मधेसमा शीतलहरको कहर: तीन दिनमै पाँच जनाको गयो ज्यान !

काठमाडौँ – परालले छाएको सानो छाप्रो। एकातिर दाउरा र अर्कातिर परालको बोझाको बारबेर। चिसो भुइँमा पातलो सुकुल ओछ्याइको। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको गोलबजार नगरपालिका–१० मुसहरी टोलका श्यामदेवी सदायको छाप्रोको अवस्था हो यो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

यही ओछ्यानमा कठ्यांग्रिएर उनको साताजनाको परिवार थरथर काँप्दै शीतलहरको सिरेटो काट्दैछन्। चार छोराछोरी र वृद्धा आमालाई छाप्रोभित्र राखेर श्याम दम्पती घरबाहिर खुला आकाशमुनि बस्छन्। जाडो छल्न उनीहरूले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर उनीहरू जसोतसो चिसो छल्दैछन्।

मुसहरी टोलकी ७० वर्षीया मलभोगिया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्। चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा पराल सिरक–डसना बन्छ। पराल बालेरै चिसो छल्नु उनीहरूको बाध्यता बनेको छ। ‘मजदुरी गरेर कमाएको दुई–चार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने ?’ सुकुम्बासी बस्तीकी जँगली सदाय भन्छिन्, ‘भगवान्ले जाडोरूपी काल पठाउँछन्, थरथर काँप्दै गरेका हामी गरिबलाई सरकारले देख्दैन।’ चिसो सुरु भएपछि अहिलेसम्म योे बस्तीमा सरकार वा सरकारी संयन्त्र नआएको उनीहरू बताउँछन्। गत वर्ष स्थानीय तहमार्फत दाउरा वितरण अभियान थालिए पनि यो विपन्न बस्तीसम्म त्यस्तो कुनै वस्तु आइपुगेन, न त संघसंस्थाले बाँडेका कम्बल नै आइपुगे,’ जँगलीले गुनासो पोखिन्।

साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ। नरहा गाउँपालिका–२ पानवारीकी सुकुम्बासी ललितादेवी सदा चिसो भुइँमा निदाउनुपर्ने बाध्यताले दुःखी छिन्। ‘कहिलेकाहीँ त मलाई पनि कठ्यांग्रिएर मरिन्छ कि जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छाड्छन्।’ यसपालिको पुस–माघको शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताएको छ। दैनिक ज्यालामजदुरीबाट गुजारा गर्ने सो बस्तीमा जाडो महिना कहर बोकेर आउँछ।

आर्थिक विपन्नताका कारण उनीहरू बाक्लो कपडा, सिरक–डस्ना केही किन्न सक्दैनन्। दलित समुदायका मानिस बिहानबेलुका घुर तापेर जिउ तताउने गर्छन्। गरिबहरूको बस्तीमा एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ। उनीहरूका लागि जाडोको सहारा नै घुर हो। तीन दिनदेखि पछिया हावासँगै चलेको शीतलहरका कारण मधेस प्रदेशका विपन्न बस्तीमा अत्यास बढेको छ। लहान नगरपालिका–२३ गढियाकी सुमित्रा सदा भन्छिन्, ‘हाम्रा लागि जाडोको सहारा नै घुर हो।’ बाँसको टाटीले घेरिएको घरमा चिसो हावा पसेर निदाउन सक्दिनन् उनी। दैनिक मजदुरी गरेर खानुपर्ने उनको दैनिकी शीतलहरले रोकिदिएको छ। शीतलहरका कारण मधेसका विपन्न परिवार छटपटाइरहेका छन्। उनीहरू स्थानीय सरकारसँग बाक्ला लुगाफाटा, दाउरा र ओढ्नेओछ्याउने कपडाको याचना गरिरहेका छन्। तर संघीय, प्रदेश र स्थानीय सरकारले चासो देखाएका छैनन्।

मधेस प्रदेशअन्तर्गतका जिल्लाहरूका स्थानीय सरकार, विपद् व्यवस्थापन समितिहरूले बर्सेनि शीतलहरबाट विपन्नलाई जोगाउन वन कार्यालयसँग दाउरा मागेर बाँड्न पत्राचार गर्नेबाहेक केही गरेको पाइन्न। मुटु कँपाउने चिसोमा मजदुरी गरेर साँझ घर फर्केने विपन्नहरू राति घुर तापेर ओछ्यानमा निदाउन जान्छन्। अधिक चिसोका कारण श्वासप्रश्वास, दमलगायत बिरामीले निदाएकै ठाउँमा ज्यान गुमाउने गरेका छन्।

प्रकाशित : शुक्रबार, पुष ०८, २०७९०८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पिपिरीको पिरीपिरी धुन: आफूसँग भएको सीप कतै नबिक्दा सारै दुःखि !