कथा : नाजायज माया

[sharethis-inline-buttons]
Leaderboard Banner
nirajan-prabhat
निरन्जन प्रभात

निराजन प्रभात

“चानचुने कुराले म हिजो आज घोत्लिने गर्दिनं,यदि मलाइ अफसेट पाउनु भयो भने सोच्नुस ठूलै सोचको भुमरीमा परेकोछु म । एक छिन त्यो बेला मलाई बोलाउने कष्ट पनि नगर्नु होला,यादको पिटाइने मेरो दिमाग पनि क्षत विक्षत हुन्छ ।” उसले एकै स्वासमा बोल्यो । उ अर्थात् मेरो नयाँ रुम मेट । खासमा उ इन्डियन हो,तर अलिक आत्मीय छ म सँग ,खोइ केले त्यो न मैले बुझ्न चाहे,न उसले बस आत्मियता सधै ( यो कम्पनीमा काम गर्दा सम्म) रहोस् यो ध्याउन्न रहन्छ हाम्रो ।

धेरै दिन देखि म एउटा कथाको पात्र खोज्दै थिएँ,धेरै साथीहरु भन्छन् के लेख्या यार यत्रो धेरै होइन,गुणस्तरिय लेख लेख्नु पर्छ,तर यो मन मान्दैन । अनि डुल्छु हाम्रै समाज,आफ्नै अतीत ,खोज्छु कथाको प्लट अनि कुदाइदिन्छु शब्दलाइ मोबाइलको स्किनमा । रहरले लेख्छु पात्रको लागि लेख्छु,पाठकलाई पक्का मन पर्दैन त्यसलाई त झन मन पर्दैन जसले गुणस्तरको ल्याक्टो बोकेर प्रतेक भावनालाई जोख्छ । कता पो गएछ लेख । वाक्क नमान्नु होला कथाको सुरुवात अझै बाँकी छ । हो पात्रको खोजकै क्रममा एक दिन उसलाई एकान्तमा टोलाएको देखे,उसले आवाज ननिस्किने तरिकाले ओठ हल्दाउदै थियो । मलाई खुलदुली भयो उसको छेउमा गएँ,उसको काँधमा हात लगाएर झक्झकाएँ । उसको ध्यान भंग भयो,जब उसले मलाइ हेर्यो उसको आँखाबाट आँसु खस्न खस्न लागेका थिए, खोइ केले खसी भने हालेका थिएनन् । त्यसै बेला उसले मलाइ भनेको सम्बाद थियो माथीको शुरूवात ।

रमाइलो मित्र यसरी भाबुक मन कट्क्कै कुडियो, धेरै प्रश्न दिमागमा खेल्न थाले । प्रश्नहरुको थाकले म किचिएँ, उ झन् बेचैन थियो । प्रश्न सोध्ने समय ठीक होला नहोला म गम खान थाले ।जे होला होला मनलाई हुटहुट पार्दै उसको कुममा हात राखेर प्रश्न गरे । दिक्क्षित जीवनको भोगाइमा सबैको आफ्नै आफ्नै अनुभूति हुन्छन् , दुख हुन्छ,सुख हुन्छ । हुन त अरुको व्याक्तिगत कुरा सुन्ने मलाई अधिकार छैन । यदि मलाइ असल मित्र सम्झिनु हुन्छ भने के म ती अनुभुतीलाई लेख्न सक्छु? उसले मलाइ एक निमेष हेर्यो,गोजि भित्रबाट एल एम चुरोट निकाल्यो, चुरोटलाई लाइटरमा ठोक्यो। ओल्टायो पल्टायो चुरोटलाई अनि चुरोटले कालो भएको कलेटी परेको ओठमा राखेर सुस्तरी सल्कायो । चुरोट सरर तानेर धुवालाई मुखबाट वायुमण्डलमा छोड्यो । केही छिन हेर्यो धुवाँको गोलाइलाई । धुवाँ वायुमण्डलमा गायब भयो। पून लामो सुस्केरा हालेर म तिर हेर्यो,उसको आँखामा अगाडीको भन्दा चमक थियो । ” ल लेख्नुस मेरो जीवनको एक पललाइ। यदि दशजनाले हेर्दे भने ठाने मैले नब्बे प्रतिशत सफलता पाएँ । हुन त मेरो जीवनका पल कसैलाई प्रेरणा नहोला,तर एउटा पाठ पक्का हुनेछ । ”

