डा‍. बाबुरामको बिहे १५० रुपैयाँमा

२०३७ सालमा ट्याक्सी दुर्घटनामा परेर अस्पतालमा भर्ना गरिएका बाबुरामको स्याहारसुसारमा हिसिला खटिइन्। अस्पतालबाट डिस्चार्जपछि हिसिलाले बाबुरामलाई आफ्नो गल्र्स होस्टलको तल्लो तलामा रहेको गेस्टहाउसमा लगेर राखिकी थिइनँ । हिसिला पनि त्यहीँ बसिन् । ‘त्यसपछि सबैले हामीलाई वाच गर्न लागे । अब अरूले थाहा पाएर हल्ला नगर्दै विवाह गरौँ भनेर विवाह गरिहाल्यौँ,’ हिसिला भन्छिन्, ‘हाम्रो विवाह बाध्यात्मकजस्तो पनि बन्यो । हल्ला हुन्छ भन्ने डरले हतारमै गर्‍यौँ ।’

त्यसो त ‘कोर्ट म्यारिज’ गर्ने पक्षमा थिए दुवैजना । एकजना एमपी वा एमएलएले विवाहको सिफारिस गरिदिएमा अदालतले मान्यता दिन्थ्यो ।भारतका अधिकारकर्मी तथा प्रतिष्ठित व्यक्तित्व स्वामी अग्निवेशसँग बाबुरामको रामै्र सम्बन्ध थियो । उनी भारतमा आर्य समाजका प्रतिष्ठित व्यक्तित्व थिए । उनी एमएलए ९मेम्बर अफ लेजिस्लेटिभ एसेम्बली० पनि थिए । उनले आर्य सामाजिक तरिकाले विवाह गर्न सुझाव दिनुका साथै सिफारिस पनि गरिदिए । एकजना मुस्लिम साथीका घरमा बाबुरामले केही साथीहरूलाई निम्तो दिए । स्वामी अग्निवेशले विवाहका लागि फेरो घुम्न आगो बाले ।

२०३७ चैत १६ गते अग्निवेशले विवाहको मन्त्र पढे र छोटोछरितो रूपमा विवाह सम्पन्न भयो । बाबुराम भन्छन्, ‘स्वामी अग्निवेशलाई नैतिक रूपमा ढाँट्न अप्ठ्यारो पथ्र्यो । त्यसैले विवाहको विधि पुर्‍याउँदा सिफारिस गर्न सजिलो भयो । विवाह परम्परागत पनि भएन, विवाहजस्तो र एक नाटकजस्तो भयो ।’

बाबुराम र हिसिलाबीच विवाहका लागि मुख्य थियो प्रतिबद्धता–पत्र । दुवैले एउटा प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे । त्यसपछि विवाह दर्ता गरे । दर्ता गर्न एक सय रुपैयाँ र विवाहमा उपस्थित साथीहरूलाई चिया ख्वाउन ५० गरी जम्मा १ सय ५० भारतीय रुपैयाँमा बाबुरामको विवाह टुंगियो ।

‘हामी यो विशेष प्रकारको मानवीय सम्बन्धमा आफ्नै स्वतन्त्र इन्छा र विवेकले प्रवेश गर्दछौँ …. आजदेखि पति र पत्नीको सम्बन्ध जोडिएको घोषणा गर्दछौँ,’ विवाहको प्रतिज्ञा–पत्रमा यस्तै व्यहोरा लेखिएको थियो । विवाह कार्यक्रममा वामदेव क्षत्री, राजु नेपालीलगायत २० जना मजदुर नेताको सहभागिता थियो । हिसिलाकी दिदी कयोदेवी (जो दिल्लीमा माइक्रोबायोलोजीमा विद्यावारिधि गर्दै थिइन्), केही साथी र अखिल भारत नेपाली विद्यार्थी सङ्घका प्रतिनिधिको त्यस समारोहमा उपस्थिति थियो ।
बाबुरामसँग विवाह गरेपछि हिसिला रोएकी थिइन् । परिवारमा कुराकानी गर्ने, सुखदुस्खका कुरा साटासाट गर्ने केही गर्दैनथे बाबुराम । उनी बोल्दा पनि कम बोल्ने । हिसिला भन्छिन्, ‘मैले त भित्तासँग विवाह गरेछु भन्ने लाग्यो ।

