र शिक्षामन्त्री स्वयं मुलुकको स्तरीय जँड्याहामा गनीने कुरा सन्धिखर्कका एकजना शिक्षक बताउँछन। मदिरासेवन गर्न सन्धिखर्कले तिनै नेतालाई सिकाएको हो कि ती नेताले सन्धिखर्कलाई सिकाएका हुन् त्यो चाहिँ खोजकै विषय छ।