पात्र खोजी गर्दै हिडेको म आफ्नै आँगनमा पात्र पाउँदा दंग भएँ,नहुने पनि कसरी ।
आम मान्छे जस्तै म नि थिएँ त्यो समयमा स्कुल पढ्दा ताकाको कुरा हो,हामी अटो बुक बनाउथियौ । त्यसै ताका एक गाउँकि बैनीले मलाई पनि अटो लेख्न दिइन । अटोको कुरा गर्ने साथ म पनि पुगे अतितमा, मन मनै मुस्कुराएँ अतीत सम्झिएर पून फर्किएँ आगतमा। उ बोल्दै थियो भुइलाई बुढी औलाले कोट्याउदै अतीत ओकल्दै थियो उ,उसको यी हर्कत हेर्दै सुन्दै थिएँ म ।साहित्यमा रुचि भएको म , पत्र सायरी खुब पढ्थे,लेख्थे । त्यो अटो मैले केही निजि भावना र सायरीले रंगाएर उनलाइ दिएँ । केही दिन आफ्नै दैनिकीमा बित्यो । एक दिन बाटोमा तिनै बहिनीले हजुरको अटो भित्रको शब्दहरु पढेर मेरो एक जना साथी फिदा भएको कुरो सुनाइन् , मलाई कता कता लाज लाग्यो,फिदाको अर्थ मन पराइछिन यति बुझे मैले । केही बोल्न सकिनँ त्यो बेला हो र ? यति सम्म भने। जब घर पुगे मेरो मन हुटहुटियो,आखिर फिदा शब्द भित्र के राज छ ? आफुले आफुलाई ऐनामा हेरे,खासै सुन्दर होइन म तर कुरुप पनि त छैन । काउकुती लागे जस्तो भयो आफैलाई सत्य आज सम्म यस्तो भएकै थिएन । खोइ के सोच आयो म लखरलखर ती बैनीको घर तिर लागे,एउटा लक्ष्य त थियो तर खोइ के त्यो लक्ष्यले गन्तव्य छुने छ त ? शंकाको पहाडलाई छिचोल्दै छिचोल्दै खोइ कुन बेला उनको घर पुगे यादनै भएन । ती बहिनी बाहिरै रैछिन ,म त्यसै त्यसै धकाएँ,मेरो लाजको प्रमाण नदेखियोस भनेर निरर्थक प्रयास गर्दै थिएँ म । मेरो प्रयास केही हद सम्म सफल भयो ।

“आज कताबाट यता आउनु भयो ?” बैनीको प्रश्नले म झस्किएँ । “त्यसै त्यसै घुम्दै आएको किन यहाँ आउनु हुन्न र? ” प्रश्न तेर्साएर वचन खोजे म । ” होइन होइन किन नहुनु मज्जाले हुन्छ,आफ्नो सम्झिए आफ्नो हुने त हो ।” सहज जवाफ उनको । यता उता हेरे घरमा कोहि देखिनं,घरमा कोहि हुनुहुन्न? भनेर सोध्न मन लगेको थियो तर सोधिन ।

