विवाह भएको केही समयपछि बाबुराम फिल्ड स्टडीका लागि किर्तिपुर बस्न थाले, संगै आएकी हिसिला पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाउन थालिन् । उनीहरुले बच्चा जन्माउने सोच बनाए । सन्तानको नाम सोचियो । छोरा भए मानुष, छोरी भए मानुषी । फिल्ड स्टडी सकेर बाबुराम जेएनयु फर्किए ।
हिसिला गर्भवती थिइन् । हिसिलाले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाउँदै थिइन् । बच्चा जन्माउने भएपछि उनले मनोविज्ञान एनोटोमीसम्बन्धी पुस्तक खुबै पढिन् । प्रसुती गृह थापाथलीमा बच्चा जन्मियो, छोरा । तर बच्चा जन्मिँदा धेरै रोएन र शरीर पहेँलो थियो । हिसिलाले सुत्ने बेला बच्चालाई दूध चुसाइन् । दूध चुस्ने बेला बच्चालाई स्वास फेर्न गाह्रो भएको महशुस उनले गरिन् , डा. बोलाइयो अनि बच्चालाई लिएर गए । धेरैबेर बच्चा राखेपछि डाक्टरले बहिनीलाई बोलाए , बच्चा बित्यो । हिसिला भन्छिन्, ‘पछि मलाई बच्चा निलो भयो भनियो तर जण्डिसले मरेको हो कि के हो, त्यो थाहा भएन ।’
बच्चा जन्मिएको २४ घण्टामै बित्यो , बाबुरामले देख्न पाएनन् । अल्पविकास र क्षेत्रीय योजनामा विद्यावारिधी गर्दैगर्दा अल्पविकासकै कारण छोराको मृत्यु भएपछि बाबुरामले उक्त प्रसंग आफ्नो सोधपत्रमा समेत उल्लेख गरे । त्यसको एक वर्षपछि मानुषीको जन्म भयो, २०४२ माघमा विद्यावारिधी सकेर बाबुराम फर्किएपछि भट्टराई दम्पती भुरुङखेलमा बस्न थाले । हिसिलाले क्याम्पस पढाउने र छोरी हुर्काउने, बाबुराम पार्टी काममा लाग्ने दिनचर्या बन्यो । बाबुरामले परिवारलाई समय दिन पाएनन् , उनको सम्पूर्ण समय राजनीतिमै केन्द्रित रह्यो ।
मानुषी भन्छिन्, ‘युद्धकालअघि पनि बाबासँग धेरै भेटघाट हुँदैनथ्यो । पछि त झन हुने कुरै भएन ।’ युद्धकालअघि कहिलेकाहीँ बाबाको साथ लागेर पार्टी अफिस गएको धमिलो सम्झना छ, उनलाई । वास्तवमा क्षेत्रीय विकास योजनामा जबाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका बाबुरामले परिवारलाई भन्दा राजनीतिलाई धेरै समय दिए ।
मानुषीको बाल्यकाल आमाले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाउने र बुबा सभा/जुलुस गर्दै हिँड्ने गर्दैमा बित्यो । पुलिस आफ्नी आमालाई समात्न आएको सम्झना छ मानुषीलाई । भन्छिन्, ‘त्यतिबेला पुलिसचौकीलाई मामाघर भन्थ्यौँ ’ त्यतिबेला मानुषीको अधिकांश समय विद्यालय र नजिक बस्ने आफन्तहरुकहाँ नै बित्थ्यो ।
बुबाआामासँग थोरै तर महत्वपूर्ण समय बिताएको उनको भनाइ छ ।मानुषीलाई अहिले पनि सम्झना छ, ‘बुबाआमा दुवै जनाले बच्चा सानो भए पनि झूट बोल्न हुन्न,’ भनेर सिकाएको । मानुषी भन्छिन्, ‘बच्चाले गलत काम गरे बाबुआामा दुवै मिलेर सम्झाउने गर्ने हुनुपर्छ, एउटाले हप्काउने र अर्कोले फकाउने गर्नहुन्न भनेर सम्झाउनुहुन्थ्यो ’
मानुषीलाई पढाइमा प्रथम हुनुपर्छ, धेरै प्रतिशत ल्याउनुपर्छ भनेर दबाब कहिल्यै दिएनन् बाबुरामले । मानुषी भन्छिन्, ‘मेरो आफ्नै शैली थियो पढ्ने, राम्रो गर्थें तर बाबाबाट दबाबचाहिँ कहिल्यै आएन ’
अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’बाट