काठमाडौँ : अभिनेता शिव श्रेष्ठ र भुवन केसी करिब १६ वर्षपछि एकसाथ पर्दामा देखिँदै छन् । शिव र भुवन यसअघि २०६२ सालमा प्रदर्शनमा आएको सोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘राजु राजा राम’ मा सँगै देखिएका थिए । १६ वर्षपछि फेरि निर्देशक सोभित बस्नेतले नै चलचित्र ‘डाँडाको वरपीपल’ मा उनीहरूलाई एकसाथ लिएका हुन्।
६० दिनमा छायाङ्कन सक्ने योजनाका साथ काम गर्ने तयारी गरिरहेको यो चलचित्र समूहले काठमाडौँ र चित्लाङ आसपासका क्षेत्रमा छायाङ्कन गर्ने जनाइएको छ । चलचित्रका अन्य कलाकारमा गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, अस्मि थापालगायत छन् । यस चलचित्रको कथा रामकाजी घिमिरेले लेखेका हुन्।