“बैनी अघि तिमीले भनेको तिम्रो साथीलाई म हेर्न सक्छु? ” उसको लागि अप्रत्याशित प्रश्न थियो सायद यो । उनले एक टकले मलाई हेरिन्,केही सोचे जस्तो गरेर भनिन् ” के हो मनमा कुछ कुछ भए जस्तो छ नि ? म रातो पिरो भएँ,अध्यारोमा पनि मेरो अनुहारको लज्जा देखियो क्यारे । “किन लाज मान्नु हुन्छ?मनको कुरा मलाइ भन्नुस दाइ । ” खितिती खित्का छोड्दै सोधिन ।
” हैट ! कुरो त्यसो होइन, मेरो शब्दमा फिदा हुने मान्छेलाई हेर्न रहर लागेको मात्र हो,के उसको फोटो देखाउन सक्छौ ? म एक निर्दोष बालकझै उनको जवाफ पर्खिन थाले। ” एक छिन है भन्दै उनी भित्र गइन त्यही अटो बुक बोकेर ल्याइन । ‘लु हेर्नुस् उसको अनुहार अनि चित्त बुझाउनुस ।’ मुहारमा हाँसो फुलाउदै उनले मलाइ अटो भित्रको फोटो देखाइन, आँखा चिम्म गर्न पुगे म , खोइ कुन शक्तिले मलाइ प्रभाव पार्दैछ, मैले आफुलाई सम्हाल्न सकिन । आँखा बिस्तारै खोल्ने सबै भन्दा पहिला नजर पर्यो उसको नाममा “दिव्या” मनमनै दुई चार पटक लिएँ त्यो नाम । अनि फोटो हेरे,साधारण औसत केटी जस्तै नराम्रो भन्न नमिल्ने थिइन् । मन रमायो त्यसै त्यसै । यो मन पनि कस्तो बच्चा जस्तो सानो कुरामा रमाउने सानो सानो कुरामा दुखी हुने । उसले यी सब भन्दै गर्दा मुहारमा एक प्रकारको चमक थियो । एक संतुष्टको भाव आकृती ।

“त्यसपछी के भयो?” उत्सुकता जनाएँ
” अरे यार जिन्दगी कहाँ सजिलो छ जीउन । आरोह अवरोह छैन त जीवन पनि छैन । ” कुटनैतिक जवाफ

त्यसपछि तिनै बैनी मार्फत म उनको नजिक हुन खोजे । उनी ती बैनीको घर आएको बखत प्रथम पटक उनलाई मैले भेटे । उनी औसत केटी जस्तो चञ्चल थिइनन । भावुक ,कम बोल्ने तर स्पष्ट आफ्नो बिचार राख्ने उनको गुणले म झन् उनको नजिक हुन पुगे । आज मलाई उनी सँग छुट्न मननै भएन,अनेक बहाना बनाएर कुरा गर्न रहर भयो । तर बाध्यता अगाडी अजंग उभिएको थियो । छुट्नुको अर्को विकल्प थिएन त्यो समयमा ।भारी मन बनाएर उनलाई बिदाइको हात हल्लाएँ,मेरो यी हर्कत ती बैनीले नियालेर हेरिन,तर पर क्षितिजमा दिव्या नहराउदा सम्म हेरी रहे जड भएर । जब आकृती गायब भयो । खल्लो मन, अझ भनौ कसैको नाममा एक पक्षीय इजलासले सुम्पिएको मन लिएर घर फिरे ।बाटोमा एउटा पोलमा ठोक्किएँ,हेरे यता उता धन्न कसैले देखेन। आफैलाइ लाज भयो,होइन यो के हुदैछ मलाई ?

