कञ्चनपुर : कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ सिगलपट्टी निवासी ४९ वर्षीय रामरेशर राना वैशाख १७ गते बिहान मोटरघाट सडक किनारमा मृत फेला परेका थिए। प्रारम्भमा रहस्यमय देखिएको मृत्युको घटनाले नयाँ मोड लिएको छ। अनुसन्धानपछि यो घटना पूर्वनियोजित हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रानाको हत्या उनकी श्रीमती माया चौधरीले आफ्ना प्रेमी पुन्ना राना र छिमेकी मानमती चौधरीसँग मिलेर गराएको स्वीकार गरेकी छन्। घटनाको भोलिपल्टै मृतकका आफन्तले तीनै जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो।
प्रहरी अनुसन्धान अनुसार, मृतक भारतमा रोजगारीका लागि बस्दै आएका थिए। केही वर्षअघि माया र पुन्ना रानाबीच चिनजान भएको थियो। पुन्ना एक ट्याक्टर चालक हुन् र बेलौरी नगरपालिका–४ का बासिन्दा हुन्। उनीहरूबीच फोनमार्फत कुराकानी सुरु भएपछि भेटघाट र सम्बन्ध प्रगाढ हुँदै गएको देखिएको छ।
वैशाख १६ गते राति पुन्ना राना मानमतीको घर हुँदै मायाको घर पुगेका थिए। सो दिन माया चौधरीले श्रीमान् घरमा नभएको जानकारी दिएकी थिइन्। तर केही समयमै रामरेशर राना पनि अचानक घरमा आइपुगेपछि घरमै विवाद भएको र त्यसले हिंसात्मक रूप लिएको प्रहरीले जनाएको छ।
प्रहरीको भनाइ अनुसार राति १२ बजेतिर माया, पुन्ना र मानमतीले मिलेर बाँसको चिर्पटले रामरेशरको टाउकोमा प्रहार गरी हत्या गरेका थिए। घटनापछि शवलाई मोटरघाट सडक छेउ फालिएको थियो, जुन भोलिपल्ट बिहान फेला परेको हो।
तीनै जनाले प्रारम्भिक बयानमा अपराध स्वीकार गरेका छन्। प्रहरीले असार ५ गते उनीहरूलाई पक्राउ गरी असार २० गते जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल पेस गरेको थियो।
जिल्ला अदालत कञ्चनपुरले असार २६ गते पुन्ना रानालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। माया चौधरी र मानमती चौधरीका लागि एक लाख रुपैयाँ धरौटी तोकिएको थियो, तर धरौटी बुझाउन नसक्दा उनीहरूलाई पनि थुनामा राखिएको छ।
मृतक रामरेशर रानाका एक छोरा र दुई छोरी रहेका छन्। घटनाले स्थानीयमा शोक र आक्रोश फैलाएको छ।