म अलि बढी क्रियाकलाप केन्द्रित, बाबुराम पढाइ केन्द्रित । वास्तवमा मुस्कुराउन पनि नजान्ने बाबुराममा मैले नै मुस्कान भरिदिएकी हुँ ।’ बाबुरामलाई पढ्न पाए अरू केही नचाहिने । उनको यो बानीले सुरुसुरुमा हिसिला दिक्क हुन्थिन् । जनयुद्धका बेला पनि नेता र कार्यकर्ता टाढाटाढाबाट हिँडेर बाबुरामलाई भेट्न आएका हुन्थे । उनी भने पढिरहेका हुन्थे । हिसिलालाई यो कुरा मन पर्दैनथ्यो । भन्छिन्, ‘पढ्दा उनको अनुहार शान्त देखिन्छ । पत्रपत्रिका र किताब नै बाबुरामका लागि योगा हो ।’

विवाह भएको केही समयपछि बाबुराम ‘फिल्ड स्टडी’का लागि नेपाल आएर कीर्तिपुरमा बस्न थाले । सँगै आएकी हिसिला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउन थालिन् । उनीहरूले बच्चा जन्माउने सोचाइ बनाए । सन्तानको नाम सोचियो, छोरा भए मानुष र छोरी भए मानुषी । फिल्ड स्टडी सकेर बाबुराम जेएनयू फर्किए । हिसिला गर्भवती थिइन् । बच्चा जन्माउने भएपछि उनले मनोविज्ञान, एनोटोमीसम्बन्धी पुस्तक खुबै पढिन् । प्रसूतिगृह, थापाथलीमा बच्चा जन्मियो । छोरा । तर, बच्चा जन्मिँदा धेरै रोएन र शरीर पहेँलो थियो । हिसिलाले सुत्ने बेला बच्चालाई दूध चुसाइन् ।

दूध चुस्ने बेला बच्चालाई सास फेर्न गाह्रो भएको महसुस उनले गरिन् । डाक्टर बोलाइयो, बच्चालाई लिएर गए । बाबुरामकी बहिनी साथमा थिइन् । धेरै बेर बच्चा राखेपछि डाक्टरले बहिनीलाई बोलाए । बच्चा बित्यो । हिसिला भन्छिन्, ‘पछि मलाई बच्चा नीलो भयो भनियो । तर, जन्डिसले मरेको हो कि केले हो, त्यो थाहै भएन ।’

बच्चा जन्मेको २४ घन्टामै बित्यो । बाबुरामले देख्न पनि पाएनन् । अल्पविकास र क्षेत्रीय योजनामा विद्यावारिधि गर्दै गर्दा अल्पविकासकै कारण छोराको मृत्यु भएपछि बाबुरामले उक्त प्रसङ्ग आफ्नो शोधपत्रमा समेत उल्लेख गरे,‘इट इज आइरनी द्याट आई एम डुइङ पीएचडी अन अन्डरडेभलपमेन्ट अफ नेपाल एन्ड आई ह्याभ माई सेल्फ बिकम अ भिक्टिम अफ अन्डरडेभलपमेन्ट’ । त्यसको एक वर्षपछि मानुषीको जन्म भयो, २०४२ माघमा ।

विद्यावारिधि सकेर बाबुराम फर्किएपछि भट्टराई दम्पती भुरुङखेलमा बस्न थाल्यो । हिसिलाले क्याम्पस पढाउने र छोरी हुर्काउने, बाबुराम पार्टी काममा लाग्ने दिनचर्या बन्यो । बाबुरामले परिवारलाई समय दिन पाएनन् । उनको सम्पूर्ण समय राजनीतिमै केन्द्रित रह्यो । मानुषी भन्छिन्, ‘युद्धकालअघि पनि बाबासँग धेरै भेटघाट हुँदैनथ्यो । पछि त झन् हुने कुरै भएन ।’ युद्धकालअघि कहिलेकाहीँ बाबाको साथ लागेर पार्टी अफिस गएको धमिलो सम्झना छ उनलाई ।

