आजबाट खुल्यो झापा इनर्जीको आईपीओ, कसरी – कहाँबाट दिने आवेदन ?

काठमाडौँ : झापा इनर्जी लिमिटेडले आज (बुधवार)देखि आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ (प्राथमिक शेयर) निष्कासन गर्न लागेको छ।

कम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत बराबरको ३ लाख ८० हजार १९० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ल्याएको हो।

जसअन्तर्गत, प्रत्यक्ष प्रभावित क्षेत्र अन्तर्गत पर्ने झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य ऊर्जा आयोजना निर्माणस्थल र वरपर १०० मिटर क्षेत्रभित्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता शेयर छुट्याइएको छ। बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्रबाहेकका सोही वडाका अन्य बासिन्दाहरूका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यससँगै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशत बराबर, अर्थात ५७ हजार २९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गर्नेछ। यसमा नेपाल सरकारको सम्बन्धित निकायबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका नेपालीहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन खुला रहने अन्तिम म्याद छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि साउन १८ गतेदेखि साउन २८ गतेसम्म कायम हुनेछ।

यस आईपीओको रेटिङ्ग इक्रा नेपालले प्रदान गरेको हो, जसअनुसार कम्पनीले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग B-’ पाएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले हिमालयन बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालयहरू वा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू वा तिनका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित : बुधबार, साउन १५, २०८२१०:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज साउन १५ गते : खीर खाने दिन, सात्विक आहार खीर स्वास्थ्यको लागि अत्युत्तम