कारवाही गरेर बन्दी बनाइएपछि पनि बाबुराम भाग्न सक्छन् अथाव दुस्मनले हेलिकप्टर लिएर लैजान सक्छ जस्ता उटपट्याङ हल्ला चलाइयो । जनसेनालाई थप सर्तक गराइयो । ठाउँ ठाउँमा पूरै चेक गर्न लगाइयो । बाबुरामलाई पीपलएभित्र माया गर्ने पनि थिए, उनीहरुले यस्तो सूचना दिन्थे ।
तपाईंको हतियार खोस्न भनेको छ हामीलाई, भाग्न सक्छ वा दुस्मन लिन आउन सक्छ, सर्तक हुनुपर्छ भनेको छन् भन्दै जनमुक्ति सेनाका केही लडाकूले सुनाएपछि बाबुरामको जवाफ हुन्थ्यो – अहिले बुद्धिमा बिर्काे लागेको छ, पछि बुझ्छन् । कारबाही गरेपछि बैठकबाट निस्केका बाबुरामलाई मिरुल पु¥याइयो । बैठक सकेर प्रचण्डहरु आएपछि बाबुराम, हिसिलालगायतलाई दुम्लानजिकै पु¥याइयो ।
बाबुराम भट्टराई आफ्नै पार्टीको बन्दी बनिसकेका थिए जुन पार्टीमा उनले २० वर्षभन्दा बढी लगानी गरेका थिए, जीवन अर्पेका थिए, अन्ततः त्यहप् पार्टीले उनलाई थुन्यो । दीनानाथ शर्मा र हिसिला यामीको हालत उस्तै थियो । एउटा कुर्सी र एक बाकस किताब साथमा लिएर हिँडेका बाबुरामलाई हिउँले ढाकेका पहाडहरु छिचोेल्दै २०६१ माघ २५ मा रोल्पाको मिरुल गाउँ पु¥याइयो । –शर्मा, २०७०)
प्रचण्डले बाबुरामलाई कहिल्यै कटु शब्द बोलेनन् । प्रचण्डको आफैँले केही नभन्ने तर अरुलाई उचाल्ने शैली थियो । बुलुकी रक्सी खाएर मनपरी बोल्ने प्रचण्डको बानी छ, उनका नजिककाले त्यही सिकेर त्यसै अनुसार व्यवहार गर्थे । झट्ट हेर्दा प्रचण्डले अति शिष्ट व्यवहार गरे भन्ने देखिने तर उनका नजिकका मान्छे वा परिवारका सदस्यले अत्यन्त दुस्मनीपूर्ण टिप्पणी गरेको देखिने, यो कसरी भयो भन्ने शंका गर्थे, पछि थाहा भयो । प्रचण्ड रक्सी खान्छन्, मनपरी बोल्छन्, अरु त्यही सिक्छन् । तर, प्रचण्ड र मेरो प्रत्यइा त्यसरी कटु कुराकानी भएन, बाबुराम भन्छन् – ‘उनी दोहोरो व्यवहार गर्थे ।’
यस बारेमा प्रचण्डको भनाइ भने फरक छ – ‘साँचोचाहीँ त्यति धेरै होइन । उहाँसँग वैचारिक मतभेद सुरुदेखि नै भयो । तर, फेरि उहाँ चाहिन्छ आन्दोलनमा भनेर बढी सोच्ने मै थिएँ । बाबुरामलाई जसरी पनि लिएर जानुपर्छ भन्ने मैले हो । मैले नजिकका साथीहरुसँग अलिकति वैचारिक कुरा गर्दा ‘अलिकति हुने’ त सामान्य भयो होला तर त्यही कारणले उहाँलाई प्रताडित गरियो भन्ने सत्य होइन ।’
‘म एउटा सिनियर लिडरलाई त्यसरी कारबाही गरिने होइन, पहिले त त्यो गलत हो, दोस्रो कुरा युद्धमा दुस्मनको घेराबन्दीमा छौँ, मलाई त प्रचण्डकै हाराहारीमा मान्थे मान्छेहरुले, अझ कैयौँले त मलाई बढी चिन्थे, मलाई ठूलो खतरा थियो । मलाई त प्रचण्ड कै हाराहारीको सुरक्षा दिनुपथ्र्यो । यसै पनि उनको भन्दा कम सुरक्षा दिइएको थियो, त्यो पनि झिकियो’ बाबुराम भन्छन् – ‘कुनै पनि मान्छेले मारिदिन सक्थे मलाई, त्यो त चरम लापरबाही थियो ।’
