काठमाडौँ – मेलम्चीको पानी काठमाडौंमा वितरण थालेको तेस्रो दिन पाइप फुटेर सडकमा निस्कँदा लैनचौर क्षेत्रको यातायात अस्तव्यस्त भएको छ। मेलम्ची आयोजनाको मुहानमा मात्र होइन, उपभोक्ताका घरसम्म पानी पुर्याउँदा पनि आउन सक्ने विपत्तिको यो एउटा नमुना बन्न पुगेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले केही वर्षअघि नै पाइप विस्तार कार्य सम्पन्न गरेको थियो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
कमजोर संरचनाका कारण मेलम्ची पाइप फुटेपछि सोमबार लैनचौर क्षेत्रको सडक जलमग्न र हिलाम्मे बन्यो। लाजिम्पाटस्थित खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेर सो क्षेत्र मात्र अस्तव्यस्त नभई काठमाडौंका अन्य विभिन्न स्थानमा पनि थामिनसक्नु सवारी जाम भएको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले खानी तथा भूगर्भ विभागअगाडि मेलम्चीको पाइप फुट्दा लैनचौर क्षेत्रमा सोमबार अपराह्न सवारी आवागमनमा समस्या परेको बताए। ‘एक्कासि सडकमा मेलम्चीको पाइप फुटेपछि निस्केको पानीका कारण लेदोसहित सडक जलमग्न भएको थियो,’ उनले भने, ‘कुनै मानवीय क्षति नभए पनि सवारी आवागमनमा निकै समस्या भएको थियो।’ प्रवक्ता भट्टले सोमबार साँझ अबेरबाट सो सडकखण्डमा सवारीसाधन चल्न थालेको बताए।
काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले केयुकेएल आयोजना निर्देशनालयले तयार पारेको मेलम्चीको नयाँ वितरण लाइन दिउँसो फुटेर दुर्घटना भएको बताए। ‘पानीपोखरीबाट आएको मेलम्चीको पानीको चापले खानी तथा भूगर्भ विभागअगाडि पाइप फुटेको देखिन्छ,’ उनले भने, ‘मेलम्चीको पाइपलाइन विस्तार र परीक्षणमा सावधानी नअपनाएकै कारण यस्तो समस्या देखिएको हो।’
वडाध्यक्ष तिवारीले मेलम्चीको पाइप विस्फोट भए पनि कुनै मानवीय क्षति भने नभएको बताए। ‘मेलम्चीको पानी एक्कासि आउँदा पाइपलाइन फुटेर लैनचौर क्षेत्र जलमग्न भएको छ,’ उनले भने, ‘मेलम्चीको पाइप परीक्षण नगरी हुँदैन। तर आवश्यक तयारी तथा पूर्वसावधानी अपनाएर मात्रै परीक्षणको काम अघि बढाउनुपर्ने हुन्थ्यो।’
केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले मेलम्चीको पाइप के कारणले फुटेको हो भन्ने विषयमा अझै कारण खुल्न नसकेको बताए। ‘मेलम्चीको पाइप के कारणले फुट्यो भनेर खनेरै हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘पाइपको जडानवरिपरि अन्य निकायले काम गर्दा क्षति पुर्याएर दुर्घटना भएको हो कि भन्ने प्रारम्भिक अनुमान गरेका छौं।’