………….
“समयको प्रवाह सँगै म झन झन उनको प्रेमको महासागरमा फस्दै फस्दै गएँ । तर त्यो एकोहोरो माया थियो ।एकोहोरो माया गर्नु को मज्जा त्यो बेला मज्जाले लिएँ,आखिरमा जीवन एउटा अनुभव त हो ।” फिस्स हास्दै उ बोल्यो । यो बीचमा चुरोटको बट्टा रित्तिसकेको थियो,उ लगातार बोल्दै चुरोट पिउदै थियो । खोइ के नशा होला यो चुरोटमा ? यो पिउनुको रहस्य बुझ्न मन लागेको त थियो तर मैले प्रसंग मोडन चाहिन ।
” तपाइँले कसैलाइ प्रेम गर्नु भएको थियो ?” उसको अप्रत्याशित प्रश्नले म झस्किएँ
” मेरो पहिलो प्रेमनै श्रीमती सँग हो । ” उसले मेरो आँखा नदेखोस अनि आँखाको भाका नबुझोस भनेर शिर झुकाएर म बोल्दै थिएँ । आँखाबाट नसही बोलीबाट उसले मेरो झुठ पक्ररियो क्याँरे, पत्याएन । “अब अरु कुरा किन आफ्नो अतीत भन्नुहोस् न ।” मैले आरोपबाट बच्न अनि कथालाई अगाडी बढाउन उसलाइ अनुरोध गरे ।

मित्र तपाई मान्नुस या नमान्नुस,म एक हद सम्म पागल बनेको थिएँ,दिन रात उसैलाई देख्न थालेको थिएँ । एउटा सुन्दर सपनाको महलको रुपरेखा कोरि सकेको थिएँ । तर मेरो कमजोरी उनलाइ यी सबै भावना सुनाउन हिम्मत थिएन । गाउँमै म एक निडर मान्छे,तर यो प्रेमको मामिलामा आतर ।दुई महिना सम्म मैले राम्रो सँग खाना पनि खाइन,कसै सँग बोल्न पनि बोलिन चाहिदो कुरा भन्दा । मेरो यो परिवर्तनले परिवार चिन्तित हुन थाले,के भयो, किन यस्तो ? अनेक अनेक प्रश्न दिन दिनै सिधिन थालियो,तर म निशब्द सुन्थे, सुन्थे अनि बाटो लाग्थे । चिन्ताले या खोइके ले मेरो शरीर आधा घटी सकेको थियो ।
एक,दुई,तीन,चार,पाँच महिना बित्यो, त्यो बिचमा कति पटक दिव्या सँग भेट भयो तर अहँ मनको भावना बाहिर निकाल्न सकिन । एकदिन मेरो दिन प्रतिदिनको दुब्लाइ देखेर मजाक मजाकमा दिव्याले भनिन के हो दिक्क्षित दाजु (साथीको गाउँले दाजु हुनाले उनले पनि दाजुनै भनेर संबोधन गर्थिन।) कसैको प्रेममा परेर दुब्लाउनु भएको त होइन? कसैले धोका दिएको त छैन?
मलाई भन्न मन थियो,धोका त मैले आफैले आफैलाई दिएको छु, दिव्या मेरो यो हालतको सबै जिम्मेवारी तिमी है तर मेरो त्यत्रो आँट कहाँ । यदि आँट हुदो हो त म किन यसरी तड्किनु पर्ने थियो । बीना जवाफ म चुपचाप बसिरहे निरीह जन्तु जस्तै ।

यसरी दिन,हप्ता,महिना बित्दै गए । मेरो हालत झन झन कमजोर हुँदै गयो । यदि दिव्या सँग कसैले बोल्यो भने पनि रीस उठन थाल्यो । एकोहोरो प्रेमको चरम बिन्दुमा पुगेको थिएँ म त्यो बेला । अब अझै यस्तै होभने दुर्घटना पक्का थियो । एक दिन आँट बटुलेर एउटा प्रेम पत्र लेखे, त्यो प्रेम पत्र नभएर एउटा जीवनदान पत्र थियो । दुई दिन लगाएर मैले त्यो पत्र लेखे । अब कसरी दिने आफैलाइ घाँडो भएर आयो । एक्कासी सम्झिएँ तिनै अटोवाली बैनीलाई । अनि उनलाइ धेरै फकाएर त्यो पत्र दिन लगाएँ, सुरुमा उसले दिन मानिनन । धेरै आनेकाने गरिन पछि राजी भएर दिन्छु भनिस,सायद मेरो अनुनय बिनय देखेर उनको मन पग्लियो क्यारे ।

