चुनावले फेसबूक मालामाल, निर्वाचन प्रचारकै क्रममा बाहिरियो यति धेरै डलर !

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति बढाउन र अर्थतन्त्रलाई संकटोन्मुख हुनबाट जोगाउन सरकारले १३ वैशाखदेखि आयातमा कडाइ गरिरहेको छ । गत सेप्टेम्बरदेखि मंसिर २ गतेसम्म ६ हजार ८ सय ७ उम्मेदवारले प्रचार प्रसारजन्य सामाग्री फेसबूकमार्फत बूस्ट गर्दा ठूलो परिमाणमा नेपाली रुपैयाँ बाहिरिएको हो ।वैशाखदेखि विभिन्न वस्तुको आयातमा लगाइएको प्रतिबन्ध अझै ४ वस्तुमा यथावत छ । सरकारले विदेशी मुद्रा सञ्चिति घट्न नदिन र अर्थतन्त्रमा सुधार गर्न भन्दै आयात प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो समय निर्वाचन प्रचारकै क्रममा नेपालबाट ८८ हजार ९९६ डलर (१ करोड १५ लाख ७४ हजार नेपाली रुपैयाँ) बाहिरिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

अन्य सामाजिक सञ्जालमार्फत भएको खर्च समेत जोड्दा यसको परिमाण बढ्न जाने देखिन्छ । मंसिर २ गतेदेखि आचारसंहिता लागेकाले मंसिर १ गतेसम्म मात्रै प्रचार प्रचार गर्न पाइने समयसीमा निर्वाचन आयोगले तोकेको थियो ।आयोगले स्वदेशभित्रै अर्थतन्त्र चलायमान हुने आन्तरिक प्रचारात्मक सामग्री छाप्न, पर्चा पम्लेटिङ गर्न र टी–सर्ट, क्यापसहितका सामग्रीमा प्रतिबन्ध लगाएर त्यसको विकल्प सामाजिक सञ्जालमा खर्चन दिएको छ ।

तर नेपालबाट भएको यस्तो खर्च बाहिरबाट डलर भित्र्याउन भइरहेको प्रयासविपरीत नेपालबाट डलर बाहिरिन सहयोग पुगेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल ९ अर्ब ४८ करोड डलर सञ्चिति छ ।

यो विदेशी मुद्रा सञ्चितिले नेपालमा ८.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने हुन्छ । नेपालको अर्थतन्त्रलाई सुदृढ राख्न कम्तीमा १० महिनाको आयात धान्न सक्ने क्षमता हुनुपर्ने अर्थतन्त्रका जानकारहरूले बताउँदै आएका छन् ।

चुनाव भनेको सामान्य समयको तुलनामा अर्थतन्त्र चलायमान हुने बेला हो । यस्तो बेला अनौपचारिक अर्थतन्त्र चलायमान हुन्छ । निर्वाचनमा एउटा उम्मेदवारलाई खर्च गर्न पाउने गरी तोकिएको सीमाभन्दा बढी खर्च हुने भएकाले औपचारिक प्रणाली बाहिरको पैसा आउँछ भन्ने गरिन्छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान गर्छ ।

नेपालमा कुल ग्रार्हस्थ उत्पादनको ४० प्रतिशत औपचारिक माध्यमबाटै आयात हुने गरेको छ । अनौपचारिक रूपमा आउने आयातसहितलाई हेर्दा नेपालको अर्थतन्त्रको आधा रकम आयातकै नाममा बाहिरिने गरिरहेको छ ।यातायातका साधन, होटल रेस्टुरेन्ट, सञ्चारमाध्यम, सवारी साधनसहितमा गरिने खर्चको आधाजसो हिस्सा नेपालमै बस्ने भए पनि बाँकी आधा हिस्सा भने विभिन्न माध्यम र च्यानलबाट बाहिरै जाने गरेको अर्थशास्त्री केशव आचार्य बताउँछन् ।

उनले भने, ‘नेपालबाट बाहिरिने यस्तो रकमसहित सामाजिक सञ्जालबाट हुने खर्चलाई स्वदेशमै राख्न सकेको भए हाम्रै अर्थतन्त्रमा योगदान राम्रो हुन सक्थ्यो ।’निर्वाचन प्रचारका क्रममा आन्तरिक बजारमा रहन सक्ने पैसा सामाजिक सञ्जालबाट बाहिरिएको हो । प्रविधिको प्रयोगलाई रोक्नू भन्न गाह्रो भए पनि अर्थतन्त्रलाई बढी योगदान दिन सक्ने उपायको खोजी गर्नुपर्ने उनी बताउँछन् ।

‘सामाजिक सञ्जालबाट बूस्ट गर्नु पहिले नै नेपालले सम्झौता गर्न सकेको भए आधा रकम नेपालमै राख्न सकिन्थ्यो होला तर हामीले नै लाभ खोज्न नसकेपछि सबै रकम बाहिरिएको छ,’ उनले भने । विद्युतीय कारोवार ऐन २०६३ लाई प्रभावकारी बनाउने गरी संयन्त्र बनाउने हो भने नेपालले पनि लाभ लिने गरी सामाजिक सञ्जालको प्रयोग गर्न सकिने उनको तर्क छ ।

नेपाली अर्थतन्त्रले नै यही नै प्रशोधन गर्न सक्ने संयन्त्र निर्माण गर्न नसक्नु र कतिपय बाध्यतामा गर्नुपर्ने खर्चका कारण पनि नेपाली अर्थतन्त्रले लाभ लिन नसकेको बुझाइ आचार्यको छ ।

प्रकाशित : बुधबार, मङि्सर १४, २०७९०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निर्वाचनले बैंकमा निक्षेप थप्यो, यति ठूलो रकम भित्रियो !