बाबुरामलाई कारबाही गरेपछि राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर फैलियो । यसै बेला माओवादीले खारा आक्रमणको तयारी गरिरहेको थियो । आक्रमणको तयारीका लागि दुम्लावरिपरि अभ्यास भइरहेको थियो । यसैबेला बाबुरामलाई बन्दी बनाएको खबर बाहिर आएपछि प्रचण्डले ‘होइन’ भनेर समाचारको खण्डन गर्न बाबुरामलाई दबाब दिए । बाबुराम भन्छन् – ‘होइन भनौँ, त्यत्रो अपमान गरेको छ, बन्दी बनाएको छ, हो भन्दा पनि उपुक्त नहोला भन्ने बीचको बाटो अपनाएर वक्तव्य निकालेँ । अश्वत्थामा हतोहतः शैलीको वक्तव्य दिन बाध्य भएँ ।’
‘म सुरक्षित छु, खतरा छैन भनेर वक्तव्य निकाल्न प्रचण्ड र उनी नजिकका नेताहरुले दबाब दिइरहेका थिइ । यत्रो आक्रमण गर्न गइरहेका छौँ, जनसेनाको मनोबल उठाउनुपर्छ, समाचारको खण्डन गर्नपु¥यो भन्ने निर्देशन थियो । आन्दोलनलाई घाटा पार्न म पनि चाहँदैनथेँ । प्रचण्डले मूर्खता गरेका छन्, धैर्य गर्नुपर्छ, बेलामा चेत्छन भन्ने मेरो बुझाइ भएकाले बीचको भाषामा म आफैँले लेखेर वक्तव्य दिएको हुँ ।’ बाबुरामले पुराना दिन सम्झिए ।
‘जनमुक्ति सेनाका भरपर्दाे सुरक्षा घेराभित्र पाउँदा हामीलाई कुनै प्रकारको ग्लानि होइन, असीम गौरव र आनन्दको अनुभूती भइरहेछ’ भन्दै बाबुरामले घुमाउरो शैलीमा आफूलाई बन्दी बनाइएको सन्देश पनि ‘दबाबमा निकालिए’को वक्तव्यमा दिएका थिए ।
कारबाहीमा परेका बाबुरामलाई कुनै सुरक्षा दिइएको थिएन । केही दिनपछि प्रचण्डसँग कुरा भएपछि केही लडाकू खटाइएको भए पनि बाबुरामलाई जनसेनाको घेरामा राखिएको थिएन । सरकारी सुरक्षाकर्मी छिरेको भए बाबुरामलाई सजिलै पक्रिन वा हत्या गर्न सक्थे । बाबुरामले ‘जनुमक्ति सेनाको भरपर्दाे सुरक्षा घेराभित्र रहन पाउँदा’ भन्दै वक्तव्य दिएपछि प्रचण्ड दबाबमा परे । सरकारी सुरक्षाकर्मी पसेर बाबुरामको हत्या गरे पनि वा जो कसैले बाबुरामको हत्या गरे पनि प्रचण्डले मारेको सन्देश जाने स्थिथि उत्पन्न हुन्थ्यो । त्यसपछि प्रचण्डले बाबुरामको सुरक्षामा ध्यान दिए ।
‘बाबुरामलाई ज्यादै अपमानजनक तरिकाले राखियो ।’ स्वकीय सचिव विश्वदीप पाण्डे भन्छन् – ‘गण्तन्त्र नल्याउँदासम्म जे पनि सहन पर्छ । आवेगमा आएर केही निर्णय गर्न हुँदैन, ’ बाबुरामले त्यसबेला आफूसँग भनेका कुरा सम्झिन्छन पाण्डे । बाबुरामको अनुभव छ – ‘प्रचण्डको शैली अत्यन्त महत्वकाङ्क्षी छ र सत्ताबाहेक केही होइन भन्ने छ । सत्ताबाहेक आफू केही हुन्नँ भन्ने भित्र हीनताबोध र बाहिर महत्वबोध उनको जुन देखा पर्छ, त्यो दोहोरो चरित्र छ ।’
बाबुरामलाई कारबाही गरेपछि प्रचण्डले उनका विश्वासपत्र कृष्णबहादुर महरालाई दिल्ली पठाए । जनयुद्ध सुरु भएको वर्षपछि २०५३ सालमा केन्दीय समिति सदस्य भएका महरालाई २०४८ सालदेखिका केन्द्रीय टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटालाई भन्दा वढी भूमिका र स्थान दिइएको थियो बाबुराममाथि गरिएको कारबाही सही भएको र मोहन वैद्य र सीपी गजुरेललाई जेलबाट छुटाउने दुई उद्देश्य लिएर महरा दिल्ली गएका थिए । दिल्ली गएका महराले बाबुरामविरुद्ध ‘बदमासी’ गरे । भारतमा पढेका बाबुरामको एउटा तप्कामा राम्रो चिनाजन थियो, यस्तै देशभित्र पनि युद्धकालमा देवेन्द्रराज पाण्डे, हृषीकेश शाह, दमननाथ ढुङ्गानालगायतसँग उनको सम्पर्क हुन्थ्यो ।
