सीके राउत सरकारमा जान तयार, सत्ता गठबन्धनलाई बहुमत !

काठमाडौँ — सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई केही सिट नपुग्ने भएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनमत पार्टीलाई सरकारमा सहभागी गराउने कसरत थालेका छन् । प्रत्यक्षतर्फ १ सिट जितेको जनमतले समानुपातिकमा ४ सिट ल्याउने सम्भावना छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

देउवाले आफूनिकट विमलेन्द्र निधिमार्फत जनमतका अध्यक्ष सीके राउतलाई बिहीबार बालुवाटारमै बोलाएर संघ र प्रदेश सरकारमा सहकार्यको प्रस्ताव गरेका हुन् । प्रस्तावलाई राउतले स्वीकार गरेको भेटमा सहभागी नेता निधिले बताए । उनका अनुसार राउत नेतृत्वको पार्टी संघीय सरकार र प्रदेश सरकारमा सहकार्य गर्नेमा सहमत भएको छ । प्रधानमन्त्रीलाई

भेट्नुअघि बुधबार निधि–राउतबीच यस विषयमा छलफल भएको थियो । ‘जनमत पार्टी सहभागी हुने भएपछि संघ र मधेस प्रदेशमा सरकार निर्माणका लागि आवश्यक संख्या पनि पुग्ने भयो,’ निधिले कान्तिपुरसँग भने, ‘सीकेजीले सरकारमा सहभागिता जनाउने विषयसँगै आफ्नो पार्टीको वैचारिक मान्यता पनि लोकतान्त्रिक रहेको जानकारी गराउनुभएको छ ।’

प्रधानमन्त्रीलाई भेटेपछि राउत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका थिए । दाहाल–राउत भेट पनि सरकारमा सहभागिताको विषयमै केन्द्रित थियो । ‘म तपाईंको प्रशंसक हो, तपाईंले उठाएका कतिपय मुद्दा मैले पनि बोकेर हिँडेको छु भनेर सीके राउतले भन्नुभयो,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने ।

सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरबाट पराजित गरेर राउत पहिलोपल्ट संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । प्रत्यक्षतर्फ जित्नेमा जनमतबाट उनी एक्ला छन् तर उनी नेतृत्वको पार्टीले बिहीबारसम्म समानुपातिकतर्फ ३.८० प्रतिशत मत प्राप्त गरेको छ । जसअनुसार ४ सिट पाउने देखिन्छ । सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि अपुग हुने संख्यासमेत जनमतबाट पुग्ने निश्चित भएको छ ।

सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ ५५ सिट जितेको छ भने समानुपातिकतर्फ ३२ सिट पाउने देखिन्छ । योसहित कांग्रेसको कुल सिट ८७ हुन्छ । प्रत्यक्षमा १७ सिट जितेको माओवादीको समानुपातिकमा १४ गरी कुल ३१ सिट पुग्छ । एकीकृत समाजवादीले बिहीबार मध्यरातसम्म समानुपातिकतर्फ ३ प्रतिशत कटाउन सकेको छैन । उसको प्रत्यक्षतर्फ १० सिट छ । लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट छ । यी समेत गर्दा सत्ता गठबन्धनको पक्षमा १ सय ३३ सिट आउने देखिन्छ । जनमत पार्टीको थप ५ सिट जोडिँदा सत्ता गठबन्धनलाई सरकार बनाउन आवश्यक २ सय ७५ को बहुमत १ सय ३८ सिट ठ्याक्कै पुग्छ । गणना जारी रहेका ३ क्षेत्रमा गठबन्धनले नै जित्ने आकलन कांग्रेस–माओवादीको छ ।

स्याङ्जा–२ र बाजुरामा कांग्रेसकै अग्रता छ । दोलखामा बिहीबार पुनः मतदान भएको छ । यहाँ गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार छन् । यी तीनै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने सम्भावनालाई हेर्ने हो भने राउतसहित गठबन्धनको पक्षमा १ सय ४१ पुग्छ । गठबन्धनले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने कसरत गरिरहेको छ ।

तर, उक्त पार्टीले राखेको ‘सर्त’ तत्काल कार्यान्वयन गर्न गठबन्धनलाई जटिलता परेपछि जनमत पार्टीलाई सरकारमा ल्याउन सक्रियता बढेको हो । चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन फौजदारी मुद्दामा जेलमा रहेका चौधरीलाई रिहाइ गर्नुपर्ने ‘सर्त’ गठबन्धनका नेतासँग राख्दै आएको छ । प्रदेश सरकारमा पनि जनमत पार्टी सरकार निर्माणका लागि निर्णायक शक्ति बनेको छ । प्रदेश प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ४ सिट पाउने देखिन्छ ।

सरकार निर्माणको पहलसँगै मुख्य पदहरूको भागबन्डा मिलाउन सत्ता गठबन्धनका नेताबीच अनौपचारिक संवादसमेत सघन ढंगले अघि बढेका छन् । सरकारको नेतृत्व कांग्रेस र माओवादीबीच आलोपालो गर्ने गरी सहमति जुटाउने प्रयास भइरहेको बालुवाटार स्रोतले बतायो ।

ठूलो दलको हैसियतमा कांग्रेसले पहिलो र माओवादीले दोस्रो चरणमा सरकारको नेतृत्व लिने गरी समझदारी बनाउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।

एकीकृत समाजवादीका एक मन्त्रीका अनुसार पहिलो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्ने, माओवादीले राष्ट्रपति लिने र एकीकृत समाजवादीले सभामुख लिने गरी छलफल अघि बढिरहेको छ । ‘समझदारी भइनसके पनि यसै दिशामा छलफल चलिरहेका छन्,’ उनले भने ।

प्रकाशित : शुक्रबार, मङि्सर १६, २०७९०८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महानगर नरोकिने, उपत्यकाका ३५ सय छाप्रा भत्काएरै छाड्ने !