एक चिनियाँ दार्शनिकले भनेका छन्—आफ्ना विचारको ख्याल गर किनभने ती शब्द बन्दछन् । शब्दहरुको ख्याल गर, किनभने ती कार्य बन्दछन् । कार्यहरुको ख्याल गर किनभने ती बानी बन्दछन् । बानीहरुको ख्याल गर किनभने ती चरित्र बन्दछन् । चरित्रको ख्याल गर किनभने ती भाग्य बन्दछन् । र, भाग्य नै तिम्रो जीवन हुनेछ । ती दार्शनिकको यो भनाईमा सार्वभौमिक सच्चाई भेटिन्छ ।
विचार अनुसारको चरित्र हरेक मानिसमा अपेक्षा गरिएको हुन्छ । व्यक्तिले व्यक्त गर्ने विचार उसको कार्य, बानी वा चरित्रसंग मेल नखाए त्यो विचार नक्कली हुन्छ । निःसन्देह, विचार अनुसारको कार्य नगर्ने, बानी नसुधार्ने र चरित्र प्रदर्शन नगर्ने व्यक्ति अविश्वसनीय हुन्छ, कहिलेकहीं खतरनाक समेत हुन्छ ।
कुनै पार्टी व्यक्तिहरुको सामुहिक विचार, कार्य, बानी र चरित्रको समुच्चय हो । पार्टीको विचार एकातिर र कार्य, बानी व्यवहार र चरित्र अर्कैतिर देखिंदा सो पार्टी प्रति जनताको विश्वासको पारो स्वात्तै घट्दछ । केही महिना अगाडि गठन भएको नयाँ शक्ति पार्टी, नेपालमा हालै घटेका केही घटनाले गठनताका जनतामा देखिएको उत्साह र आशावादितामाथि चिसो पानी खनिने खतरा बढ्दै गएको छ । समस्याहरुलाई गुपचुप टालटुल गरेर उम्कने वा वेला घर्किउन्ज्याल कानमा तेल हालेर बस्ने दुवै शैली ठूलो समस्याको निम्तो कार्ड बाहेक केही हुन सक्दैन । त्यसकारण पार्टीभित्र देखा परेका समस्याको विना पूर्वाग्रह खुल्ला हृदय छलफलबाट मात्र सही समाधान दिन सकिन्छ । समस्या र चुनौतिलाई सतहमा ल्याएर, अनूभूत गरेर समाधान वा मुकाविला गर्ने हो , छोपेर पकाउने होइन । साथै पार्टीभित्र आउने फरक विचार र शैलीलाई अत्याज्य सम्पत्तिको रुपमा स्वीकार गरिनु पर्दछ । विचार, शैली र संस्कृतिको ईन्द्रेणी स्वरुप नै लोकतान्त्रिक पार्टीको एकमात्र विशेषता हो ।
समस्या एक : संगठन
नयाँ शक्तिको केन्द्रदेखि जिल्ला तहसम्मको संगठनात्मक संरचना र शैली माओवादी संगठनात्मक शैलीबाट आक्रान्त छ । यहाँसम्म कि माओवादी समूहहरुमा प्रयोग हुने शब्दावली—फर्मेसन, आर्क, कार्यालय टीम, कोर टीम, कमाण्डर, फलामे अनुशासन , अवसरवादी,अराजक आदि —नयाँ शक्तिमा पनि प्रयोग हुन छोडेको छैन । केन्द्रीय नेतृत्वदेखि जिल्ला नेतृत्वको आलोचक नेता कार्यकर्तालाई विना विधि र प्रक्रिया रातारात पदच्यूत गरिदैंछ । केन्द्रदेखि स्थानीय ईकाइसम्म प्रशंसकहरुलाई मात्र गोलबन्द गर्ने भद्दा शैलीको बारम्बार पुनरावृति भईरहेछ । सक्रियतापूर्वक कार्य सम्पादन गरिरहेका समितिहरु उनीहरुको सहमतिविना व्यक्ति विशेषले भंग गरिरहेछन् । सबै अट्न सक्ने खुल्ला चौतारीको रुपमा नयाँ शक्तिलाई विकशित गर्नु पर्नेमा माआवादी सांगठानिक चरित्रको भद्दा अनुकरण पो भइरहेछ । यसको अन्त्य नभएसम्म नयाँ शक्ति बन्ने सवाल केवल आकाश चाटेर अघाउने कल्पनामात्र हुनेछ । नयाँ शक्तिको पार्टी संगठन माओवादी शैलीबाट लोकतान्त्रिक शैलीमा जति चाँडो रुपान्तरित हुन्छ, त्यति नै चाँडो यसको प्रगति संभव छ । यो नै नयाँ शक्तिभित्रको सबभन्दा पेचिलो अन्तरविरोध र चुनौति हो । अर्कातिर, अन्तरविरोध पार्टी जीवनको अपरिहार्य सर्त हो भन्ने तथ्यलाई आत्मासात नगरी हठात् भाग्ने र थाक्ने मनोवृत्तिबाट आम पार्टी पङ्त्तिलाई जोगाएर अघि बढ्नु अर्को चुनौति हो ।
