काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् । १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचन गराउन अक्षम भएको भन्दै प्रधानमन्त्री देउवालाई अपदस्थ गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसमा देखिएको विवादकै कारण उनी राजाको कोपभाजनमा परेका थिए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग बेमेल र पार्टी विभाजनका कारण देउवा टार्गेटमा थिए । त्यसकै फाइदा राजाले उठाएर उनलाई हटाएका थिए ।
राजाको कदमविरुद्ध कांग्रेस, एमालेसहित सात राजनीतिक दलले निरन्तर सडक आन्दोलन गरेपछि ज्ञानेन्द्रले पुनः देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । तर, १९ माघ २०६१ मा ज्ञानेन्द्रले पुनः देउवालाई बर्खास्त गर्दै शासनसत्ता आफ्नो हातमा लिए । ज्ञानेन्द्रको कुविरुद्ध सडक आन्दोलन निरन्तर चर्केपछि ११ वैशाख २०६३ मा राजाले आफ्नो कदम सच्याए । देशमा लोकतन्त्रको पुनस्र्थापना भयो ।
त्यसपछि तत्कालीन विद्रोही शक्ति माओवादी मूलधारको राजनीतिमा आयो र २०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान बनाउन सकेन । र, विघटन भयो । २०७० मा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही सरकारले दोस्रो संविधानसभाको निर्वाचन गरायो ।
दोस्रो संविधानसभाले २०७२ मा देशको संविधान जारी गर्यो । त्यसपछि २०७४ मा आमनिर्वाचन गराउने बेला देउवा नै प्रधनमन्त्री थिए । त्यसअघि स्थानीय तहको निर्वाचनको पहिलो चरणको सुरुवात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरु गरेका थिए । देउवाले बाँकी स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराए ।
निर्वाचनमा एमाले र माओवादीले सुविधाजनक बहुमत पाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । एमाले र माओवादीको सरकार बन्यो । तर, साढे तीन वर्षमै सरकार ढल्यो । र, कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने । देउवाले लगातार दोस्रो संसदीय निर्वाचन गराएर रेकर्ड राखेका छन् ।