ज्योती शाह
म केही दिनदेखी आफ्नै कार्यालयको ब्यस्तताले समाचार र सामाजिक सञ्जालहरुमा खासै अपडेट भएकी थिइन । नयाँ मन्त्रीपरिषद् बिस्तारसंगै युवा नेता गगन थापा स्वास्थ्यमन्त्री बनेको मलाई जानकारी छ । यस पछिका राजनितीक र सामाजिक परिस्थीतिहरुका खबरबाट म केही समय अलगै रहन पुँगे । मंगलबार पुरानो एक जना साथी भेटिइन् । दरबार मार्गको कफी पसलमा कफीसंगै आ–आफ्नै गन्थन मन्थन गर्दै थियौँ । गफ बिटमार्नै थालेको बेला साथीले जोस्सिदै भनी “ओई तलाई टिचिङ अस्पतालको सुसाईड काण्ड थाहा छैन ? मैले भने अहँ ! के भाथ्यो र ? मलाई त केही थाहा छैन । “हेर्न दोलखा घर भएका १९ वर्षीय विजय खड्का अस्पतालको तीन तलामाथिबाट हाम्फालेछन् ।” मैले प्रतिप्रश्न गरे, लौ यती योङ्ग मान्छेले किन यसो गरेको नी ? अनी तलाई कसरी थाहा भयो ? “तेरो मम्मीको जस्तै ब्यथा रैछ । एक दिन मर्नु नै छ परिबारलाई दुःख दिन्न भनेर हाम्फालेको रे । सुसाइड नोट यस्तै थियो रे । ”
साथीले रुखो शब्दमा विजय खड्का टिचिङ आत्महत्या प्रकरण मेरो जिन्दगीसंग जोडिदिई । तर घटनाले मुटुमै हानेपछि मन बेस्सरी कुँडीयो । आँखा रसिला भए । साथीसंग बिदा भएर घर फर्कीदैँ गर्दा विजय खड्का सुसाइड प्रकरण र सुसाइड नोटबारेका सबै समाचारहरु मोबाइलबाटै हेरे । मेरो मन यति अशान्त थियो की बरु साँझको जाम, माइक्रो बसको कोचाकोच र बाहिरी शहरको कोलाहल शान्त जस्तो लाग्दथ्यो । १९ बर्षीय विजय खड्का अस्पतालको तीन तलामाथीबाट हाम्फाल्ने बाताबरण कसरी सृजना भयो ? साथीले भनेका र आफूले पढेका घटनाक्रम घर पुग्ने बितिकै बाबालाई सुनाए । लामो श्वास तान्दै, शिर सिलिङतिर ठाडो बनाएर चु..चु..चु गर्दै बाबाको आँखा रसाए । मृगौला फेल भएर बिक्षिप्त जिवन भोगाई भएका सबै नागरिकका पीडा हामीलाई आफ्नै जस्तो लाग्छ । हामी हरेक दिन प्रार्थना गर्दथ्यौँैँकी मृगौला रोगसंग जोडिएको हाम्रो जस्तो जीवन कहाँनी कसैलाई नदोहोरियोस् तर विजय खड्काले आत्मा हत्या गरी त्यो कामना तोडाए ।
मेरी आमा सरकारी बिद्यालयकी शिक्षिका हुनुहुन्थ्यो, बाबा फिजिसियन चिकित्सक, हामीलाई हाम्रो परिवार संसार कै सबै भन्दा खुसी परिवार जस्तो लाग्दथ्यो । जिबिको पार्जन चलेकै थियो । मेरी आमा घरको मेरुदण्ड, दिदी र मेरी साथी, बाबाकी सबथोक हुनुहुन्थ्यो । सुरुमा देखीएको पाठेघर क्यान्सर, बिस्तारै शरिरमा रेडीएसन बढी भएका कारण रगत बन्न छोड्नु र त्यस पस्चात २०६० सालमा दुवै मृगौलाले काम गर्न छाडेपछि हामीले आमालाई तन्दरुस्त देख्नै पाएनौँ । तर पनि हामी छाँया बनेर उहाँको साथमा निरन्तर रहि नै रह्यौँे । बुटवल, पोखरा, काठमाडौँ, दिल्लीका अस्पतालले रोग प्रमाणीत गर्दै गयो । निको पार्ने मुलो कतै मिलेन । औषधी, सुई र खानेकुरामा सावधानीका कारण उँहालाई रोगले तुरुन्त त्यती च्याप्न त सकेन तर २०६३ सालदेखी उहाँ हेमाचुरीयाले सिकिस्त हुनुभयो, वीर अस्पताल भर्ना गरियो । चिकित्सकीय सल्लाह बमोजिम हेमोडायलाइसिस उपचार बिधि सुरु भयो । त्यो समय हाम्रो लागी अस्पतालमा रहनु दिनचार्य जस्तो भई सकेको थियो ।
