काठमाडौँ — दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’
फोनकर्ताले ‘तपाईं एयरपोर्टमै हुनुहुन्छ, हामी लिन आएका छौं’ भने । चिनजानकै ती फोनकर्तासँग केसी एयरपोर्ट आसपासकै एउटा होटलमा पुगे । त्यहाँ नेकपा ओली पक्षका सांसद महेश बस्नेत थिए । बस्नेतले केसीलाई ओली पक्षमा लाग्न आग्रह गरे । मन्त्री बन्नका लागि पहल गरिदिने आश्वासन पनि दिए । तर केसीले स्विकारेनन् । झन्डै साढे २ घण्टाको दहलफसलपछि बस्नेत र केसी छुट्टिए । यो खबर कान्तिपुरमा छ।
सांसद जीवनराम श्रेष्ठले प्रधानमन्त्री ओलीको पद जोगाउनका लागि आफ्नो समूहका अधिकांश सांसदलाई प्रलोभनमा पार्ने कोसिस भइरहेको बताए । ‘नैतिकता पनि छैन, मूल्यमान्यता पनि छैन । उनीहरूले सकेजतिलाई एटेम्प्ट गरेका छन्, सम्भवै नभएका सांसदलाई पनि आफ्नो पक्षमा पार्न सकेजति लागेका छन् । आफू जस्तो संसार उस्तो भन्ने हुन्छ नि त,’ उनले भने, ‘मन्त्री खाने भए मन्त्री खाऊ, ठेली (पैसा) लिने भए ठेली लेऊ भन्ने अफर साथीहरूलाई आएको छ । आफ्नो गलत कामलाई प्रमाणित गर्न कसरी हुन्छ, सांसदको संख्या बढाऔं भन्नेमै छन् ।’