२०८२ सालको वार्षिक राशिफल : १२ महिना १२ राशिका लागि शुभ – अशुभ कस्तो रहला ?

२०८२ सालको वार्षिक राशिफल

मेष राशि
सालको सुरुआतदेखि साढेसाती शनि लाग्ने भएकाले तपाईंले सोचेजस्तो कामहरूमा ढिलाइ र अड्चन देखिन सक्छ । पारिवारिक वातावरण भने सकारात्मक रहनेछ र धार्मिक तथा माङ्गलिक गतिविधिका सम्भावना छन् । तीर्थयात्रा र रमाइलो यात्राका अवसर मिल्ने छन् । आर्थिक काममा सामान्य सफलता मिल्ने देखिन्छ । पढाइमा केही सुस्तता आउन सक्छ, र आकस्मिक यात्रा वा स्थान परिवर्तनको संकेत पनि छ । घरजग्गा वा सवारीसाधनको फाइदा देखिन्छ, र कृषि तथा पशुपालनमा राम्रो सफलता मिल्नेछ । असार, असोज, माघ र फागुन तपाईंका लागि विशेष शुभ रहनेछन् ।

वृष राशि
बिस्तारै तपाईंले योजना अनुसार प्रगति गर्न थाल्नुहुनेछ । पारिवारिक र धार्मिक अवसरहरू आउन सक्छन् । विद्यार्थीका लागि पढाइमा राम्रो प्रगति हुने संकेत छ । उत्तरार्धमा रोकिएका कामहरू बन्न थाल्नेछन् । आम्दानीका नयाँ बाटाहरू खुल्ने छन्, आत्मबल बढ्नेछ, र कार्यक्षमता पनि सुधारिनेछ । कर्मचारी वर्गले सम्मान र पदोन्नतिको अवसर पाउने सम्भावना छ । आइतबार सूर्यलाई जल अर्पण गर्दा स्वास्थ्य र शुभ फल पाइन्छ । साउन, कात्तिक, फागुन र चैत तपाईंका लागि शुभ महिनाहरू हुन् ।

मिथुन राशि
यो वर्ष ग्रहदशा मध्यम छ । नयाँ काम सुरु गर्न सकिने छ, र पुराना योजना पुरा हुँदै जानेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ, घरमा माङ्गलिक कार्य हुन सक्छ । पढाइ र जागिरमा प्रगति देखिन्छ । वैवाहिक जीवनमा आपसी समझदारी कायम रहला । उत्तरार्धमा सामान्य औषधि खर्च पर्न सक्छ । सामाजिक र धार्मिक रुचि बढ्नेछ । वैदेशिक क्षेत्रबाट मध्यम लाभ हुने देखिन्छ । वैशाख, असार, भदौ, माघ र चैत आर्थिक हिसाबले राम्रो रहला ।

कर्कट राशि
गुरुको प्रतिकूल असरले पढाइमा अलिकति ढिलाइ होला । तर शनिको अढैया सकिएकाले अड्किएका काम बन्नेछन् । आर्थिक पक्ष बलियो हुँदै जानेछ । प्रेम र रमाइलोका अवसर युवावर्गका लागि खुल्ने छन् । नयाँ काम र जागिरमा पद प्राप्तिको सम्भावना छ । विदेश यात्रा सफल हुन सक्छ । उत्तरार्धमा अड्चन हट्नेछन् । जग्गा जमिन र घर निर्माणमा लाभ हुने योग छ । वैशाख, जेठ, असोज र पुस महिनाहरू विशेष शुभ छन् ।

सिंह राशि
शुरुआतमै शनिको अढैया लाग्ने भएकाले स्वस्तिशान्ति गर्नु उपयुक्त हुन्छ । नयाँ काम सुरु गर्न सकिने छ, पढाइ र धार्मिक काममा रुचि बढ्नेछ । खर्च बढ्न सक्छ, जसले आर्थिक दबाव दिन सक्छ । जग्गा जमिनको कारोबार सम्भावित छ । वर्षको अन्त्यमा यात्रा र स्थान परिवर्तन सम्भावित छन् । वैदेशिक काममा सफलता मिल्नेछ । आर्थिक दृष्टिले जेठ, असार, कात्तिक र माघ शुभ रहनेछन् ।

