जसरी पनि प्रधानमन्त्री बन्ने प्रचण्डको योजना, बन्न नपाए प्रतिपक्ष !

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनका सम्भावित विकल्प खुला राख्दै पहिलो चरणमै आफ्नो नेतृत्वमा सरकार बनाउने रणनीति अघि सारेका छन् । पाँचदलीय गठबन्धनकै बलमा प्रधानमन्त्री बन्ने दाहालको पहिलो विकल्प छ । यसका लागि कांग्रेस तयार नभए एमालेसहितका दलहरूसँग मिलेर सरकार बनाउने दोस्रो विकल्प छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

 नेताहरूका अनुसार दाहाल राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र मुख्यमन्त्रीहरूको भागबन्डा ‘प्याकेज’ मै गर्नुपर्ने पक्षमा छन् । राष्ट्रपति र सभामुख कांग्रेसलाई दिएर भए पनि प्रधानमन्त्री लिने उनको रणनीति छ । साना दल मिलाएर कांग्रेसले सरकार बनाए राष्ट्रपति र प्रदेश सरकार बनाउन विकल्प खोज्ने दाहालको रणनीति छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई ७ दिनको समय दिएलगत्तै दाहालले आफ्नो रणनीतिअनुसार संवाद थालेका छन् । स्रोतका अनुसार उनले आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरूसँग संवाद गरेका छन् । उनले पार्टीका दोस्रो तहका नेतामार्फत एमालेका दोस्रो तहका नेतासँग पनि संवाद गराएका छन् । संसदीय दलको नेता चयन भएर थप संवाद गर्ने दाहालको योजना छ ।

शनिबार प्रधानमन्त्री देउवालाई भेटेर पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दाबी गरेका दाहालले बाध्यात्मक अवस्थाका विकल्प खोज्न सकिने जनाउ दिएका छन् । स्रोतका अनुसार दाहालको प्रस्तावमा देउवा सकारात्मक छैनन् । यद्यपि देउवा र दाहालबीच राज्यशक्ति बाँडफाँटबारे ‘विश्वासपूर्ण’ संवाद भएको दाहालनिकट केही नेताको दाबी छ । ‘उहाँहरू बीचमा केही न केही समझदारी छ जस्तो बुझिन्छ, त्यही कारण हुन सक्छ, प्रचण्डजी हालको गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा हुनुहुन्छ,’ निकट एक नेताले भने ।

दाहालले आफूसँग प्रतिनिधिसभाका ६० सांसदको समर्थन रहेको दाबी गर्दै कांग्रेसलाई दबाब दिने र यसैको बलमा वैकल्पिक गठबन्धन बनाउने रणनीति लिएका छन् । माओवादीका ३२, एकीकृत समाजवादीका १०, जसपाका १२, जनमोर्चाका एक, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ३ र प्रभु साहसहित २ स्वतन्त्र सांसदको समर्थन रहेको दाबी गर्दै आएका छन् । तर, ती दलले यसबारे केही निर्णय गरेका छैनन् ।

संसद्को पहिलो दल कांग्रेस र दोस्रो एमालेलाई सत्ता समीकरणमा मिल्न नदिने र उनीहरू मिले प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने दाहालको तेस्रो विकल्प छ । ‘यो बाध्यकारी विकल्प हो, अहिले प्रचण्डजीको प्राथमिकता प्रधानमन्त्री नै हो,’ माओवादी स्थायी कमिटीका एक सदस्यले भने ।

प्रकाशित : सोमबार, पुष ०४, २०७९०९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौंमा भारतीय सैन्य टोली ! किन आएको होला ?