जसपामा खटपट, फेरी दुई फ्याक हुने खतरा !

काठमाडौँ – स्थापना भएको छोटो समयमै दुईपटक विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि खटपट सुरु भएको छ। पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच विभिन्न मुद्दालाई लिएर मतभेद बढ्न थालेको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

बाबुराम भट्टराई, महिन्द्र यादवलगायतका नेताले जसपाबाट विभाजित भएर नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्दा राईले अन्तिम समयमा आएर उपेन्द्रलाई साथ दिएका थिए। पार्टी विभाजन हुनुभन्दा अघि राई भट्टराई समूह निकट थिए। पार्टी विभाजनका बेला उपेन्द्रको पक्षमा लागेका राई प्रतिनिधिसभामा जसपा संसदीय दलको नेता चयनलाई लिएर असन्तुष्ट छन्। राई संसदीय दलको नेता बन्न चाहन्थे तर उपेन्द्रले सहयोग नगरेका कारण उनको चाहना पुरा हुन सकेन। त्यसपछि उपेन्द्र र राईबीच खटपट सुरु भएको स्रोत बताउँछ।

‘जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्वाचित भएपछि संघीय परिषद् अध्यक्ष अशोक राई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच खटपट देखिन थाल्यो’, पार्टी स्रोत भन्छ, ‘राई संसदीय दलको नेता बन्न चाहन्थे। संसदीय दलको नेतामा निर्वाचित भई पार्टीबाट सरकारमा नेतृत्व गर्ने राईको भित्री चाहना थियो। तर कार्यकारिणी समितिका अध्यक्ष यादवले राईलाई संसदीय दलको नेता दिन चाहेनन्। जसले गर्दा राईको चाहना पूरा भएन।’

कार्यकारिणी समितिका अध्यक्ष यादवले आफू निकट रामसहायलाई संसदीय दलको नेतामा निर्विरोध गराए। जसपाका एक नेताले भने, ‘चुनाव गरेको भए रामसहाय यादवको पक्षमा ७ र अशोक राईको पक्षमा बढीमा ५ मत पर्ने अवस्था थियो। हार्ने निश्चित भएपछि राई चुनाव लडन तयार भएनन्। रामसहाय निर्विरोध संसदीय दलको नेता बने।’

स्रोतका अनुसार उपेन्द्र र राईबीच प्रतिनिधिसभा सदस्य निर्वाचन परिणाम सार्वजनिक भएसँगै खटपट सुरु भएको हो। निर्वाचन सकिएलगत्तै उपेन्द्रले एमालेसँगको सहकार्यको कोर्स समाप्त भएको बताए। उपेन्द्रको उक्त भनाइको राईले खण्डन गरेका थिए। राईले भनेका थिए, ‘अध्यक्ष (उपेन्द्र यादव) ज्यूको भनाइ व्यक्तिगत हो। एमालेसँगको सहकार्य कायमै छ।’ राई एमालेसँगको सम्बन्ध टुटाउन नहुने पक्षमा छन्। जसपा सरकारमा जानुपर्छ भन्ने लाइन राईको हो। जसपाका अर्का नेताले भने, ‘उहाँ (अशोक राई) ले पत्नी सुशीला श्रेष्ठलाई सरकारमा पठाउन खोज्नुभएको छ। तर पार्टी अध्यक्ष यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नजिक हुन खोज्नुभएको छ।’ प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनमा जसपाले सत्तारुढ दललाई सहयोग गर्नुमा राईको जोडबलले काम गरेको स्रोतले बतायो।

उपेन्द्रले आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने चाहना राखेका छन्। यसमा उनको व्यक्तिगत स्वार्थ छ। जसपाले उपराष्ट्रपति पाए रामसहायलाई बनाउने पक्षमा उपेन्द्र छन्। रामसहाय उपराष्ट्रपति भए प्रतिनिधिसभामा एक सदस्य रिक्त हुन्छ।

जसको पूर्तिका लागि उपनिर्वाचन गराउनुपर्छ। उपनिर्वाचनमा आफैं चुनाव लडेर प्रतिनिधिसभाको सदस्य हुने यादवको चाहना छ। तर उपराष्ट्रपति जसपाले पाउने सम्भावना कम छ। राई सकेसम्म उपेन्द्र प्रतिनिधिसभामा नआउन भन्ने पक्षमा रहेको स्रोतले बतायो।

प्रकाशित : आइतबार, माघ ०८, २०७९०९:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाललाई कुनै सूचना नदिई फेरी चीनद्वारा नाका बन्द !