टङ्कीसिनवारी – मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छन् ।
कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जंगबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरिन् । ती दम्पतीले अहिले ‘फूड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेको छ ।
विश्वकर्मा र ग्रान्डाले फूड ट्रक सञ्चालन गरिरहेका छन् । फूड ट्रक भनेको ४ चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फूड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फूड ट्रक हो । फूड ट्रकबाट दैनिक १५ देखि २० हजारसम्मको व्यापार हुने गरेको छ ।
विक्रम संवत् २०५२ सालमा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ सालमा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे ।
विक्रम संवत् २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखिन् र श्रीमान्लाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरिन् ।
४ चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गरेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किने र होटलको आकार दिए । उनको २२ लाख खर्च भयो । गाडीवाला होटलले हाल दैनिक २० हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेको छ । शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताइन् ।
उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाइन् । ३ महिनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अंग्रेजीमा वार्तालाप गर्छिन् भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन् ।
विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा. सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए । उनले फिलिपिन्सकी महिलाको मेहनत देखेर आफू दंग हुने गरेको बताए । विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरिन् । उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताइन् । जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गरेको श्रेष्ठले बताइन् ।