काठमाडौं : भारतको गुहाटीमा जारी पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा नेपाल ए आसाम क्रिकेट संघसँग १८ रनले पराजित भएको छ।
एसीए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको योगफल खडा गर्यो।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए २० ओभरमा ९ विकेटको क्षतिमा १५६ रनमै सीमित रह्यो।
नेपाल ए का कप्तान अनिल कुमार शाहले सर्वाधिक ६७ रन बनाए। उनले ५० बलमा ७ चौका र २ छक्का प्रहार गरे।
इशान पाण्डेले २० बलमा २७ रन जोडे। तर बीचका ब्याट्सम्यानहरू ठूला स्कोर गर्न सकेनन्।
बलिङतर्फ आसामका अभिनव चौधरी र अब्दुल अजिज कुरासीले ३–३ विकेट लिँदा साद्दिक हुसेनले १ विकेट लिए।
यसअघि ब्याटिङमा उत्रिएको आसामका कप्तान सुमित घडिअन्करले ४७ बलमा ७० रन बनाए।
उनले ओपनर ऋषिकेश तामुलीसँग मिलेर पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे। ऋषिकेशले ४६ रन योगदान दिए भने निहार देका ३७ रनमा आउट भए।
नेपाल ए का लागि आकाश चन्दले २ र वसिर अहमदले १ विकेट लिए।
नेपाल ए ले यसअघि पहिलो खेलमा डीएल पद्धतिमा हार बेहोरेको थियो भने दोस्रो खेल ९६ रनले जितेको र तेस्रो खेल ९ रनले जितेको थियो। सिरिजको अन्तिम खेल सोमबार साँझ ५ बजे हुनेछ।