काठमाडौँ : बलिउड अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी आफ्नो फ्यान्स माझ चर्चामा रहिरहन पछिल्लो समय रोचक पोस्ट गरिरहन्छन्। अनुपमको बच्चाहरुसँग खास लगाव छ र उनी सामाजिक सञ्जालमा बच्चाहरुसँग सम्बन्धित पोस्ट गरिरहन्छन्। हालै उनले सडकमा गीत गाइरहेका तीन बच्चाको अत्यन्तै क्युट भिडियो शेयर गरेका छन्। ती बच्चाको समूहलाई अनुपमले ‘बेस्ट म्युजिक ब्याण्ड’ बताएका छन् र आफ्नो तर्फबाट अवार्ड पनि दिएका छन् ।
अनुपम खेरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गरेका छन्। जुन भिडियोमा तीन बच्चाहरुलाई देख्न सकिन्छ। ती बच्चाहरु सडकमा उभिरहेका छन्। तीनजनाको बीचमा बसेको एक बच्चाले लौरो बोकेको छ र त्यसलाई नै गितारको रुपमा प्रयोग गरिरहेको छ। त्यस्तै छेउका दुवै जना बच्चाहरु गीतमा मस्त छन्। यी बच्चाहरुले नेपाली गीत आफ्नै धुनमा यति मस्त भएर गाइरहेका छन् कि यो भिडियो हेर्नेको अनुहारमा मुस्कान छाउनेछ। हेर्नुहोस् अनुपम खेरले शेयर गरेको भिडियो –
यो भिडियो शेयर गरी अनुपम खेरले लेखेका छन् – ‘सबैभन्दा बेस्ट म्युजिकल ब्याण्ड !! म यिनलाई वर्ल्ड टूरमा लैजान चाहन्छु। मेरो विचारमा यी बच्चाहरुले अस्पष्ट उच्चारणमा आशा र सधैँ एक राम्रो समयको सम्भावनाबारे गाइरहेका छन्। मलाई लाग्छ यो गीतको शब्दले दुनियाँ अहिले जुन कठिनाईबाट गुज्रिरहेको छ त्यसबारे बताईरहेको छ । तर शायद हामी सबै ठिक हुनेछौँ। सबैभन्दा उत्कृष्ट गीतको मज्जा लिनुहोस् । म यिनलाई ग्रामी अवार्डको लागि नोमिनेट गर्न चाहन्छु र यिनलाई विजेता घोषित गर्छु । तपाई पनि सहमत हुनुहुन्छ नि ?’