प्रचण्डको जिद्दीले तनावमा देउवा !

काठमाडौँ — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन र पार्टीबाट दलको नेता बन्न कसरत गरिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दाबी गरेका छन् । शनिबार देउवालाई बालुवाटारमा भेटेका दाहालले समग्र शक्ति बाँडफाँटको विषय प्रवेश गराउँदै सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

माओवादीमा चुनौती दिने अर्को नेता अघि नबढेकाले संसदीय दलको नेता चुनिनुअघि नै दाहालले प्रधानमन्त्रीका लागि दाबी गरेका हुन् । कांग्रेसका दोस्रो तहका नेताहरूमार्फत सन्देश पठाउँदै आएका दाहालले देउवासँग भने पहिलोपल्ट मुख खोलेका हुन् । देउवाले दाहालको प्रस्तावमा प्रस्ट जवाफ दिएका छैनन् । ‘संसदीय दलको नेता टुंगो लागेपछि छलफल गरौंला भन्ने जवाफ प्रधानमन्त्रीको छ,’ बालुवाटार स्रोतले भन्यो ।

भेटपछि प्रधानमन्त्री देउवाले बालुवाटारमा आफूनिकट नेतासँग छलफल गर्दै दाहालले प्रधानमन्त्री खोजिरहेको जानकारी गराएका थिए । दोस्रो चरणमा प्रधानमन्त्री छाड्न तयार भएका देउवा सुरुमै दाहालले दाबी गरेपछि दबाबमा परेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने दाहालको प्रस्तावलाई अन्यथा नमानिएको बताए । ‘प्रचण्डजीले आफ्ना लागि प्रधानमन्त्री चाहियो भन्नुभएको छ, अब कसरी अघि बढ्ने भन्नेबारेमा दलको नेता टुंगो लागेपछि हामी छलफल गर्छौं,’ उनले भने, ‘प्रचण्डले प्रधानमन्त्री हुने प्रस्ताव गर्दैमा गठबन्धन टुट्ने वा विकल्प खोज्ने भन्ने कुरा सोचिएको छैन । आ–आफ्ना कुरा राख्नुलाई अन्यथा लिनुहुन्न । यस्तै प्रस्ताव पहिला पनि थियो होला, अहिले पनि राख्नुभयो । अब छलफल हुन्छ ।’

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दाहालले ‘पावर सेयरिङ’ कसरी गर्ने भन्ने विषयमा मात्रै छलफल गरेको दाबी गरे । ‘निर्वाचनबाट तपाईंहरूले बढी लाभ पाउनुभयो, हामीलाई भएन, गठबन्धन कसरी अघि बढाउने ? पावर सेयरिङको समग्रतामा कसरी सोच्नुभएको छ भनेर अध्यक्षले कुरा राख्नुभएको हो,’ उनले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्री चाहियो भनेर उच्चारण गर्नुभएको छैन ।’

माओवादी महासचिव देव गुरुङले दाहालको प्रस्ताव स्वाभाविक भएको बताए । ‘शान्तिप्रक्रिया र परिवर्तनका मुद्दाको नेतृत्व गरेको हैसियतले प्रचण्डले सरकारको नेतृत्व गर्ने कुरा स्वाभाविक हो, उचित कुरा पनि हो,’ उनले भने ।

पाँच वर्षको कार्यकाल आधा–आधा बाँडेर सरकारको नेतृत्व गर्ने विषयमा समझदारी बने पनि को पहिला प्रधानमन्त्री हुने भन्नेमा देउवा र दाहालबीच रस्साकसी छ । यसले सत्ता गठबन्धनको भविष्यलाई समेत अन्योलमा धकेल्ने कतिपय नेताको बुझाइ छ । ‘यसपटक प्रचण्डले पनि प्रधानमन्त्री छाड्ने सम्भावना देखिँदैन, छलफलमा उहाँको दह्रो अडान रहने संकेत देखिन्छ, देउवाले पार्टीभित्र र बाहिरसमेत तयारी अघि बढाइसक्नुभएको छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘साढे दुई वर्षपछि दोस्रो चरणमा सरकारको नेतृत्व गर्न पाइएला भन्ने रत्तिभर विश्वास उहाँहरूलाई छैन । त्यसैले सुरुमै प्रधानमन्त्री हुने दुवै नेताको चाहना छ ।’

प्रकाशित : आइतबार, पुष ०३, २०७९०७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पटुकीका राखेकी थिइन् पैसा, त्यहि लुट्न लिइयो ज्यान !