प्रहरी अधिकृतहरूको रोचक करिअर : १ वर्षमै डिएसपी भए , डिएसपीबाट एसपी हुन १३ वर्ष लाग्यो 

सशस्त्र प्रहरीमा गत महिना नौ एसएसपीको दरबन्दी रिक्त भयो । तर, रिक्त पदमा बढुवाका लागि योग्यता पुगेका एकजना पनि एसपी देखिएनन् । सशस्त्र प्रहरी बल नियमावलीअनुसार एसएसपीमा बढुवा हुन एसपी भएको कम्तीमा चार वर्ष पुगेको हुनुपर्छ । तर, अहिले सबैभन्दा सिनियर एसपी दुई वर्ष अवधि पुगेका मात्र छन् । सोही कारण नौ एसपीलाई कामु एसएसपी बनाइयो ।

यसरी कामु एसएसपी हुने प्रहरी अधिकृतहरूको करिअर भने रोचक छ । उनीहरू सशस्त्रको पहिलो ब्याची हुन् । ०५९ मा भर्ना भएका उनीहरू करिब एक वर्षमै डिएसपी भए । डिएसपीबाट एसपी हुन भने करिब १३ वर्ष लाग्यो । एसपी भएको दुई वर्षमै एसएसपी भएका छन् ।

माथिल्लो तहमा बढुवाको योग्यता नै नपुग्दा इन्स्पेक्टरमा भने बढुवाको जाम छ । अहिलेसम्म सशस्त्रमा १३ वटा इन्स्पेक्टरको ब्याच भर्ना भइसकेका छन् । जसमध्ये पहिलो ब्याचका नौजना नै एसएसपी भइसकेका छन् भने दोस्रो ब्याचका एसपी भएका छन् । तेस्रो, चौथो र पाँचौँ ब्याचका डिएसपीमा छन् । छैटौँ ब्याचदेखि १३औँ ब्याचसम्मका सबै इन्स्पेक्टरमै थन्किएका छन् । यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

छैटौँ ब्याच ०६२ को असारमा भर्ना भएको थियो, त्यसमा करिब ९० जना छन् । जसमध्ये आधा केही हप्तापछि बढुवा हुनेछन् भने बाँकीलाई बढुवा हुन अझै करिब तीन वर्षसम्म लाग्न सक्छ । किनकि माथिल्लो तहमा अबका वर्षमा थोरै मात्र पद रिक्त हुनेछन् । जसअनुुसार छैटौँ ब्याचपछि भर्ना भएका इन्स्पेक्टरलाई डिएसपीमा बढुवा हुन करिब २० वर्ष लाग्ने अवस्था छ । जब कि सशस्त्र प्रहरीको सेवाअवधि ३० वर्ष मात्र छ । इन्स्पेक्टरमा भर्ना भएका कतिपय एसपीबाटै अवकाश हुने अवस्था सिर्जना भएको छ ।

हचुवा तालमा भर्ना गर्ने र ‘करिअर प्लानिङ’ लागू नगर्दा सशस्त्रमा यस्तो अवस्था आएको हो । समस्या समाधानका लागि पटक–पटक छलफल भएर प्रतिवेदन आउँदा पनि कार्यान्वयन नभएको अधिकारीहरू बताउँछन् । ‘यो अवस्था आउँछ भनेर विगतमा धेरैपटक छलफल भएको थियो,’ हालै अवकाश पाएका सशस्त्रका एआइजी नारायणबाबु थापाले भने, ‘समस्या समाधानका लागि विभिन्न विकल्पसहित प्रतिवेदन पनि दिइयो तर, कार्यान्वयन हुन सकेन ।’

थापाका अनुसार निश्चित अवधिपछि स्वतः बढुवा हुनुपर्ने, माथिल्लो तहमा दरबन्दी समायोजन वा थप हुुनुपर्ने तथा उच्च पदको पदावधि घटाउनुपर्नेजस्ता विकल्पसहितको प्रतिवेदन आएको थियो । तर, त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालय र संगठनको नेतृत्वबाट पहल हुन सकेको छैन ।

प्रकाशित : आइतबार, माघ २५, २०७७०८:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्तन क्यान्सरबारे सचेतना सन्देश दिन यस्तो हत्कण्डा, ‘हलिवुड’ लाई बनाईयो ‘हलिबुब’