………..
पत्र बैनीलाई जिम्मा लगाए पछि एक्कासी भोक लाग्न थाल्यो,एउटा मरुभुमीमा तड्पिएको बटुवाले बाटो पाए जस्तो खोइ कस्तो कस्तो अनुभुती भयो । घर पुगेर आमालाई कस्तो भोक लागेको छ खाना छैन सोधे,आमाले छक्क परेर मलाइ हेर्नू भयो,सायद लामो समय पछि मैले आमालाई भोक लाग्यो भनेको सुनेर होला । बाबू त ठीक त छस ? मेरो निधार ,गाला,हात छामेर आमाले ममता मिस्सिएको आवाजमा बोल्नु भयो ।आमा म एकदम ठीकछु अनि भोक लागेको छ धेरै खाना दिनुस न चाँडै । पून लाडे स्वरमा बोले म । आमाले खाना दिनु भयो, म कपाकप खान थाले,आमाले आँखा निमेषभर पनि बन्द नगरी मैले खाएको हेर्नू भयो ।
दुई दिन पछाडी अटोवाली बैनी मलाइ भेट्न मेरो घरमै आइन, मेरो नजरमा एउटा प्रश्न थियो । उनले दाजु केही काम छ एकैछिन भनेर घरदेखि पछाडी लगिन । के काम होला शंका लाग्न थाल्यो मलाई । यदि उनले मलाइ प्रेम गर्ने भए प्रेम पत्रको जवाफ प्रेम पत्रमै आउने थियो । मान्छे त्यो पनि आत्तिदै आए पछि शंकामा घ्यु थप्ने काम भयो । ” के भयो , किन आत्तिएकी ? ” मैले उनलाई सोधे
“दाजु मैले त्यो पत्र दिन्नँ भनेकै थिएँ नि श्वासले मात्र बोलिन उनी ।
के भयो यसरी तड्पाउने काम छोड आखिर के भयो? ” मेरो मुटु यति जोडले धड्किदै थियो यदि नाप्ने यन्त्रमा यो चाल नाप्ने क्षमता नहुदो हो ।
” दिव्याको दाजुहरुले त्यो पत्र पाए छन,को केटा हो त्यो भनेर दिव्यालाई पनि कुटपिट गरे छन् । अहिले सम्म त हजुरको नाम थाहा छैन यदि थाहा पाए भने अस्ति मुकेशको काण्ड थाहा छ नि हजुरलाइ ? ” डरको सगरमाथा माथी अर्को सगरमाथा थापेर उसले कुरो सकाइ ।
म जड निशब्द भएँ, अब के गरौ त तिमीनै भन ? उनको दुबै कुम समाएर भिकारी जस्तै निदानको भिख माग्न थाले, दिनको यस्तै दुई बजेको हुदो हो त्यो समयमा तर सारा दुनियाँ अन्धकार देखे मैले। हजुर यहाँबाट भाग्नुस , मुम्बईमा मेरो दाजुहरु हुनुहुन्छ उहाँहरुले काम खोज्न सहयोग गर्नु हुनेछ । अटोवाली बैनीको जवाफ| अनि खर्च ? कसरी जाने? मैले प्रश्न गरे
लु चाँडै गर्नुस म सँग केही पैसा छ म दिन्छु,पछि तिर्नु होला,अनि मुम्बई पुगे पछि जागिर खोज्न दाजुहरुले पक्का सहयोग गर्नु हुनेछ ।
यसरी म एक लाचार मान्छे भएर भाग्न बाध्य भएँ,आफ्नो पढाईलाई छोडेर,घर परिवार गाउँ सबै छाडेर,त्यो बेला थाहा भयो प्रेम,बा,आमा केही होइन रैछ आफ्नो ज्यान ठूलो रैछ बुझ्नुभयो मित्र ।उसले अतितबाट फर्किदै बोल्यो ।
अनि के भयो त? अझै बुझ्न चाहे|
मित्र कथाको मुख्य कुरो अब पो छ,साला जिन्दगी पनि सम्झिएर अहिले दिक्क लाग्दैछ । मुम्बई पुगेर तीन महिना अटोवाली बैनीको दाजुहरु सँग बसे । तीन महिना पछि बल्ल बल्ल काम पाएँ । घर परिवारलाई पाहिलेनै फोन गरेर म मुम्बई आएको जानकारी गराइ सकेको थिएँ । जसले मलाई पैसा दियो,उसलाई पनि धन्यवाद भन्न गाउँकै पिसिओमा कल गरे ।

