सभामुख बन्ने दौडमा को-को ?

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख नेकपा एमालेले पाउने निश्चित भएको छ। तर सभामुखमा चारजना आकांक्षी देखिएका छन्। एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने टुंगो अहिल्यै नलाग्ने स्रोतले बतायो। राष्ट्रपतिको टुंगो लगाएपछि मात्र सभामुखको टुंगो लगाउने गरी काम भइरहेको एक नेताले बताए। एमाले–माओवादीको सहमतिबमोजिम आधाआधा कार्यकाल अर्थात् साढे दुई वर्षका दरले पाँच वर्षमा दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको छ।

पहिलो कार्यकाल एमालेलाई परेको छ। सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने व्यवस्था छ भने सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ। सबै पक्षलाई हेरेर सभामुखको निर्वाचन हुनेछ। संसद्को अधिवेशन पुस २५ गते आह्वान भइसकेको छ।

पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा हुनेछ। उनले सभामुखको निर्वाचन भएपछि मात्र आफ्नो पद छाड्नेछन्। उपसभामुखको निर्वाचन नयाँ सभामुखले गर्नेछन्।

संसद् अधिवेशनमा सबैभन्दा पहिला सरकारले विश्वासको मत लिनेछ। सरकारले विश्वासको मत लिइसकेपछि सभामुखको निर्वाचन हुनेछ। तत्काल कायम सबै प्रतिनिधिसभा सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन्। पहिलो प्रस्तावमा बहुमत प्राप्त भएपछि बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन।

कुनै दललाई पनि भेदभाव नगरी सभाको बैठक सञ्चालन गर्ने महत्वपूर्ण जिम्मेवारी सभामुखमाथि छ। सभामुखमा निर्वाचित भएको व्यक्ति पार्टीको क्रियाकलापमा लाग्न नपाउने हुँदा केही नेताहरू सभामुखमा जान मान्दैनन्। सभामुख स्पष्ट वक्ता हुनुपर्दछ। कानुनको विषयमा जानकारी राख्नैपर्ने हुन्छ भने न्याय दिने विषयमा सकेसम्म विवेक पुर्‍याउनुपर्दछ। संसद्को बिजनेसलाई सुनिश्चित गर्न लिखित र अलिखित संसदीय नियम र परम्परा पालना गरिन्छ।

प्रकाशित : बिहिबार, पुष १४, २०७९०९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ओली–प्रचण्डबीच भयो सहमति, मिल्यो प्रदेशको भागबण्डा !