सबैले भन्ने गर्दथे “यो अस्पताल तिमीहरुको मामा घर बनेको छ” । अस्पताल तीन चार महिना बस्नु पर्दथ्यो, हप्तामा दुई/तीन पटक हेमोडायलाइसिस गर्नुु पर्ने हुन्थ्यो । एक पटक हेमोडायलाइसिस गर्दा १७०० देखी २५०० रुपैयाँ खर्च हुनका साथै रगत अनिवार्य दुई पाइन्टस् चढाउनु पर्दथ्यो । त्यो समय मृगौला रोगीका लागी उपचार निशुल्क थिएन । “जीवन बाँचे संसार जित्न सकिन्छ” भन्दै हामी आमा बचाउन सबै उपायकासाथ लाग्यौँ । आर्थिक अवस्था गिर्दो थियो । आमालाई एक पटक हेमोडायलाइसिस गराउनका लागी पनि हामीलाई निकै संघर्ष गर्नु पर्ने दिनहरु आए । आमा बचाउने हाम्रो चार वर्षे प्रयासमा स्वस्थ्य मन्त्रालयबाट मृगौला रोग पीडितका लागी सहयोग स्वरुप रु ५० हजार हामीले पाएका थियौँ । अरु सबै खर्च आमाको पेन्सन, बाबाको धेरथोर कमाई, जग्गा, गहना बेचेर र इष्ट मित्रसंग ऋण लिएर चलेको थियो । मन्त्रालय, सरकारी निकाय नधाएको होइन तर हामीलाई कतैबाट सहयोग मिलेन ।
म बाँचेर देखाउँछु भन्ने आत्मा विश्वास र जोश सायद यस्ता धेरै बिरामीहरु मध्ये मेरो आमासंग मात्रै थियो । तर रोगले च्याप्दै पटक पटक कोमाबाट फर्कीए पछि आफ्नो कारणले परिवारले दुःख पाएको भन्दै आमा निकै चिन्तित बन्नुहुन्थ्यो । हामी आमाको अँगालोमा बाँधीएर निकै बेर रुन्थ्यौँ र भन्थ्यौँ “आमा, हजुर यस्तो नबोल्स्यो ।” वास्तबमा मेरो आमाको मनमा निराशा गहिरिदैँ थियो । मेरो आमाको त्यो निराशा र त्रि.बि शिक्षण अस्पताल महाराजगञ्जमा आत्महत्या गरेका विजय खड्काको सुसाईड नोटको पहिलो वाक्यशं “ममी मलाई माफ गरिदिनु होला । म तपाँईलाई दुःख दिन चाहान्न त्यसैले यो झ्यालबाट हामफालेर आत्महत्या गर्दैछु ।” समान छन ।
२०६७ साल, दशैँको समय थियो । आमा अस्पताल मै भर्ना हुनुहुन्थ्यो । उहाँको स्वास्थ्यमा एक्कासी थप जटिल समस्या देखीयो र तत्काल थप हेमोडायलाइसिस गर्नु पर्ने भयो । तर दशैँ बिदा भएकाले अस्पतालमा कर्मचारीको अभाव र तत्काल हेमोडायलाइसिस सेवा उपलब्ध नहुनुले समस्या झनै बढ्यो । डाक्टर, उपलब्ध कर्मचारी र आफ्नो ब्यक्तिगत पहुँचको प्रयोग गर्दै राष्ट्रिय मृगौला उपचार केन्द्र, त्रि.बि. शिक्षण अस्पताल र केही अरु अस्पतालहरुमा पनि हेमोडायलाइसिसका लागी कोशिस ग¥यौँ तर सफल हुन सकेनौँ । साह्रा प्रयासका बाबजुत हेमोडायलाइसिस सेवा नपाउँदा आमाको स्वस्थ्य अवस्था गंभिर बन्दै थियो । खुलेका एकाध अस्पतालमा बेड नपाइने र बेड खाली भएका केहीमा पनि दशैँ बिदाका कारण कर्मचारी र डाक्टर बिदामा बसेको भन्दै आकस्मिक हेमोडायलाइसिस सेवा उपलब्ध गराउन सकेनन् । शनिबार देखी हेमोडायलाइसिसका लागी गरेका सबै कोसिसहरु निरर्थक हुँदै गर्दा २०६७ कार्तिक १ गते सोमबार बिहान ८ बजे हेमोडायलाइसिस सेवा वीर अस्पतालमा नै उपलब्ध त भयो तर निकै ढिलो भइसकेकाले आमाको स्वास्थ्यावस्था निकै चिन्ताजनक थियो । करीब ११ बजे हेमोडायलाइसिस सकेर आमालाई बेडमा फर्काइयो । हाम्रो खुसी, हाम्रो भाग्य, हाम्रो संसार, हाम्री आमा, हाम्री आमा बिरामी नै सही तर सधै हामीसंगै हाम्रै आँखा अगाडी रहनु पर्छ , बाबा÷हामी, यही चाहान्थ्यौँ । अवस्था निकै नाजुक बनि सकेको थियो हाम्रो चाहना समयले बुझेन साँझपख आमाले यो संसारबाट बिदा लिनुभयो । हाम्रो संसार उजाडियो ।
मेरो बाबा पेशाले फिजिसियन र राजनितिक रुपले तत्कालिन प्रमुख राजनितिक शक्तिको प्रभावशाली नेता समेत हुनुहुन्थ्यो । चिकित्सकीय ज्ञान राख्ने हुनुहुन्थ्यो र राजनितिक पहुँच पनि हाम्रा लागी टाढा त थिएन तर हामीले त्यो पहुँच प्रयोग गरेनौँ । यो परिस्थीतिका बाबजुत हामीले आमाका उपचारका लागी कती हण्डर खेप्यौँ उल्लेख गरीसकेको छु । हामी सामान्य परीवारका सामान्य नागरिक हौँ र पनि रोगको अवस्था, अस्पतालको सुबिधा, बिरामीलाई गरिने हेरचाह र सबै परिस्थीति बुझेर पनि हाम्रा लागी उपचार प्रक्रिया सहज भएन, आमा बचाउन सकिएन । म आज भोली पनि धेरैबेर घोत्लिएर सोच्छु हामी भन्दा पनि कमजोर अवस्थाका मानिसका लागी यस्ता रोग बिरुद्ध लड्ने र आफन्तलाई बचाउने सामथ्र्य कसरी आउला ? विजय खड्काको परिवार यस्ता कठिनाईहरुसंग कसरी जुधिरहेको थियो भन्ने जान्न विजय कै सुसाइड नोटले प्रष्ट बोलेको छ । फेरी हाम्रो समाज मृगौला फेल बिरामीबारे सकारात्मक धारणा राख्दैन । बिरामी पनि मर्ने परिवारलाई पनि मार्ने भनेर ब्याख्या गरेको मैले धेरै सुनेकी छु । यस्ता भनाईले बिरामी र परिवारलाई हतोत्साहीत गर्छ भन्ने कुरा कस्ले बुझाईदिने समाजलाई । फेरी समयको नियति पनि कस्तो ? यो देशमा स्वास्थ्य विमाको सुबिधा छैन, रोगको प्रकृती अनुसारको चौबिसै घण्टा उपचार गर्न सकिने औजार र मानव स्रोत छैन, गरिब तर घातक रोगले च्यापेका बिरामीलाई राज्यको पूर्ण सहयोग छैन । तर करिब दुईसाता बिचको समयमा ६८ वर्षीय पूर्वराष्ट्रपति उपचारका लागी अमेरिका हिँड,े सरकारले ६० लाख उपचार खर्च दियो । त्यसैगरी ६४ वर्षीय पूर्वप्रधानमन्त्री के.पी. ओली उपचार कै लागी सिगांपुर गए । धेरै नेता बिदेशी अस्पतालमा उपचार गराउँछन तर १९ वर्षीय नागरिक उपचार खर्च अभावमा अस्पतालबाट हाम्फालेर आत्मा हत्या गर्छ । यो दोलखाको विजय खड्का मृत्युको मात्रै भन्ने विषय होइन, सत्याग्रह हो । पितृ र गरिब, पीडित जनताका आँसुले जिम्मेवारहरुलाई नपोल्दै, उनीहरुको चेत खुल्लाकी नखुल्ला तर पनि विजय खड्काले जस्तोबाटो अरुले रोज्ने दिन नआओस् । भावपूर्ण श्रद्धाञ्जली विजय ।।