यसपटक हिउँद न्यानो हुने, पानी पनि कम पर्ने !

काठमाडौं । जलवायु परिवर्तनको असरका कारण यो वर्षको हिउँद न्यानो र वर्षा पनि कम हुने सम्भावना बढेको छ । देशभर अधिकतम तापक्रम सरदरभन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३ दशमलव ३ देखि ६६ दशमलव ६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यसैगरी सरदरभन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३ दशमलव ३ प्रतिशत भन्दा कम र बढी भन्नाले ६६ दशमलव ६ प्रतिशतभन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्युठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश–१ का ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु लगायतका उत्तरी जिल्लामा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भू–भागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको उक्त विभागले हिउँद अवधि (१५ मंसिरदेखि १६ फागुनसम्म) को वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् । विभागका अनुसार हिउँदमा प्रदेश–१ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी लगायतका पूर्वी तथा तराईका जिल्ला, मधेस प्रदेशका पर्सा, बारा, रौतहट लगायतका पश्चिमी भू–भाग, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका जिल्ला, गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत लगायतका मध्य तथा दक्षिणी जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली लगायतका जिल्लामा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्ला तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पाको उत्तर–पश्चिमी भू–भागबाहेक देशका अन्य बाँकी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । यसैगरी यस हिउँदमा देशभर अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् कँडेलले बताइन् । कर्णाली प्रदेशको हुम्ला र मुगुका पश्चिमी भू–भाग र सुदूरपश्चिम प्रदेशका बाजुरा जिल्लामा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको तथ्यांक छ ।

प्रदेश–१ का सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरी लगायतका दक्षिणी जिल्ला, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, चितवन लगायतका मध्य तथा दक्षिण–पश्चिम जिल्ला, मधेस प्रदेशको पर्सा र सप्तरी, गण्डकी प्रदेशका उत्तर–पुर्वी जिल्ला बाहेकका अधिकांश जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग र कर्णाली प्रदेशका पूर्वी तथा उत्तरी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । बाँकी भू–भागमा अधिकतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्यूठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखा लगायतकामध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश–१ का ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु लगायतका उत्तरी जिल्लामा न्यूनतम् तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

विभागले यस आँकलन विश्व मौसम संगठनको विश्वभर क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुपको आँकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आँकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनको आधारमा तयार गरेको जनाएको छ । नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था तथा जलवायु प्रारूपहरूको हिउँद अवधिको आँकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाईसमेत मध्यनजर गरी तयार गरिएको जनाइएको छ ।

प्रकाशित : सोमबार, पुष ०४, २०७९१०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२३ एसपीको काज सरुवा, आठ जिल्लाका प्रहरी प्रमुख फेरिए !