संयोगवश्, ऐतिहासिक धरहराको फेंदमा आइपुगेको छु म । साँझ खस्दैछ । सात वज्यो । धरहराको सेरोफेरो जोडिएका अनेक कथाहरु अनुभूत भैरहेको छ यतिवेला । गोडाले छुन सक्दैन । आँखामा कैद गर्न पनि सकिन्न यसलाई । यो उभिरहँदा धेरैले नियाले । हेरे । देखे र दुनियाँलाई देखाए पनि । तर यो ढल्यो । अब यसलाई हेर्नेहरु कोही भएनन् । बरु, शेष धरहरा स्वयम् हरेक साँझ अनगिन्ती कथाहरु नियालिरहेका छन् । निर्जिव आँखाहरुले । दुई वैशाखहरु गए । पहिलो वैशाखको भुकम्पवाट हाम्रा सभ्यताहरु थ्ला परे । त्यसैको सूचीमा धरहरा एक हो । थलिनेको अग्रपंक्तिमा राजधानीको मुटुमा उभिएको धरहरा पनि हो, जुन ढलेका ढल्यै छन् अझै । फेदैदेखि ढलेका धरहराका अनगिन्ती कथाहरु प्रकाशित भए । प्रशारित भए । जो वाहिर आए, आए । इतिहासको भिमसेन सभ्यता जमिनमाथि जसोतसो उभिरहेका छन् । केही तलामात्र भए पनि । सेतो पोलिथिनमा वेरिएर वाँचेको छ । लाग्छ, मसानघाटमा पोलिदैछ ।
पोलिनका लागि चित्तामा राखिएको छ यसलाई । सरकार यसको मलामी बनिरहेको छ । मात्र मलामी । पुननिर्माणको पर्खाइमा रहेको धरहरा पोलिथिनको कात्रोमा वेरिएर अनेक जीवन नियाल्न विवश छन् । कठै ! हरेक साँझ धरहराको आँगनमा रौनकता हुन्छ । यसरी नै । रोजगारीका क्रममा शहर छिर्नेहरु छन् । मुखमा माड पु¥याउनैका लागि मात्र । घाम डुब्दै गर्दा वासस्थान फर्कनेहरु पनि । घुमन्ते, फिरन्ते र यात्रीहरुको भीडमा हराए झैं लाग्छ धरहरा । तर एकैक्षण उभिएर धरहराको हिजो र आज खोज्ने आँखा र गोडाहरु पनि देखिन्छन् ।
टक्क अडिन्छन् । ठेलामा मःम र पानीपुरी वेच्नेहरुलाई दुख्दैन धहराको यो दूरावस्थाले । आफनो पेट भर्न हरेक साँझ चल्हो सल्काउनेहरु छन् । तर रात छिप्पिदै गएपछि चटक्कै छोडिदिन्छन् । भोलि उही हालतमा भेट्न वाँचाको साथ । भन्छन् –सरकारकै आँखा नपरेपछि, हाम्रो के चल्छ र ? रात खस्दै जाँदा धरहरालाई साथ दिने जोडिहरु पनि छन् । कुम जोड्छन् । अँगालो मार्छन् । इतिहासमा सीमित धरहरालाई उज्यालो भविष्यका लागि साक्षी राख्दै मीठो चुम्माहरु साट्छन् । धरहरा हरेक साँझ पुननिर्माण र प्रेमको वाचा गर्दै निदाउँछन् । निदाइरहन विवश छन् । तर सपनाहरु मीठा छन् ती जोडीहरुको जस्तै धरहराको पनि । भोलि कुनै दिन उभिनुछ यसले । डेढ तलामा सीमित धरहरा ढलेको डेढ वर्ष अधिक हुदैछ । अर्थात १७ महिना । तर सरकार, शेष रहेको धरहरालाई पनि पोलिथिनमा लुकाउदैछ ।
कात्रोमा झैं । सायद यसले अब यसरी नै खरानी बन्नु छ कि ? तर होइन । पक्कै ! मूर्दा धरहराको मुनितिर भुलभुलाएका यी शव्दहरु बाङ्गो धरहराको लागि होइन अवश्य । भग्नावशेष धरहराका लागि पनि । बरु, ठाडो धरहरा यसको एउटै लक्ष्य रहनेछ । किनभन, सरकारलाई मात्र होइन, धरहराको आगनमै रमाएका, कमाएका र एक मुठ्ठी श्वास थमाएकाहरुलाई समेत दुख्दैन धरहराको यो कारुणिक दृश्यले । मलाई एकैक्षणमा दुखेर के भो ? मेरा गोडाहरु धरहराको आँगनवाट हट्दैछ ।