गाईघाट (उदयपुर) : चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन्।
प्रहरीका अनुसार जन्तीमा गएका दुवैलाई ट्याक्टरले ठक्कर दिएको थियो।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बबिन राईका अनुसार, घटनामा खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–४ निवासी ४० वर्षीया गीता परियारको घटनास्थलमै मृत्यु भएको हो।
घाइते हुनेमा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–२० निवासी २३ वर्षीय योजन राई छन्।
प्रहरीका अनुसार, हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ जाँदै गरेको बस चौदण्डीगढी–४ स्थित बर्खेडाँडामा सडक छेउमा रोकिएको थियो।
जन्तीहरू होटलमा नास्ता खाएर बस फर्कने क्रममा पछाडिबाट आएको ना ३ त ८१० नम्बरको ट्याक्टरले उनीहरूलाई ठक्कर दिएको बताइएको छ।
घटनापछि ट्याक्टर चालक, चौदण्डीगढी नगरपालिका–४ का ३० वर्षीय विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
घाइते योजन राईलाई थप उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।