भिजिट भिसामा विदेश जाने ह्वात्तै बढेपछि नयाँ नियम : अब १५ लाखको यात्रा बिमा अनिवार्य

भ्रमण अनुमति (भिजिट भिसा)मा विदेश जाने नेपालीले अब १५ लाखको रुपैयाँ बराबरको अनिवार्य यात्रा बिमा गर्नुपर्ने भएको छ । अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि–२०६५’ संशोधन गर्दै यो प्रावधान थपेको हो । कार्यविधिको नेपाली नागरिक प्रस्थान अनुमतिको पर्यटन भिसाको दफालाई संशोधन गर्दै बिमालाई अनिवार्य गर्न लागिएको विभागले जनाएको छ । भिजिट भिसामा जाने नेपाली नागरिकको वैदेशिक भ्रमणलाई व्यवस्थित र नियमित गर्नुपर्ने भएको हुँदा यस्तो व्यवस्था लागू गर्न लागिएको विभागका निर्देशक टेकनारायण पौडेलले बताए । “वैदेशिक भ्रमणमा गइ काममा संलग्न हुने तर उनीहरु बिचल्ली र अलपत्र पर्ने अवस्था आउन नदिन यस्तो व्यवस्था गर्न लागिएको हो,” पौडेलले भने, “कार्यविधि संशोधन भएर कार्यान्वयनमा आएपछि सबै देशमा भिजिट भिसामा जाने नेपाली नागरिकले १५ लाख रुपैयाँको अनिवार्य बिमा गर्नुपर्नेछ ।” यो खबर आजको कारोबार राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

सेप्टेम्बरयता भिजिट भिसामा दुबई गन्तव्य बनाएर सो देश हुँदै अन्य देशमा जाने प्रवृत्ति बढेपछि यसमा कडाइ गर्न लागिएको हो ।
यसरी जानेहरु उद्देश्यभन्दा अन्य गतिविधिमा संलग्न भएसँगै गृह मन्त्रालयले भिजिट भिसामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले दिएको सुझावको आधारमा अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि–२०६५’को नेपाली नागरिक प्रस्थान अनुमतिको पर्यटन भिसाको दफालाई संशोधन गर्न लागेको हो । नेपालबाट प्रस्थान गर्दा भिजिट भिसामा जाने र गन्तव्यमा पुगेपछि कामदार बन्ने प्रवृत्ति पछिल्लो समयमा बढेर गएको छ । सेप्टेम्बरयता नै वैदेशिक भ्रमणको लागि १ लाखभन्दा बढी र अघिल्लो वर्ष करिब ३ लाख नेपालीले विभिन्न देशमा भिजिट भिसामा बाहिरिएको विभागको भनाइ छ ।

प्रकाशित : आइतबार, माघ १८, २०७७११:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौंमै बर्डफ्लु, यति डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने