४ वर्षपछि फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको ‘कन्ट्रोल फन्डिङ’ हटाएको छ।

फिफाले आर्थिक सहायता अपारदर्शी रूपमा खर्च गरिएको आशङ्का गर्दै सन् २०२१ मार्च १५ देखि एन्फामाथि ‘कन्ट्रोल फन्डिङ’ प्रणाली लागू गरेको थियो। त्यसअन्तर्गत फिफाले दिने आर्थिक सहयोगलाई आफ्नै निगरानीमा खर्च गर्न दिने व्यवस्था गरिएको थियो।

शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा एन्फाले फिफाले उक्त नियन्त्रण हटाएको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘‘चार वर्षपछि, गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (GACC) को बैठकले नेपालमाथि लगाइएको आर्थिक नियन्त्रण हटाउने निर्णय गरेको हो। अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत एन्फा कार्यसमितिको पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले यो निर्णय गरेको हो।’’

‘कन्ट्रोल फन्डिङ’ हटेसँगै अब एन्फाले फिफाबाट प्राप्त हुने आर्थिक सहयोग स्वतन्त्र रूपमा उपयोग गर्न सक्नेछ। यसअघि पनि फिफाले सन् २०२४ को अक्टोबर २९ मा एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ दि इयर (गोल्ड) अवार्ड २०२४ बाट सम्मानित गरिसकेको थियो।

विज्ञप्तिमा यो पनि उल्लेख गरिएको छ कि, ‘‘विभिन्न पूर्वाग्रही र स्वार्थ समूहहरूले फुटबलको विकासमा अवरोध पुर्‍याउन खोजे पनि अन्ततः सत्यको जित भएको छ।’

प्रकाशित : शनिबार, असार २८, २०८२१८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :