एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको सुरुवातमै सनराइजर्स हैदराबादले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै प्रतियोगितामा ३ सय रनको सम्भावनाबारे चर्चा सुरु गराएको थियो।
हैदराबादले आफ्नो पहिलो खेलमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो, जुन टोलीकै इतिहासको उच्च स्कोरको नजिक थियो। तर, त्यसपछि हैदराबादले त्यो लयलाई निरन्तरता दिन सकेन।
आज हैदराबादको भिडन्त मुम्बई इण्डियन्ससँग हुँदैछ, जहाँ फेरि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
हैदराबादका लागि ट्राभिस हेर्ड र अभिषेक शर्माको आक्रामक सुरुवातले टोलीको मनोबल बलियो बनाएको छ। दुबै टोलीले ६ खेल खेलेका छन् र समान ४–४ अंक बटुलेका छन्।
मुम्बई इण्डियन्सका लागि ७ सिजन खेलेका इशान किशन अहिले हैदराबादबाट मैदानमा उत्रिँदै छन्। अघिल्लो सिजन उनले १४९ को स्ट्राइक रेटमा ३२० रन बनाएका थिए। तर, त्यसपछिको मेगा अक्सनअघि मुम्बईले उनलाई रिटेन गरेन।
मुम्बईले फेरि उनलाई टिममा फर्काउन प्रयास गर्यो तर बोली ३.२ करोड रुपैयाँ नाघेपछि पछि हट्यो। अन्ततः सनराइजर्स हैदराबादले किशनलाई ११.२५ करोड रुपैयाँमा अनुबन्ध गरेको हो।