समस्या दुई : विधानको बेवास्ता
एउटा लोकतान्त्रिक पार्टीलाई चाहिने प्रायः सबै विशेषता बोकेको विधान लागू भएको छ । पार्टीमा लोकतन्त्रलाई संस्थागत गर्ने केही प्रावधान यस्ता छन्—“पार्टीभित्र सहभागितामूलक लोकतन्त्रको अभ्यास गरिनेछ । पार्टीका सबै सदस्यहरुले संघीय समिति र पदाधिकारीसहितको निर्वाचनमा मतदान गर्नेछन् । ” “बहुमतको निर्णय कार्यान्वयन र अल्पमतको सम्मान गरिनेछ ।” “खुल्ला रुपमा राजनीतिक बहस, पार्टी संरचनामा आफ्नो अभिमत राख्ले ,विचार व्यक्त गर्ने, लेख्ने र बोल्ने स्वतन्त्रता र अल्पमतको रक्षाका लागि व्यक्त गरिने विचारहरुलाई अनुशासनको दायरामा ल्याईनेछैन । ” “आरोपित व्यक्तिलाई प्रतिवाद गर्ने, आफ्नो जिकिर राख्ने,सबुत प्रमाण पेस गर्ने अवसरबाट बञ्चित गरिनेछैन ।” आदि ।
तर विडम्बना, विधानमा कहीं कतै व्यवस्था नभएको राजनीतिक समितिका केही केन्दीय नेतृत्व नै पार्टीको काम कार्बाहीमा विधानका धारा उपधाराको ख्याल गर्दैन भने अरु कस्ले गर्ला ? यसको असर जिल्ला जिल्लामा पनि देखिंदैछ । “बुढी मरी भन्दा पनि काल पल्क्यो” भन्ने त्रास सबैतिर देखिन्छ । समितिहरुमा पूर्ण बहुमतसहितको बैठकमा व्यापक छलफल गरेर निर्णय लिनु पर्नेमा एकाद जनाले “कानेखुसी निर्णय” गर्ने चलन शुरु भएको छ । विधानको यस्तो बेवास्ता र उलङ्घन शैशवावस्थामा रहेको पार्टीको लागि निस्चय नै शुभ सङ्केत होइन । विधानको “बन्धन” बाट आफूलाई मुक्त राख्न चाहने तर अरु नेता कार्यकर्तालाई अनुशासनको डण्डा देखाउने एक नेताले कसैको बर्खास्तगी र बहिर्गमनको विषयलाई “अराजकतावादी विसर्जनवाद” भन्ने संज्ञा दिएछन् । पार्टी नेतृत्वको राजनीतिक दूरदर्शिताको अभावको कारण सिर्जित उक्त बहिर्गमनको घटनालाई मोहनविक्रम सिंहको शैलीमा “वाद” मिसाएर व्याख्या गर्नु आश्चर्यजनक छ । यस्तो व्याख्या त जडसूत्रवादी कम्युनिष्टले मात्र गर्न सक्छन्, लोकतन्त्रवादी नयाँ शक्तिका नेता कार्यकर्ताले कदापि गर्न सक्दैनन् ।
समस्या तीन : आर्थिक पारदर्शिता कायम गर्न नसक्नु
नयाँ शक्तिमा आर्थिक पारदर्शिताको विषयमा प्रशस्त बहस भएको छ । आर्थिक विभाग प्रमुख रामेश्वर खनालको प्रयासमा आर्थिक श्रोत परिचालन, पारदर्शिता र सुशासनसम्बन्धी आर्थिक कार्यविधि समेत पारित गरिएको छ । आर्थिक पारदर्शिताको लागि विधानमा “प्रत्येक आर्थिक बर्षको अन्त्यमा पार्टीको आयव्यय विवरण मान्यताप्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराई महाधिवेशनमा प्रस्तुत गर्ने र राज्यका निकायहरुमा प्रस्तुत गर्ने तथा सर्वसाधारणको जानकारीकालागि पार्टीका वेवसाइटमा राखिनेछ” भनिएको छ । तर आर्थिक पारदर्शिताको क्षेत्रमा अरु पार्टीकालागि समेत अनुकरणीय हुन सक्ने यो वैधानिक व्यवस्था नयाँ शक्तिमा लागू गराउन भने हम्मे हम्मे परेको छ । नेता कार्यकर्ताको बानीमा आमूल परिवर्तन नआई यो व्यवस्था पूर्ण रुपमा नयाँ शक्तिमा लागू हुन संभव पनि देखिदैन ।
