काठमाडौँ : आफ्नो समूहले आयोजना गरेको आमहडताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ललितपुरको पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाललगायत नेता–कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न नारा लगाउँदै उनीहरू सडकमा बसिरहेका थिए । दाहाल पनि त्यही हूलमा थपिए र दायाँ हातलाई तल–माथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाले ।
नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहेका थिए । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले जिन्दावाद र कहिले मुर्दावाद भनिरहेका थिए । उद्घोषण गरिरहेका ती कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन ।’ एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किए र भुसाललाई अहिलेको समयमा उक्त नारा लगाउनु ठीक नभएको संकेत गरिहाले । उनी त्यत्तिमा रोकिएनन्, आफैंले नयाँ नारा पनि दिए । उनले उद्घोषकलाई इंगित गर्दै ‘प्रतिगमनविरुद्ध’ जस्ता नारा लगाउन सल्लाह दिए । उद्घोषकले तत्काल त्यसलाई माने पनि । यो समाचार कान्तिपुरमा प्रकाशित छ।
तर केही समयपछि नै उद्घोषकले उही नारा दोहोर्याइहाले, ‘एमसीसी चाहिँदैन ।’ अन्य नेता–कार्यकर्ताले समर्थन गर्दै भने, ‘चाहिँदैन । चाहिँदैन ।’ दाहाल भने उद्घोषकले उक्त नारा लगाउनेबित्तिकै मुन्टो तल झारेर चुप लागे । त्यसपछि उद्घोषकले फेरि नारा चर्काए, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन ।’ दाहाल भने कुनै पनि नारा नलगाईकन आफूलाई ढिलो भएको संकेत गर्दै सुरुआतमा भुसाल र त्यसपछि अन्य नेतासँग बिदा मागेर हिँडे ।
दाहालसँगै आन्दोलनमा सहभागी नेता विष्णु रिजालले यो आन्दोलन एमसीसी वा अरू कुनै पनि एजेन्डाविरुद्ध नभएकाले अध्यक्ष दाहालले पहिले नै तयार रहेका नारा लगाउन भनेको बताए । उनले भने, ‘हामीले यो आन्दोलन संविधानमाथि आक्रमणविरुद्ध गरेको हो । अन्य विषयमा होइन ।’ रिजालका अनुसार आन्दोलनका निर्धारित नारा थिए । दाहालको सचिवालयका एक सदस्यका अनुसार बिहीबारको कार्यक्रम संविधानमाथि भएको ‘कु’ को विरोधमा रहेको बताए । ‘उहाँ (दाहाल) ले संविधानमाथि भएको घातका विषयमा केन्द्रित गरेर आन्दोलन गर्न भन्नुभएको हो । अहिले अन्य अप्रसांगिक विषयमा नबोल्न भन्नुभएको हो,’ ती सदस्यले भने ।