काठमाडौँ : – बलिउड अभिनेता शाहिद कपूरले हरेक विधामा आफ्नो अभिनय कौशलता प्रदर्शन गरी दर्शकको मन जितेका छन्। एक्सन, कमेडी, थ्रिलर या रोमान्स…शाहिदको हरेक स्टाइललाई फ्यान्सले मन पराएका छन्। अनस्क्रिन मात्र हैन, शाहिद कपूरसँग अफस्क्रिनमा पनि मन जित्ने क्षमता छ। शाहिद कपूरको जन्म पङ्कज कपूर (Pankaj Kapoor) र नीलिमा अजीम (Neelima Azeem) को घरमा २५ फेब्रुअरी सन् १९८१ मा दिल्लीमा भएको थियो। आज शाहिद आफ्नो ४२ औँ जन्मदिन मनाउँदैछन् र जन्मदिनको विशेष अवसरमा उनको बारेमा केही विशेष कुराहरु बताउँछौँ।
शाहिद कपूर जम्मा ३ वर्षका हुँदा उनको आमाबुवाको सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेदपछि अभिनेता पङ्कज कपूर मुम्बई सरे भने शाहिद कपूर आमा नीलिमा अजीमसँग दिल्लीमा बसे। शाहिद एक उत्कृष्ट डान्सर हुन् र उनले यसका लागि कडा मेहनत गरेका छन्। शाहिदले आफ्नो करियरको सुरुमा ब्याकग्राउन्ड डान्सरको रूपमा काम गरेका थिए। शाहिद ‘ताल’ र ‘दिल तो पागल है’ फिल्ममा पनि देखिएका थिए। स्टारकिड भएर पनि शाहिदले धेरै कठिनाइहरूको सामना गर्नुपरेको थियो र अन्ततः उनले फिल्म इश्क विश्कबाट डेब्यू गरे। शाहिदलाई करियरको शुरुवातमा उनको क्यूट लुक्सका कारण चकलेट ब्वाय भनिन्थ्यो। शाहिदले पहिलो फिल्मका लागि केही अवार्ड पनि जिते तर यो सुरुवात मात्रै थियो। त्यसपछि फिदा, दिल मांगे मोर, दीवाने हुए पागल, शिखर, वाह लाइफ हो तो ऐसी, ३६ चाइना टाउन जस्ता फिल्म लगालग फ्लप भए। दर्शकले शाहिदलाई मन पराए पनि फिल्म फ्लप भए।
सन् २००६ मा रिलिज भएको फिल्म विवाहले शाहिदको डुब्दै गरेको करियरलाई पार गर्यो र फिल्म सुपरहिट साबित भयो। त्यसपछि जब वी मेटले करियरलाई उचाइमा पु¥याउने काम गर्यो। तर, यसपछि पनि शाहिदको करियरको ग्राफ उल्टिरह्यो। शाहिदले आफ्नो करियरमा धेरै उत्कृष्ट फिल्म दिएका छन्, जसमा विवाह र जब वी मेट बाहेक कमीने, हैदर, उड्ता पञ्जाब, पद्मावत र कबीर सिंह आदि सामेल छन्। अहिले उनले डिजिटल डेब्यु फर्जी बाट राम्रो चर्चा कमाईरहेका छन्।
शाहिद कपूरले जुलाई ७, २०१५ मा मीरा राजपूतसँग विवाह गरेका थिए। शाहिद र मीरालाई क्यूट जोडीहरूमा गनिन्छ र दुवै सँगै निकै क्यूट देखिन्छन्। शाहिद–मीराका दुई सन्तान छन्। विवाह अघि शाहिदको नाम थुप्रै अभिनेत्रीहरुसँग जोडिएको थियो, जसमा ऋषिता भट्ट, अमृता राव, करीना कपूर, सानिया मिर्जा, विद्या बालन, प्रियंका चोपडा, सोनाक्षी सिन्हा, अनुष्का शर्मा, बिपाशा बसु र नरगिस फाखरीको नाम पर्छन्।
शाहिद कपूरलाई पारिवारिक मान्छे भन्नु पटक्कै गलत हुनेछैन। एकातिर शाहिद प्रोफेशनल कमिटमेन्टका लागि धेरै समय दिन्छन् भने अर्कोतिर परिवारलाई पनि पूरा समय दिन्छन्। श्रीमती मीरा बाहेक शाहिद प्रायः दुबै छोराछोरी, आमाबुवा र भाइ इशान खट्टरसँग समय बिताउने गरेको देखिन्छ। शाहिद कपूरको पारिवारिक तस्बिरमा फ्यानहरूले माया र प्रेम वर्षाउँछन्।