समस्या चार : प्रशंसामा आधारित प्रचार शैली
पार्टीको प्रचार रणनीति सिङ्गो पार्टीको बहुआयामिक पक्षको प्रचार गर्नुको सट्टा पार्टीका संयोजक डा. बाबुराम भट्टराईको प्रशंसामा रुमलिएको छ । पार्टी घोषणाको दिन सबै राष्ट्रिय दैनिक पत्रिकामा दिइएको ज्याकेट एडको औचित्य अहिलेसम्म पनि पुष्टि भएको छैन । जीवनको वाजी लगाएर नेतृत्वको केन्द्रीकरण र देवत्वकरणको आलोचक रहेका डा. भट्टराईलाई नै देवत्वकरण गर्ने प्रयास कहाँबाट भयो, रहस्यमय छ । आलोचना र विवेचना बेगरको एकोहोरो प्रशंसाले नेतालाई गलत गन्तव्यतर्फ डोहोर्याउदैन भन्न सकिदैन । एक्काइसौं शताब्दीको नेतालाई कहावतको नाङ्गो सम्राटको रुपमा प्रस्तुत गर्ने प्रयासले त किमार्थ नयाँ शक्तिलाई हित गर्न सक्दैन । प्रस्ताव गरिएका नीतिप्रति गरिएका आलोचना—विवेचनाको संकलन, मुल्यांकन र ग्रहण गर्ने तथा सबैले आ—आफ्ना कमजोरी पुनरावृत्ति नगर्ने आँट किन नगर्ने ? देहत्याग गर्नु केही समय अगाडि लिइएको एक अन्तरवार्तामा “ तपाईं केलाई आफ्नो सबल पक्ष देख्नुहुन्छ ?” भन्ने प्रश्नमा नेल्सन मण्डेलाले भने— “ममा त्यस्तो केही सबल पक्ष देख्दिंन । कमजोरी नै कमजोरी देख्छु । ” अनि नेपाली नेताहरु चाँहि किन आत्म प्रशंसामा रमाउने ?
समस्या पाँच : राम्रा होईन, हाम्रा मान्छे
केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी संरचना निर्माण गर्दा तुलनात्मक रुपमा योग्य र ईमान्दार नेता कार्यकर्तालाई यथोचित स्थान दिईएको छैन । भोलि पार्टीको आन्तरिक चुनावमा संभावित प्रतिस्पर्धीलाई भरसक हटाउन,े नसके उचित जिम्मेवारी नदिने ,बनिबनाउ आरोप लगाउने, काम गर्दा अनावश्यक अल्जन सिर्जना गर्ने जस्ता क्रियाकलाप हाकाहाकी भईरहेछन् । केन्द्रीय समितिमा चालीस प्रतिसत युवा पुस्ता भर्ती गर्ने डा. भट्टराईको घोषणा समेत ओझेलमा परेको छ । पार्टीका“गणेश”हरुको बारम्बार पदोन्नति भएकोछ भने “कुमार”हरु हराउने खतरा बढेकोछ । विधानमा व्यवस्था भएबमोजिमको निर्वाचनले मात्र “कुमार” हरुलाई उपयुक्त स्थानमा पुर्याउन सक्छ ।
र, अन्त्यमा
देशमा नयाँ शक्तिको आवश्यकता एक थान नेताले महसुस गरेरमात्र नयाँ शक्ति बन्ने होइन । अधिकांश जनताको दिल दिमागमा नयाँ शक्तिको स्पेस निर्माण गर्न बोधगम्य, जनसेवी एवम् पारदर्शी नेता, नयाँ विचार र अजेण्डासहितको सबैको सहभागिताको ग्यारेण्टी गर्ने पूर्ण लोकतान्त्रिक पार्टीको आवश्यकता छ । र,नयाँ शक्तिले उल्लिखित जङ्घार तर्ने साहस बटुल्ने तारतम्यको अविलम्ब थालनी गर्नु बुद्धिमानी हुनेछ । किनभने विलखबन्द चालकको बिग्रेको गाडीभित्र जति हस्याङ् फस्याङ् गरे पनि कहीं कतै पुगिदैन, तर गन्तव्यबारे जानकार सिद्धहस्त चालक भएको नयाँ गाडी सवार यात्रु आरामले गन्तव्यमा पुग्दछन् ।
नयाँ शक्ति अहिले गम्भीर वैचारिक र राजनीतिक संकटबाट गुज्रिएको छ । केन्द्रीय नेतृत्वको एकमनावादी चिन्तन यी सबै समस्याको प्रमुख कारण बनेको छ । असन्तुष्टलाई निषेध गर्नुको सट्टा सबै नेता कार्यकर्ता विच विना पुवाग्रह गहन छलफलको माध्यमद्वारा समाधान गर्न सकिन्छ ।
नयाँ शक्तिको संगीन मोड
प्रकाशित : शनिबार, फागुन २८, २०७३१०:४०