कन्या राशि
पुराना कामहरू बिस्तारै सम्पन्न हुँदै जान्छन् । ग्रहयोग बौद्धिक र आर्थिक काममा सफलता दिनेछ । शारीरिक स्वास्थ्य र मानसिक प्रसन्नता रहनेछ । पढाइमा प्रगति हुनेछ । सामाजिक र धार्मिक क्रियाकलापमा सहभागिता रहनेछ । असोजपछि आर्थिक पक्ष मजबुत हुँदै जानेछ । असार, साउन, माघ र फागुन महिनाहरू फलदायी रहनेछन् ।

तुला राशि
यो वर्ष फलदायी रहनेछ । स्वास्थ्य राम्रो रहनेछ, घरजग्गामा लाभ हुने सम्भावना छ । माङ्गलिक कार्य, पारिवारिक सुख, प्रतिस्पर्धामा सफलता र विवादमा विजय मिल्नेछ । यात्रा र स्थान परिवर्तनको सम्भावना छ । खर्च बढ्न सक्छ । पढाइप्रति रुचि बढ्नेछ, जागिरमा सम्मान र पदोन्नति सम्भावित छ । साउन, भदौ, पुस र चैत विशेष सफल हुने महिना हुन् ।

वृश्चिक राशि
शनि दशा सकिएको भए पनि बृहस्पतिको स्थिति कमजोर रहेको छ । काममा अड्चन र ढिलाइ हुन सक्छ, विशेष गरी आर्थिक क्षेत्रमा सावधानी अपनाउनु राम्रो हुन्छ । उत्तरार्धमा भाग्यले साथ दिनेछ, नयाँ आम्दानीका बाटाहरू खुल्ने छन् । पढाइमा ध्यान अलिक कम हुन सक्छ । विदेश यात्रा र महत्त्वपूर्ण भ्रमणका सम्भावना छन् । वैशाख, भदौ, असोज र माघ महिना शुभ रहनेछन् ।

धनु राशि
शनि दशा सुरु हुने भएकाले थोरै अड्चन आउन सक्छ । तर बृहस्पतिको राम्रो असरले पढाइ र धार्मिक कार्यमा प्रगति हुन्छ । घरायसी खर्च बढ्न सक्छ । पारिवारिक माङ्गलिक कार्यक्रमको सम्भावना छ । ठूला लगानी वा लेनदेनमा सतर्कता आवश्यक छ । जग्गा जमिनसम्बन्धी विवाद उत्पन्न हुन सक्छ । जेठ, असोज, कात्तिक र फागुन महिना लाभदायक छन् ।

मकर राशि
शनि दशा सकिएकाले रोकिएका कामहरू बन्न थाल्नेछन् । व्यस्तता बढ्नेछ, तर रमाइलो यात्रा र मनोरञ्जनका अवसर पनि मिल्नेछन् । वैवाहिक सम्बन्धमा मिठास आउनेछ, युवा वर्गका लागि नयाँ जीवनसाथीको सम्भावना छ । पढाइमा केही अड्चन आउन सक्छ । इष्टमित्रको सहयोगले काम सजिलै अघि बढ्नेछ । कूटनीतिक काममा सफलता मिल्नेछ । असार, कात्तिक, मंसिर र चैत महिनाहरू लाभदायक रहने छन् ।

कुम्भ राशि
वर्षभरि साढेसाती शनिको प्रभाव रहनेछ । काममा ढिलासुस्ती देखिन सक्छ । स्वास्थ्य ठीकठाक रहला, पढाइमा रुचि बढ्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । सन्तान सुख, पारिवारिक खुशी र धार्मिक रुचि रहनेछ । व्यापार औसतजस्तै रहला, तर कृषिमा राम्रो सफलता मिल्नेछ । वैशाख, साउन, मंसिर र पुस महिनाहरू विशेष लाभदायक रहनेछन् ।

मीन राशि
मध्य साढेसाती शनिको प्रभावले गर्दा काममा ढिलाइ र अड्चन आउने सम्भावना छ । शान्तिका उपाय (जस्तै वृक्षारोपण, दान) लाभदायक हुनेछन् । सामान्य स्वास्थ्य समस्या आउन सक्छ । ठूला आर्थिक निर्णयबाट जोगिनु राम्रो होला । कृषिमा सफलता मिल्नेछ, तर वैवाहिक जीवनमा केही असमझदारी देखिन सक्छ । पढाइमा अड्चन आउन सक्छ । वर्षको उत्तरार्धमा सुधार आउनेछ । जेठ, भदौ, पुस र माघ महिना शुभ रहनेछन् ।

प्रकाशित : बुधबार, बैशाख ०३, २०८२१६:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइपिएलमा आज रोमाञ्चक भिडन्त हुँदै, कसले मार्ला बाजी ?