काठमाडौँ – परालले छाएको सानो छाप्रो।एकातिर काठ र अर्कातिर परालको बेरा।चिसो भुइँमा बिछ्याइएको डसना। त्यसमाथि ओछ्याइएको पातलो सुकुल ।नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका ६० वर्षीय परमेश्वर पासवानको घरको दृश्य हो यो। दुई दिनदेखि चलेको शीतलहरको सिरेटोले परमेश्वरलाई अत्याएको छ। दुई वर्षअघि शीतलहरकै कारण उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
धनगढीमाई नगरपालिका–३ हनुमाननगरकी ६५ वर्षीया सुकनीदेवी सदायलाई शीतलहरको सिरेटोले कपाइरहेको छ। सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन्।तिनैमध्ये एउटा छाप्रामा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ। चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई न्यानो ओढ्ने,ओछ्याउने र लगाउने जोहो गर्न हम्मे छ।गोलबजार नगरपालिका–१० मुसहरी टोलकी ५० वर्षीया जंगली सदाय दिउँसो चल्ने हावामा ओछ्यानमुनिको पराल सुकाउँछिन्। राति चिसोले ओसिएको भुइँमा ओछ्याइएको पराल दिनभरि हावामा सुकाएर राति फेरि बिछ्याउनु उनको दैनिकी हो। ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो। गर्मीमा जेनतेन चल्छ, जाडोमा गाह्रो हुन्छ,’ उनले भनिन्, ‘रुईको सिरक–डसना जोड्ने औकात छैन।हामी गरिबका लागि पराल नै सिरक–डसना।’
मधेसका दुर्गम क्षेत्रमा मंसिरको मध्यबाटै बिहान–साँझ चिसो सुरु भएर पुसदेखि ह्वात्तै बढ्छ। पुसको सुरुवातसँगै शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेले बाक्लो लुगा पहिरेर ज्यानलाई जतन गरेर राखेका छन्। तर आर्थिक स्थिति कमजोर हुने मधेसका सुकुम्बासी मुसहर, डोम, चमारलगायत समुदायमा भने बर्सेनि शीतलहर कहर बनेर आउँछ। बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासी मुसहरलगायत समुदायका मानिसलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्ने हैसियत पुग्दैन।
चिसो बढेपछि बस्तीका अभावग्रस्त नागरिक निदाउन सक्दैनन्। शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने ? पिरलोमै यस बस्तीको दिनरात कटिरहेको छ। यसै बस्तीकी ४० वर्षीया श्यामदेवी सदायको एककोठे छाप्रोमा सातजनाको परिवार कोचिएर बस्नुपर्ने बाध्यता छ। चारजना छोराछोरी र वृद्ध सासूलाई छाप्रोभित्र राखेर श्याम दम्पतीको रात घरबाहिर खुला आकाशमुनि बित्छ। ओढ्न–ओछ्याउन परालसँगै घरका पुराना कपडा प्रयोग गर्नु त्यो दम्पतीको बाध्यता हो।
धोबियाधार (खोला) को डिलमा रहेको सुकुम्बासी मुसहर बस्तीमा वर्षामा घर डुबान र हिउँदमा शीतलहर पिरलो बनेर आउँछन्। ‘पराल ओछ्याएर चिसो भुइँमा ओढ्ने पुरानो कपडा छ,’ उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन। कहाँबाट न्यानो लुगा लगाउनु ?’
शीतलहरका बेला मधेसको अभाव बस्तीमा कठ्यांग्रिएर मानिस मर्न थालेपछि बर्सेनि न्यानो कपडा बाँडिन्छ। उनीहरूको जीवनस्तर सुधार्न थुप्रै बजेट खर्चिन्छ। तर उनीहरू चिसोसँग सधैं पैठेजोरी खेल्न बाध्य छन्। ज्यानमारा बन्दै गएको शीतलहरबाट गरिब र विपन्न परिवारलाई जोगाउन सरकारी योजना पनि टालटुले मात्र छ। गत दुई वर्षमा चिसोले मधेस प्रदेशको विपन्न बस्तीमा १०० जनाको मृत्यु भइसकेको छ।