खतरामा सचिन तेन्दुल्करको कीर्तिमान, जो रुटले लर्ड्समा बनाए कीर्तिमान नै कीर्तिमान

एजेन्सी : इङ्गल्याण्ड र भारतबीच प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा भइरहेको तेस्रो टेस्ट म्याचको पहिलो दिन जो रुटले रेकर्डहरूको वर्षा गरे। उनले म्याचको पहिलो दिन १०२ बलमा अर्धशतक प्रहार गर्दै टिमलाई मजबुत स्थितिमा पुर्‍याए। दिनको खेल समाप्त हुँदा उनी ९९ रनमा अविजित थिए। खेलको दोश्रो दिन उनी १०४ रनमा जस्प्रित बुमराहको बलमा एज लागेर बोल्ड भए।

इङ्गल्याण्डका पूर्व कप्तान तथा स्टार ब्याट्सम्यान जो रुटले लर्ड्समा भारतविरुद्ध भइरहेको तेस्रो टेस्टमा इतिहास रचेका छन्। आफ्नो शानदार पारीका क्रममा रुटले भारतविरुद्ध ३००० टेस्ट रन पूरा गरेका छन्। ३४ वर्षीय रुट यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। गएको वर्ष भारत भ्रमणका क्रममा उनले भारतविरुद्ध सर्वाधिक रन बनाउने खेलाडीको रूपमा रिकी पोन्टिङको कीर्तिमान तोडेका थिए। पोन्टिङले भारतविरुद्ध २५५५ रन बनाएका थिए।

जो रुटले भारतविरुद्ध आफ्नो १३ औं अर्धशतक प्रहार गरेका छन्। भारतविरुद्ध कुनै पनि खेलाडीले बनाएको यो सबैभन्दा धेरै ५०+ स्कोर हो।

यो पारी जो रुटको टेस्ट क्रिकेटमा १०३औं ५०+ स्कोर हो। उनले दक्षिण अफ्रिकाका महान खेलाडी ज्याक कालिस र अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङको कीर्तिमानको बराबरी गरेका छन्। अब यस सूचिमा उनी केवल सचिन तेन्दुलकर (११९) भन्दा पछि रहेका छन्।

रुटले भारतविरुद्ध सबै फर्म्याटहरूमा ४००० रनको आँकडा पार गरेका छन्। उनी पोन्टिङ, कुमार संगकारा र महेला जयवर्धनेपछि यो उपलब्धि हासिल गर्ने चौथो खेलाडी बनेका छन्।

जो रुटले लर्ड्समा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय रन बनाउने क्रममा ग्राहम गूचको कीर्तिमान तोडेका छन्। इंग्ल्यान्डका यो महान खेलाडीले ३१ वर्षसम्म लर्ड्स मैदानमा २५१३ रन बनाउँदै यो कीर्तिमान कायम राखेका थिए। रुटले भारतविरुद्ध पाँच खेलहरूको सिरिजको तेस्रो टेस्टमा यो कीर्तिमान तोडेका हुन्।  इंग्ल्यान्डका पूर्व कप्तानले १०४ रनको शानदार पारी खेलेर गूचलाई पछाडि पारिदिएका छन्। रुटले अहिलेसम्म लर्ड्समा ३३ खेल खेलिसकेका छन् र ५४.९१ को औसतले २५२६ रन बनाएका छन्। उनले यस स्टेडियममा ८ शतक र १० अर्धशतक प्रहार गरेका छन्।

प्रकाशित : शनिबार, असार २८, २०८२१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बनाउन सुरु