काठमाडौँ – सहरी विकासमन्त्री मेटमणि चौधरीलाई अहिले शिलन्यास, उद्घाटन तथा निरीक्षण कार्यक्रम जस्ता कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भएको छ। पछिल्लो साता उनी हरेक दिन शिलान्यास तथा उद्घाटन कार्यक्रममा व्यस्त भएका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
शनिबार बिहान उनी चितवनको सौराहमा गरिएको कार्यक्रममा सहभागी भई दिउँसो काठमाडौं आइपुगे। काठमाडौं आउनेबित्तिकै डिप्लोमा इञ्जिनियरिङ एसोसिएसनको साधारणसभाको उद्घाटन गरे। चितवनमा भने स्थानीय पूर्वाधार विभाग (डोली) ले गरेको समापन कार्यक्रममा सहभागी भएका थिए।
शुक्रबार चौधरीले महोत्तरीको भङ्गामास्थित तरसरीबाबा स्थानमा निर्माण हुन लागेको थारु संग्राहलयको अध्ययन तथा अबलोकन गरे। त्यसै दिन उनी चितवन पुगी डोलीले गरेको समिक्षात्मक कार्यक्रमको उद्घाटन गरे।
त्यसको अघिल्लो दिन बिहीबार उनले कोशी अञ्चल अस्पतालको शिलान्यास गरे। अस्पतालको शिलान्यास गर्नुअघि मन्त्रालयले गरेको कामको अध्ययन तथा अबलोकन गर्न उनी जनकपुर पुगे। विराटनगरपछि उनी चितवन पुगे। चितवनमा डोलीले गरेको कार्यक्रमको उद्घाटन गरेका थिए।
चौधरीको सक्रियता यति मात्र छैन। सरकार छाड्ने बेला उनले ३ जना सहसचिव सरहका उच्च कर्मचारी सरुवा गरेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्रालय मातहततको सहरी विकास महाशाखाबाट पदम मैनालीलाई भवन विभागअन्तर्गत भवन प्रविधि तथा अनुसन्धान केन्द्रमा सरुवा गरिएको छ।
यसैगरी, मन्त्रालयको योजना महाशाखमा कार्यरत रामचन्द्र दंगाललाई सहरी विकास महाशाखामा लगिएको छ। भवन प्रविधि तथा अनुसन्धान केन्द्रमा कार्यरत दिलिप भण्डारीलाई मन्त्रालय मातहतको योजना महाशाखामा लगिएको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री चौधरीको चाहनामा ३ जना उच्च कर्मचारीहरूको सरुवा गरिएको थियो। केही दिनअघि मात्र सहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यलाई सरुवा गरिएको थियो। स्रोतका अनुसार उच्च कर्मचारीहरूको सरुवा गर्न सचिव आचार्य चाहेका थिएनन तर मन्त्री चौधरीको जोडबलले ३जना उच्च कर्मचारीको सरुवा गरिएको स्रोतको भनाइ छ।
निर्वाचन आचारसंहिता खारेज भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले सहसचिव सरहका ४ जना उच्च कर्मचारी सरुवा गरेका छन्। शर्माले भन्सार विभाग र आन्तरिक राजस्व विभागको महानिर्देशक फेरबदल गरेका छन। भन्सार विभागमा अर्थ मन्त्रालयको वजेट महाशाखाको महाशाखा प्रमुख चक्र बुढालाई ल्याएका छन भने विभागमा कार्यरत कमल भट्टराईलाई मन्त्रालय तानेका छन्।
यसैगरी आन्तरिक राजस्व विभागमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट दीर्घराज मैनालीलाई ल्याएका छन्। विभागमा कार्यरत रितेश शाक्यलाई मन्त्रालयको बजेट महाशाखामा लगेका छन्। सरकार छाड्ने बेला चौधरी र शर्मा मात्र नभई अन्य मन्त्रीहरूको सक्रियता पनि उत्तिकै बढेको छ। उच्च कर्मचारीहरू भने सकेसम्म मन्त्रीबाट पन्छिने गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँर दाङ, बाँके, रूपन्देही लगायतका जिल्ला भ्रमण गरी ती जिल्लामा रहेका मन्त्रालय मातहतका सिप विकास कार्यालय तथा वैदेशिक रोजगार तालिम कार्यालयको निरीक्षण तथा अवलोकन कार्यक्रममा सहभागी भए। शनिबार मात्र उनी काठमाडौं आए। मन्त्रालय स्रोत भन्छ, ‘मन्त्रीको चाहनामा जिल्लामा निरीक्षण कार्यक्रम राखिएको थियो।’