काठमाडौँ – नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य बढेको छ। छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको हो ।
मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक हजार दुई सय तोकिएको छ । नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैंयाँले नै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख सात सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार नौ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु २५ ले वृद्धी भई प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार आठ सय १३ दशमलव चार अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
सुन बैशाख यताकै महँगो
पछिल्लो वृद्धि सँगै नेपाली बजारमा सुन झन्डै यस वर्षकै महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य बैशाख ६ गते यताकै महँगो हो।
त्यस दिन छापावाला सुन १ लाख २ हजार १ सयमा कारोबार भएपछि सुन आजको जति महँगो कहिले पनि भएको थिएन। सुन ८ महिना भन्दा बढी समयकै महँगो भएको महासङ्घले जनाएको छ।