एजेन्सी- यो संसारमा सधैजसो अनौठो घटनाहरु घटीरहन्छन । दक्षिण अफ्रिकामा एक यस्तै अनौठो घटना सार्वजनिक भएको छ । दक्षिण अफ्रिकाबाट कार तस्करी गरेर जिम्बाबे पूराउँदै गरेको अवस्थामा पुलिसले गधालाई पक्राउ गरेको छ ।
वास्तबमा प्रहरीका अनुसार चोरी भएको एउटा लक्जरी कार गधा प्रयोग गरेर लैजादै गरेको अवस्थामा बरामद भएको छ । गधाले तानेर जिम्बाबेतर्फ लैजान नदी पार गर्न लागेको अवस्थामा कार बरामद भएको हो । स्थानीय प्रहरीका अनुसार कार तस्करी गर्ने कोशिश असफल भएपछि चोरहरु जिम्बाबेतर्फ भागेका थिए । पुलिस अधिकारीहरुका अनुसार मर्सिडिज बेन्ज सी २२० मोडलको कार लम्पोपो नदीबाट बरामद भएको हो । दक्षिण अफ्रिकामा गधालाई प्रयोग गरी चोरी गर्ने घटनाहरु भइरहन्छन् । गत डिसेम्बरमा डर्बान सहरबाट चोरी गरेर गधाको सहयोगले सोही नदी पार गराउँदै गरेको अवस्थामा एउटा कार बरामद भएको थियो । उक्त कारलाई पनि गधाले तानेर लगिदैं गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
कार लैजान गधाको प्रयोग किन भइरहेको छ भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको अनुमानअनुसार आधुनिक सवारी साधनमा सामान्यतया ट्रयाकिङ्ग उपकरण जडान गरिएको हुन्छ, जसको मद्दतमा कार कहाँ छ भन्ने थाहा पाउन सकिन्छ । उक्त उपकरण कार स्टार्ट गरिएको अवस्थामा मात्र चालु हुने भएकाले चोरहरुले कारलाई स्टार्ट नगरी गधा प्रयोग गरेर लैजाने गरेको हुनसक्ने पुलिस अधिकारी हरुको भनाइ छ ।