माननीय ,“गृहमन्त्री” जनार्दन शर्मा (प्रभाकार) ज्यू,
सर्वप्रथम: लाल सलाम ! म – भु.पु. माओवादी कार्यकर्ता नेरुता मोक्तान तामाङ ( दिलमाया ) २०५१ सालमा गठन भएको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी ‘सुरुवात देखि’ कमान्ड गर्दै कडा संघर्ष र कष्टकर जीवन हुँदै आज गृहमन्त्रीसम्म बन्न पुग्नुभयो, यो अत्यन्तै खुसीको कुरा हो ।
साथसाथै यहाँको कदमलाई उच्च-सम्मान स्वरूप सम्वोधन गर्न कुनै शब्द नै भेटिन्न । तपाईं एकमात्र भाग्यमानी कमरेड हुनुहुन्छ, जो आफ्नो संघर्षको फल पाउन सफल हुनुभएको छ । दश वर्षे जन युद्धमा हरेक क्याम्प – क्याम्पमा रहेर कमान्ड गर्नुहुने कमान्डरहरू त धेरै हुनुहुन्छ ।
तर सबैले आफ्नो संघर्षरत प्रतिभालाई चिन्न नसकेर होला सायद आज वहाँहरू खाडीको ५० डिग्री तापक्रममा पसिना बगाईरहेका छन् ।
तर क. जनार्दन शर्मा ज्यू, यो वहाँहरूको चाहना होइन र युद्धको मैदानमा हुँदा भोलि देश छोडेर परदेशिनु पर्छ भनेर वहाँहरूले कल्पना पनि गर्नुभएको थिएन होला सायद ।
२०५८ सालमा विद्यार्थी सङ्गठनमा प्रवेश हुने बेलामा मैले पनि सोचेकी थिइन कि, भोलि म पनि विदेशिन बाध्य हुने छु । म पन्ध्र वर्षको उमेरमा विद्यार्थी सङ्गठनमा सङ्गठित भएकी थिएँ ।
पत्यार नलाग्न सक्छ तपाईलाई तर यथार्थ यही हो म माओवादी सङ्गठनमा समावेश हुँदा मात्रै पन्ध्र वर्षकी थिएँ । तर म रहरले संगठित भएकी थिइनँ ।
माओवादीहरू आएर सङ्गठन खडा गराईदिनु भएको थियो । जुन बेला म राजनीतिको “र” पनि बुझ्दिन थिएँ । त्यसपछि विस्तारै सङ्गठन तिव्ररूपमा विस्तार हुँदै गएपछि हामीले रक्तिमको झन्डा फरफराएर बेजोड ढंगले विभिन्न कार्यक्रमहरू राख्ने गर्थ्यौं ।
स्कूलको प्राङ्गणमा माओवादी केन्द्रिय नेता कार्यकर्ता देखि स्थानीय नेताहरूको भव्य उपस्थिति रहन्थ्यो र जोड जोडले भाषण दिने गर्नुहुन्थ्यो ।
भाषणमा अधिकांश माओवादी नेताहरू भन्ने गर्थे, जात भात र छुवाछूतको अन्त्य नभएसम्म हाम्रो युद्ध जारी रहनेछ । सायद एउटा शोषित समुदायको नागरिक भएर होला जातीय समानताको नाराले अत्यन्तै हर्षित तुल्याउने गर्थ्यो ।
ती नेताहरूले दिएका स्पिचले मन छुने गर्थ्यो । र योङ रगत तातिन्थ्यो र सोच्ने गर्थे म पनि मेरो समुदायको लागि, जातीय भेदभावको लागि, लैङ्गिक समानताको लागि र जातीय छुवाछूत अन्त्यको लागि युद्धमा होमिन्छु ।
तर उमेर मात्रै १६ हुँदै थियो र यसबारे मेरो परिवारको समर्थन थिएन ।हाम्रो घर शान्त, सुन्दर अनि हराभरा बन जङ्गल र हिमालको काखमा थियो र छ । हामी किसानको परिवार हौं मेरा बाबा आमाले गोठभरी बाख्रा, गोरु, गाई, भैँसी पाल्नुहुन्थ्यो ।
जन युद्धको बेलामा हाम्रो घरमा टनाटन माओवादीको भिड हुने गर्थ्यो । दुई वटा घरमा सुत्ने ठाउँ भेटिन्न थियो । मलाई आज पनि याद छ १५ देखि २५ जना सम्म माओवादीहरू एकदेखि पाँच महिनासम्म पालेका थियौँ ।
वहाँहरू हाम्रो घर बस्नुहुँदा खसी, बाख्रो, गाई, गोरु र भैँसी सबै काटेर खानुहुन्थ्यो । बाहुनको छोरो हुँ जातीय विभेद अन्त्यको लागि युद्धको मैदानमा छौं ।
हामी परिवर्तन चाहन्छौ भन्दै बाहुनको छोरोले गाई काटेर खाएको पल आजै जस्तो लाग्छ मलाई । त्यति बेलासम्म हाम्रो गाउँ ठाउँमा गाई काटेर खानु हुन्न गौ माता हो, लक्ष्मी हो, खानु हुन्न भन्थ्यो ।
र खाँसै गाई काटेर खाने चलनचल्ती थिएन । तर माओवादीको प्रभावले अहिले त्यहाँका मान्छेहरू गाई खान्छन् । उ बेला गाई काटेर खान सिकाउने माओवादीको कमान्डर क. जनार्दन शर्मा ज्यू गृहमन्त्री हुनुहुन्छ । तर गाई काटेर खानेहरू भने जेलमा छन् ।
के यही हो धर्मनिरपेक्ष राष्ट्रको बहुधार्मिक पहिचान ?