जनयुद्धमा ओपन फेस बाबुरामकै थियो, जुन प्रचण्डपक्षीय नेताहरुलाई मन पर्दैनथ्यो । भारत पुगेका महरालाई भारतीय र नेपालीहरुले चासोपूर्वक बाबुरामका बारेमा सोधे । बाबुराम भन्छन् – ‘ओपन फेस त मेरो हो, मलाई पार्टीभित्र बन्दी बनाइएको खबर सार्वजनिक भएपछि स्वतः सबैलाई सोध्छन्’ बाबुरामलाई सोधेको महरालाई मन परेन । त्यही कुरालाई महराले बङ्ग्याए र स्वदेश फर्केपछि बाबुरामलाई छोडेपछि भारतले वैद्यलाई छोड्छौँ भन्यो भनेर प्रस्तुत गरे । त्यसैलाई आधार मानेर ‘बाबुराम भारतको दलाल भएको पुष्टि भयो’ भनेर पार्टीभित्र व्यापक प्रवाह गरे ।
केही दिनपछि हुन गइरहेको खारा आक्रमणका लागि जनसेनालाई उक्साउन बाबुरामलाई कारबाहप् गरेर ठीक गर्यौँ भन्ने प्रचार सबैतिर गरियो । ’समय आएपछि प्रक्रिया पुर्याएर वैद्य र गौरवलाई छोड्छौँ‘ भनेका कुरा र ‘बाबुरामको खबर के कस्तो छ ?’ भनी सोधेको दुई अलग अलग कुरालाई महराले मिसाएर बङ्ग्याई प्रस्तुत गरेका थिए । बाबुरामको ठहर छ – ‘हेर्दा भलादी देखिने तर भित्रभित्र खतरनाक व्यक्तित्व छ महराको ।’ यतिबेलै बाबुरामलाई लगाएको आरोप टेप खारा आक्रमणका क्रममा नेपाली सेनाको हातमा पुग्यो । र, उक्त टेप बाबुरामलाई प्रचण्डले संसदवादी दलहरुसँग वार्ताको वातावरण बनाउन दिल्ली पठाएका बेला सेनाले सार्वजनिक गरिदिएको थियो ।
‘फरक विचारलाई भौतिक ढङ्गले सफाया गर्ने स्टालिनको पालादेखिको कम्यनिस्ट आन्दोलनको कमजोर पक्ष हो । उग्र, भ्रष्ट, उदण्ड पात्र वढी भक्त हुन्छन् । त्यसलाई हामीले आलोक प्रवृति पनि भन्छौँ,’ बाबुराम भन्छन् – हुन त आलोक प्रवृत्ति भने पनि आखिर प्रचण्डसँग जोडिएको त हो । आलोक प्रचण्डभन्दा त्यति बाहिरका त हैनन् । हिजोका आलोकदेखि अहिलेका शालिकग्राम जम्मरकट्टेलसम्म एउटै प्रवृत्ति छ, त्यसैले मैले नेतृत्वको शैलीमा प्रश्न उठाउँदै आएको छु ।‘
‘बाबुरामलाई उक्साएको भन्दै मलाई पनि कारबाही गरे । बिल्कुल गैरराजनीतिक काम गरे,’ कारबाहीपछि हिसिलाले भनेकी थिइन् – ‘मलाई २१ औँ शताब्दीको सती बनाइएयो,’ बाबुरामलाई कारबाही गरेपछि जनमुक्ति सेनलाई पनि बाबुरामविरुद्ध भड्काउने काम गरियो । ‘बुक फिलोसोफी’ र ‘लाइफ फिलोसोफी‘को चर्चा चलाइयो । बाबुरामहिसिला पढेलेखेका, उनीहरुले किताबी दर्शन मात्र जान्दछन् तर हामीले जीवन दर्शन बुझ्छौँ । वर्ग संघर्ष, प्रत्यक्ष लडाइँ हाम्रो दर्शनहो भन्द्यै प्रचण्डलगायतका नेताहरुले जनमुक्ति सेनालाई बाबुरामविरुद्ध भड्काउँथे ।
‘यिनीहरु पढेलेखेका भन्द्यै होच्याएर जमुक्ति सेनालाई हेला गर्छन, केही नजानेका छन् भन्छन् जस्ता प्रचार गरेछन्’ काठमाडौं कुलिन वर्गमा जन्मे हुर्केकी, बेलायत र भारतबाट पढेर आए पनि जनयुद्धमा हाम फालेकी हिसिला भन्छिन् – यस्ता गैरराजनीतिक कुरा देख्दा मलाई दिक्क लाग्यो,’ बाबुराम नजिकका नेताहरुलाई मात्र होइन, सामान्य कार्यकर्ता र जनमुक्ति सेनालाई टुथेपेस्ट, ब्रसका लागि दिइने १ सय ५० रुपैयाँ दिन रोक लगाइयो । यस्तै भूगोलमा काम गर्ने बाबुराम पक्षका नेता–कार्यकर्तालाई दैनिक खर्च दिन रोक लगाइयो । क्रमशः
अनिल थापाद्वारा लिखित अविरल बाबुराम पुस्तककाे पार्टीभित्रै बन्दी शीर्षकअन्तरगतकाे अंश