काठमाडौँ : उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहितको जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौं समस्या भने ज्युँकात्युँ छन् । यो खबर कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।
जसले खानेपानी मन्त्रालय सम्हाल्थे, सबैजसो मन्त्रीको पहिलो वाचा मेलम्चीको पानी उपत्यकामा ल्याइछाड्ने नै हुन्थ्यो । कयौं मन्त्री अनि कयौं प्रशासक फेरिए तर उनीहरूको वाचा पूरा भएन । मेलम्चीलाई उनीहरूले केबल सस्तो लोकप्रियताको नारा मात्र बनाए ।
निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रूपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन ।
‘चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारीमा छौं,’ मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भने । तर उनले भने जस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन ।
पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी ल्याउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटि पानी छाड्दा केही स्थानमा लिकेज भई सडक जलमग्न बन्ने गरेका छन् । अब मेलम्चीको पानी आउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ ।