एजेन्सी : बी-टाउनबाट एकपछि अर्को गरी दुखद खबरहरु आएका छन्। सोमबार २२ मार्चमा चाँदनी, कहो ना प्यार है जस्ता शानदार फिल्म लेखेका बलिउड फिल्म उद्योगका चर्चित लेखक तथा निर्देशक सागर सरहदीले यो दुनियाँलाई अलविदा भने। ८८ वर्षका सरहदीको हृदयघातका कारणले निधन भएको हो ।
हालै बलिउड मिडियाले जनाए अनुसार तमिल एक्टर थीपेत्ती गणेशन पनि हृदयघातका कारण निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई तमिलनाडुको मदुरैस्थित एक सरकारी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले अन्तिम सास लिएका छन्। उनको निधनले तमिल फिल्म इन्डस्ट्रीमा शोक छाएको छ। निर्देशक सीनू रामास्वामीले ट्वीटरमा थीपेत्तीको निधनको जानकारी दिंदै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनले तमिलमा लेखका छन् – ‘म आफ्नो भाई कार्ति उर्फ थीपेत्ती गणेशनको निधनले शोकमा छु। स्वास्थ्य बिग्रिएपछि उनी मदुरैको राजाजी सरकारी अस्पतालमा थिए। मेरा फिल्ममा काम गर्ने उनी महान अभिनेतामध्ये एक थिए। उनको आत्माले शान्ति पाओस्।’
गणेशनले फिल्म ‘बिल्ला २’ बाट चर्चा कमाएका हुन्। यस बाहेक उनले थेनमेर्कू परुवकात्रू, उस्ताद होटल, नीरपरावाई र कन्ने कलाईमाने जस्ता फिल्महरुमा काम गरेका छन्। लकडाउनको समयमा उनी टाट पल्टेका थिए। उनले एक भिडियो शेयर गर्दै ‘बिल्ला २’ को को-एक्टर तथा तमिल फिल्मका सुपरस्टार अजीतलाई काम मागेका थिए। उनले त्यतिबेला आफूसँग केही काम नभएको र साथै आर्थिक अभाव भएको भन्दै सहयोगको लागि अभिनेता गुहारेका थिए। त्यो भिडियो भाइरल भएपछि इन्डस्ट्रीका मानिसहरुले उनलाई सहयोग गरेका थिए।