काठमाडौं, नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेताको लागि उम्मेदवारी दिएका थापा पराजित भएका हुन् ।
बुधबार बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाए । शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ ।
शेखर कोइराला समूहमा रहेका ३१ सांसद र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाएका छन् ।
यसै बीच संसदीय दलको निर्वाचनमा गगन थापा पराजित भएको अवस्थालाई लक्षित गर्दै चर्चित हाँस्यकलाकार दीपक राज गिरीले कोही पनि घाँस खान छाडेर पराल तिर नजाने बताएका छन्। थापा पराजित भएपछि गिरीले सो प्रसंग उल्लेख नगरी कोही पनि घाँस खान छाडेर पराल तिर नजाने बताएका हुन्।
सामाजिक संजाल मार्फत गिरीले सरकार र शक्तिलाई घाँसको संज्ञा दिँदा परिवर्तनलाई परालको संज्ञा दिएका छन्। सामाजिक संजालमा गिरी लेख्छन्,”सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?”