काठमाडौँ – बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे। थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक राइडिङ’को अनुमति पत्र (लाइसेन्स) प्राप्त हुने र त्यसपछि नियमित काम सुरु हुने बताएको थियो। तर युएई पुगेको महिनौं बित्दा पनि उनीहरूले लाइसेन्स प्राप्त गर्न सकेनन्।
‘हामी म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थियौं। म्यानपावर कम्पनीले त्यहाँ गएको एक सातामा लाइसेन्स पाइने, त्यसपछि नियमित काम सुरु हुने र मासिक १ लाख कमाउन सकिने भनेको थियो तर भनेअनुसार केही पनि भएन,’ थारूले भने। युएईमा ओर्लिएको पाँच घन्टापछि थारूलाई प्रस्तुति म्यानपावरकै सञ्चालक नवराज थापा नाम गरेका व्यक्ति लिन आए। उनले थारूलाई एउटा कोठामा लिएर गए। त्यहाँ जाँदा थप १८–२० जना नेपाली निन्याउरो अनुहार लगाएर बसिरहेका थिए। उनीहरूले थारूलाई हेर्दै थिए। तीमध्ये एक जनाले भने, ‘तिमी पनि फस्यौ ।’ त्यसपछि भने थारू झसंग भए। त्यहाँ उनीहरूलाई एउटा कोठामा भेडाबाख्रा कोचेजस्तै गरी राखिएको थियो।
नेपालबाट राम्रो कमाइको आसमा ऋण खोजेर युएई पुगेका थारू के गर्ने के नगर्ने भनेर अन्योलमा परे। ‘म त झन् ऋण खोजेर त्यहाँ गएको थिएँ। अब डुबियो भन्ने लाग्यो। त्यो दिन कोठामा रहेका सबैले कसरी फसियो भनेर आपसमा अनुभव साटासाट गर्यौं। राति निद्रा पनि लागेन,’ उनले भने, ‘परिवार सम्झें, ऋण सम्झें। त्यसपछि त झन् बेहोसै होलाजस्तो भयो।’ केही दिन बसेपछि उनीहरूलाई सो कोठाबाट निकालियो। त्यसपछि थप दुःखका दिन सुरु भए।
उनले त्यहाँ बस्न नेपालबाटै खर्च मगाउनुपर्ने भयो। राम्रो आम्दानी हुने आसमा महँगो शुल्क तिरेर वैदेशिक रोजगारीमा गएका थारू गत नोभेम्बर २५ मा भारतको बाटो हुँदै नेपाल फर्किए। हाल उनी आफू म्यानपावर कम्पनीबाट ठगिएको उजुरीसहित वैदेशिक रोजगार विभाग धाइरहेका छन्। थारूले युएईमा दुःख पाइरहेको समयमा पनि नेपालबाट बाइक राइडरको जागिरमा भन्दै प्रस्तुति म्यानपावर कम्पनीले नेपाली युवालाई युएई पठाउन छाडेको थिएन।
थारूजस्तै इलामका आकाश लिम्बू पनि बाइक राइडिङकै काम पाउने आसमा गत मे १ मा प्रस्तुति म्यानपावरबाटै युएई उडेका थिए। उनले पनि युएई उड्नुअघि म्यानपावर कम्पनीका कर्मचारी विनोद कार्कीकी पत्नी मुनादेवी कार्कीको बैंक खातामा ५ लाख रूपैयाँ जम्मा गरिदिएका थिए। उनी पनि करिब सात महिना युएई बसेर गत अक्टोबर २३ मा नेपाल फर्किए। उनको पनि कथा थारूकै जस्तो छ। उनलाई पनि सुरुमा नेपाली युवालाई राखेको कोठामा लगियो। पछि उक्त कोठाबाट उनी निकालिए। बाइक राइडिङको काम पाउने आसमा सात महिना बित्यो। त्यस अवधिमा उनले म्यानपावरलाई बुझाएको बाहेक युएईमा बस्नखान नेपालबाट थप ६ लाख रूपैयाँ मगाए।
ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्यो। त्यो सम्झिँदा मन थाम्नै गाह्रो हुन्छ।’ बेसरी दुःख गरेर कमाउने र घरपरिवारलाई सुख दिने आशा बोकेका उनी उल्टै पैसा झिकाएर स्वदेश फर्किनुपर्यो। वैदेशिक रोजगारीमा यसरी ठगीमा परिन्छ भन्ने थाहा भएको भए बरु स्वदेशमै लगानी गरेको भए हुने भन्ने लागेको लिम्बू बताउँछन्। लिम्बूले पनि म्यानपावर कम्पनीलाई बुझाएको पैसाको रसिदसहित वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
नुवाकोटका रामचन्द्र तिवारी पनि थारू र लिम्बूजस्तै वैदेशिक रोजगारीको सपना देखेर प्रस्तुति म्यानपावरलाई पैसा बुझाउनेमध्येका एक हुन्। उनी त अझ थारू र लिम्बूले भन्दा १५ हजार अतिरिक्त रकम बुझाएर युएई उडेका थिए। तर युएई पुगेपछि मात्र उनले आफू ठगिएको थाहा पाए। म्यानपावर कम्पनीले तत्काल काम उपलब्ध गराउने भने पनि सात महिना बस्दासमेत काम नपाएपछि उनी पनि नेपाल फर्किएका छन्।
‘त्यहाँ सात महिना बस्दा हाम्रो धेरै पैसा खर्च भएको छ। पैसा कमाएर परिवार सुखले पाल्ने आशा थियो। त्यहाँ पुगेपछि सडकको बास भयो,’ उनले भने। तिवारी काहरू सबैको अवस्था बिजोग भएको तिवारी बताउँछन्। उनी आफूले नेपाल फर्केर विभागमा उजुरी दिए पनि विभागबाट कुनै सुनुवाइ नभएको भन्दै आक्रोश पोख्छन्।
पहिले वैदेशिक रोजगारीका सिलसिलामा ठगिएका उनी अहिले गुनासो सुनुवाइका लागि विभाग धाउँदाधाउँदै वाक्क भइसकेका छन्। प्रत्येकपटक काठमाडौं आएर विभागमा धाउँदा धेरै पैसा खर्च भइसके पनि आफ्नो गुनासोको सुनुवाइ नभएको उनी बताउँछन्। ‘पटकपटक काठमाडौं आउँदा धेरै पैसा सकिइसक्यो। यसरी कहिलेसम्म विभाग धाइराख्नुपर्ने हो ?’ तिवारीले प्रश्न गरे।