दुई साल म घर गइन यतै काम गरे, पैसा त होइन अनुभव कमाएँ दुई साल पछि म गाउँ फर्किएँ , किन कि त्यो समय सम्म पक्कै बिगत भुली सकेका थिए सबैले ,उता दिव्याको विवाह भएछ । म भन्दा खान्दानी सँग । खुशीनै लाग्यो ।
अब बुबा आमाले विवाह गर्न कर गर्न थाल्नु भयो । मैले केटी कहाँ पाउनु ,छोटो बिदा छ भनेर उम्किन चाहे । तर बुबाहरु मान्नु भएन । केटी मैले चिनेकै छ,म मुम्बई हुदा घरमा आएर सहयोग गर्ने,पढेकी केटी छ मात्रै तेरो स्वीकृति चाहिएको हो । को हो त केटी म हेर्न राजी भए , बल्ल राज खोल्नु भयो केटी अरु कोहि नभएर उनै अटोवाली बैनी रैछिन । अहो ! कता कता मन भरिएर आयो,मेरो जिवनको भगवान जस्तै लाग्यो त्यो बेला , एकै पटकमा हुन्छ भन्दिएँ । हाम्रो विवाह भएको आज ८ साल भयो । थाहा छ आठ साल कति लामो हो । उनले मुठ्ठी पालेर ,दात किटेर मलाई प्रश्न गर्यो । उसको बोलीमा आबेगको ज्वाला थियो । एउटा अनौठो रीस थियो । हिजो सम्म श्रीमती आफ्नो भगवान मान्ने आज किन यस्तो ? मैले जान्न चाहे

मित्र १० वर्ष पछि आज फेसबुकमा दिव्या सँग कुरा भयो । मैले लेखेको पत्र दिव्याको हातमा पुग्दै पुगेन रैछ, अहिलेको मेरो श्रीमती त्यो बेलाको छिमेकी बैनीले मलाई यसरी नचाइछिन कि म त चटकेको बाँदर जस्तै नाच्न बाँध्य भएछु । आज सम्म दिव्यालाई थाहा रैन्छ म उनलाई माया गर्थे भन्ने । आज विगतको कहानी सुनाउदा,एक्कासि गाउँ छोड्नु को कारण सुनाउदा पो उनी छक्क परिन । अनि एउटा रहस्य खोलिन । उ चुप भयो । आँखामा रीसको ज्वाला दन्किदै थिए ।
कस्तो रहस्य ? उत्सुकता देखाएँ मैले
आखिरमा ती अटोवाली बैनी,हालकी श्रीमतीले पहिले देखीनै मलाई मन पराउदी रैछिन । आफ्नो माया पाउन यी सबै चाल चलेकी रैछिन । मलाई अर्काको मायाबाट छुटाएर मुम्बई पठाएर मेरो आमा बाको मन जितेर उनी मेरो श्रीमती बनिछाडिन । अब भन म के भनौ उनलाई? के उनको माया पाउने तरिका ठीक थियो ? प्रश्ननै प्रश्न को खातले म किच्चिएँ । अन्तिममा यति भने “मित्र सबै कुरा जायज हुन्छ रे प्रेममा र युद्धमा “|

स्राेत E-Gulf Nepal | E-Gulf Nepal

प्रकाशित : शनिबार, जेठ २२, २०७३०४:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताकाे साहित्य, तीन स्रष्टा तीन गजल