‘कोखदेखि शोकसम्म’ : काठमाडौँमा जन्मनासाथ ५ हजार, मृत्युपछि १० हजार

काठमाडौँ : काठमाडौँको  तारकेश्वर नगरपालिकाले ‘कोखदेखि शोकसम्म’ भन्ने मूल नारा अन्तर्गत नगरवासीलाई सशक्त सेवासुविधा प्रदान गर्ने नयाँ पहल अघि बढाएको छ।

नगरप्रमुख कृष्णहरि महर्जनले नगरभित्रका नवजात शिशु जन्मनासाथ पाँच हजार रुपैयाँ, र नागरिकले मृत्यु भएमा दश हजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउने बताउनुभयो।

उहाँका अनुसार नवजात शिशुका लागि दिइने रु ५,००० रकम १६ वर्ष पुगेपछि ब्याजसहित हस्तान्तरण गरिने व्यवस्था गरिएको छ। मृत्यु भएका परिवारका लागि काजक्रिया तथा अन्तिम संस्कार सहजताका लागि रु १०,००० सहयोग गरिने जानकारी कार्यक्रममा दिइएको थियो।

त्यसैगरी ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक रु २,००० पँउचाउन थालिएको छ। नगरप्रमुख महर्जनले विगत तीन वर्षमा विकसित कार्यकारी टोलीसँग मिलेर नगरभित्रका प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने कामले गति पाएको पनि बताउनुभयो।

खेलकुद प्रवर्द्धनको लागि वार्षिक ‘मेयर रनिङ शिल्ड’ प्रतियोगिताको आयोजना, आँखा बिरामीको लागि तिलगङ्गा आँखा केन्द्रको स्थापना, डायलासिस सेवा सुरु, सामुदायिक विद्यालयको गुणस्तर सुदृढीकरण, नगरभित्रका सडकहरू कालोपत्रे गर्ने काम समेत जारी रहेको महत्त्वपूर्ण योजनाका रूपमा उल्लेख थियो।

उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिएको र निर्वाचित भएपछि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनाअन्तर्गत समन्वित विकासका कार्यक्रमहरू अघि बढाइएको बताउनुभयो।

यी समग्र योजनाहरू तारकेश्वरको नियोजित विकास र सामुदायिक हितलाई मध्यनजर गर्दै त्वरित रुचिका साथ अगाडि बढाइएको नगरपालिकाको भनाइ छ।

प्रकाशित : सोमबार, जेठ २७, २०८२२०:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विकास हाइड्रोपावरको आईपीओ : असार १८ गतेदेखि सर्वसाधारणका लागि खुला