माओवादी जनयुद्ध सुरु हुँदा मानुषी १० वर्षकी थिइन् । त्यतिबेला बाआमासँग पत्राचारबाट भेट हुन्थ्यो मानुषीको । बाबुरामले उनलाई लेख लेख्न प्रेरित गर्थे । कोटेश्वरमा बनाइएको घर बेचेर बाबुराम–हिसिला भूमिगत भएपछि एक वर्ष मानुषी ठूलीआमा कयोदेवी यमीसँगै बसिन् । त्यही बेला हिसिलाको पत्र आयो, ‘अब मानुषी यमी भट्टराई नाम प्रयोग गर्न अलि खतरा हुन्छ, अर्को नाम तिमी आफैँ छान ।’ त्यसपछि मानुषीले नाम छानिन्– अस्मिता । तर, उनले थर छान्ने सोचेकी थिइनन् । भन्छिन्, ‘पछि थाहा भयो, अस्मिता सिंह भनेर काठमाडौँबाटै मेरो सर्टिफिकेट बनाइएको रहेछ ।

’ यमीरभट्टराई थरबाट उनको पहिचान खुल्ने र एक्ली छोरीमार्फत भूमिगत बाबुराम–हिसिलासम्म प्रहरी पुग्न सक्ने खतरा रहेकाले मानुषीको नामरथर दुवै परिवर्तन गरिएको थियो । पार्टीभित्रको नाम भने उनको ‘आस्था’ थियो । प्रवास र माओवादीका पुराना कार्यकर्ता मात्र होइन, घरमा पनि अहिले उनी आस्थाका नामले नै बोलाइन्छिन् ।

बाआमा भूमिगत भएपछि मानुषीको पढाइमा पनि उतारचढाव आयो । भुरुङखेलको स्वर्णिम स्कुलमा यूकेजीसम्म पढेकी मानुषीले त्यसपछि कोटेश्वरको नवज्योति स्कुलमा पढिन् । हिसिला स्नातकोत्तर पढ्न बेलायत गएपछि मानुषीको पढाइ पनि बेलायततिरै भयो । बेलायतबाट फर्केपछि बानेश्वरको होलिल्यान्ड स्कुलमा पढ्दापढ्दै जनयुद्ध सुरु भयो । जनयुद्ध सुरु भएपछि काठमाडौँमा बस्नु सुरक्षा खतरा थियो । कयोदेवीले उनलाई दिल्ली लगिन् । बाबुरामले क्याम्पस पढ्दाका एकजना साथीमार्फत मानुषीले दुई वर्ष भारतको नैनीतालमा बसेर पढिन् ।

त्यसपछि ८, ९ र १० कक्षा उनले कालिम्पोङनजिक पेदोङको सरकारी स्कुलमा पढिन् । ११ र १२ कक्षा पढ्न दिल्लीको एक सरकारी स्कुलमा भर्ना भइन् । दिल्ली विश्वविद्यालयको एलएसआर कलेजबाट राजनीतिशास्त्रमा स्नातक सकेकी मानुषी नेपालमा शान्ति सम्झौता भएपछि त्रिभुवन विश्वविद्यालयमा भर्ना भइन् ।

बाबुरामले परिवारलाई समय नदिएपनि ध्यान दिन्छन् । मानुषी भन्छिन्, ‘जनताप्रतिको जिम्मेवारी उहाँले निर्वाह गर्नुपर्छ । यसमा उहाँलाई आमा र मेरो सधैँ साथ छ । उहाँले कहिलेकाहीँ चिन्ता व्यक्त गर्नुहुन्छ, परिवारलाई समय दिन नसकेकामा, त्यो उहाँको महानता हो । उहाँले अन्य थुप्रै अवसर त्याग गरेर राजनीतिमा लाग्नुभयो, यसमा कुनै पश्चात्ताप छैन । मलाई त झन् प्रेरणा मिलेको छ । परिवारभन्दा माथि जनता हुन्छन् भन्ने मान्यता राख्छौँ हामी ।’

अन्तरमुखी स्वभावका बाबुरामले छोरीलाई भने बेलाबेलामा जोकरकथा सुनाएर हँसाउँछन् । ‘गीत गाएको र नाचेको भने कहिल्यै देखेकी छैन,’ मानुषीलाई सम्झना छ, ‘एकोहोरो पाराले ध्यानमग्न भएर पढिरहेका बेला बाबालाई जति नै बोलाए पनि उहाँ सुन्नुहुन्न । एकाग्रता उहाँको खास विशेषता हो ।’

पत्रकार अनिल थापा द्वारा लिखित ‘अविराम बाबुराम’ पुस्तकबाट

प्रकाशित : शनिबार, भदौ १८, २०७३१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माअाेवादी जनयुद्धमा जब बाबुराम मारिने अवस्थामा पुगे