के यही हो जातीय समानता को नारा ?
के यही हो दश वर्षे जन युद्धको रिजल्ट ?
जनयुद्ध कालमा १५ सय तामाङले ज्यान बलिदान दिएका छन् । के उपहारमा गाई काटेर खाने तामाङ जेल जानुपर्ने ? सम्माननिय गृहमन्त्री ज्यू छातीमा हात राखेर भन्नुहोस् हिजो तपाई रहेको क्याम्प-क्याम्पमा गोरुको मासु हुन्थ्यो कि हुन्थेन ?
बहुधार्मिक संविधानले सुसज्जित देश नेपालमा कहिले सम्म अन्य धर्महरू एकल हिन्दूवादीको अन्डरमा रहनु पर्ने हो त ?
मन्त्री ज्यू ! नेपालमा गणतन्त्र ल्याउनुमा तामाङहरूको ठूलो योगदान छ । तर यो खोस्टे लोकतान्त्रिक गणतन्त्र ले कुनै खुसीको आभास दिलाएको छैन । जब कि एउटा गाई काटेको आरोपमा १२ वर्ष जेल सजाय भोग्नुपर्छ भने तपाईंहरु कुन लोकतान्त्रिकरण परिवर्तनको गफ चुट्दै हुनुहुन्छ ?
ठीक छ हामी गाई खाने शेर्पा, राई, लिम्बू, तामाङ जेल बस्न तयार छौं । के तपाई सुँगुर खाने बाहुनलाई जेल हाल्न सक्नुहुन्छ ? होइन भने मन्त्री ज्यू धर्मनिरपेक्ष राष्ट्र भनिने खोस्टे एजेन्डा जलाई दिनुहोस् ।
हामी बरु दासता सहेर बसौंला । तर यस्तो गोरुलाई हरियो घाँस देखाएर भीरमा लडाए जस्तो ललिपपरूपी फुस्रो अधिकारको डोरीमा झुन्ड्याउने काम नगर्नुहोस् बुझ्नुभो ?
अन्य गृहमन्त्री हुँदा पनि गाई काटेको आरोपमा जेल परेका आदिवासीहरू धेरै छन् वहाँहरूलाई केही भन्न रुचाइन किनभने तपाई भन्दा अघिका पूर्व गृहमन्त्री सबै पञ्चायत भूतका छायाँले घेरेका गृहमन्त्रीहरू थिए ।
यो तपाईंको विरोध गरेकी पटक्ककै नठान्नुहोला । म तपाईंको एक क्रेजी फ्यान हुँ ।सायद पुनः माओवादी केन्द्रमा आबद्ध भएर माकेको एक असल कार्यकर्ता बन्ने शोक मरेको छैन म मा । तर गुनासो लाग्छ माओवादीले हाम्रो मुद्दालाई लात मारे जस्तो लाग्छ ।
मन्त्री ज्यू ! अवगत नै होला तपाईंलाई नामको हिसाबमा ५१ सालमा गठन भएको पार्टी भनिए पनि लेनिनवाद मार्क्सवादको सिद्धान्त बोकेको २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको एक धार हो भन्ने बुझिन्छ र सुनिन्छ ।
मलाई लाग्छ त्यति बेला नेपालमा कम्युनिस्ट भन्नेहरूले कम्युनिस्ट सिद्धान्त अँगालो मार्न नसकेपछि माओवादीको जन्म भएको हो ।
त्यसैगरी दशवर्षे जनयुद्ध पछि माओवादी शान्ति प्रकृयामा गएर आफ्नो मुद्दालाई भुल्दै गएपछि संघिय समाजवादी , नयाँशक्ति जस्ता पार्टीहरूको जन्म भएको हुनुपर्छ ।
भोलि फेरी यो नयाँ-नयाँ दलहरूले युद्धको घोषणा नगर्लान् भन्न सकिन्न, मन्त्री ज्यू ! त्यसैले, यस्ता गाई काटेको आरोपमा १२ वर्ष जेल सजाय पाएका जो छन् , त्यस्ता घृणित परिस्थितिलाई तपाईं जस्तो ऊर्जासिल गृहमन्त्रीले हल गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त छु । धन्यवाद !
यो भु.पु. माओवादी कार्यकर्ता नेरुता मोक्तान तामाङ (दिलमाया) को व्यक्तिगत विचार हो ! जो हाल लेवनान हुनुहुन्छ !