स्वास्नी मान्छेको जीउ, सेता हिमाल, गोरा तिघ्राहरू हातखुट्टा छाडी लम्पसार परेको धर्तीजस्तो देखिन्छ्यौ तिमी
मेरो खस्रो किसान ज्यू खोस्रन्छ तिमीलाई
धर्तीको गर्भबाट छोरो फाँद हाल्ने गरी ।
म सुरुङजस्तै एक्लै थिएँ, चराहरू तितरवितर हुन्थे मबाट
पेचिलो धावा बोलेर मलाई दलदलमा फसाउँथ्यो रात
आफ्नो ज्यान जोगाउन तिमीलाई हतियारमा ढालें मैले
धनुमा चढाउने काँडजस्तै, झटारोमा हान्ने ढुंगाजस्तै ।
तर प्रतिहिंसाको घडी बज्दछ, र म माया गर्छु तिमीलाई
छालाको, काईको, ब्यग्र र न्यानो दूधको तिम्रो जीउ
ओह वक्षका ती प्यालाहरू ! ओह गैरहाजिरीका आँखाहरू
ओह नारी अंगका गुलाफहरू ! ओह तिम्रो आवाज, कति मत्थर र विषद !
मेरी बूढीको जीउ, तिम्रो हिस्सीमा अडिग रहनेछु म
मेरो तिर्खा, मेरा अपरिमित रहरहरू, अनि सर्दै–सर्दै गएका मेरा बाटाहरू !
अँध्यारा नदीका पिंधहरू जहाँ तीर्खा बहन्छ अजर अमर भएर
अनि खिन्नता पछ्याउँछ, अनि अपरिमित वेदना ।
लेखक – पाब्लो नेरुदा नेरुदाको ‘बडी अफ वुमन’ कविताको यो भावानुवाद मल्लिका शाक्यले गर्नु भएको हो।