गुल्मी, नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान युवामाझ लोकप्रिय छ । एमाले पार्टी विभाजनअघि विष्ट र झाँक्री दुवै माधव नेपाल–झलनाथ खनाल खेमामा हुनुहुन्थ्यो ।
पार्टी विभाजनपछि विष्ट एमालेमै बस्नुभयो । हिजो एउटै पार्टीबाट राजनीतिमा होमिनुभएका विष्ट र झाँक्री अहिले फरक पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि गुल्मी–२ बाट चुनावी मैदानमा उत्रनुभएको छ । यति बेला विष्ट र झाँक्रीको उम्मेदवारीको चर्चा देशभर चुलिएको छ ।
सरकारमा मन्त्री भइसकेका दुवै नेता नेकपा (एमाले) विभाजनसँगै फरक पार्टीको समेत एउटै पदमा हुनुहुन्छ । गृह जिल्लासमेत एउटै भएका विष्ट एमालेका सचिव हुनुहुन्छ भने झाँक्री पनि नेकपा (एकीकृत समाजवादी)को सचिव नै हुनुहुन्छ । दुवै नेतालाई अहिले घरदैलो कार्यक्रम र मतदातासँग मत माग्न भ्याइनभ्याई छ । घरदैलो कार्यक्रममा यी दुवै नेताले अहिले एक–अर्कोलाई कटाक्षसमेत गरिरहनुभएको छ ।
यस पटकको चुनावी लडाइँ प्रतिगामी पक्षधर र अग्रगामीबीचको भएकाले आफ्नो जित सुनिश्चित भएको नेत्री झाँक्रीले बताउनुभयो । “निरङ्कुश शासनका विरुद्ध सबैखाले मोर्चामा सफलता पाउँदै आएकाले गुल्मीका जनताले मलाई जिताउनेमा विश्वस्त छु । सदावहार एउटै व्यक्ति जित्नुपर्ने र नेतृत्व गर्नुपर्ने भन्ने जुन जकडिएको विचार छ । यसलाई गुल्मीका जनताले चिर्नेछन्,” झाँक्री भन्नुहुन्छ ।
यसअघि एमालेको समानुपातिक सूचीबाट सांसद बन्नुभएकी झाँक्री गठबन्धन दलको समर्थनमा पहिलो पटक प्रत्यक्षतर्फ मैदानमा उत्रनुभएको हो । यता २०५६, २०७० र २०७४ मा प्रत्यक्ष चुनाव जितेर संसद्मा ह्याट्रिक गरिसक्नुभएका विष्टलाई संसद् र निर्वाचनको राम्रो अनुभव छ ।
उहाँ २०६४ मा भने माओवादीका चन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । “गुल्मीका जनतासँग भिज्दै आएको र जनताको सुख–दुःखमा काम गरिरहेकाले मैले जितबाहेक केही देखेको छैन,” विष्टले भन्नुभयो । उहाँले नेपाली राजनीतिमा अवसरका लागि बन्ने कित्तालाई यस पटकको निर्वाचनमा जनताले निमिट्यान्न पार्ने दाबीसमेत गर्नुभयो ।
स्थानीय जनतालाई समेत यी दुईबीचको नतिजाबारे आकलन गर्न गाह्रो छ । समाजसेवी सञ्जीव काफ्लेले झाँक्रीको भरोसा गठबन्धनमै भएको बताउनुभयो ।
“कांग्रेसले उम्मेदवार नउठाएकाले झाँक्रीको सम्भावना बढेको छ । यसअघि जितेकाले विकास निर्माणमा के गरे भन्ने पनि लेखाजोखा होला । रिढीदेखि तम्घाससम्मको बाटो कहालीलाग्दो छ । तीन पटक जितेर सत्तामा पुगेका विष्टले यहाँ के गरे ? जनताले देखेकै छन्,” काफ्लेले भन्नुभयो । एउटै घरका बाबु–छोरा त फरक छन् भने पार्टी नै फरक भएर लड्नु अनौठो नरहेको समेत काफ्लेले बताउनुभयो । यता गुल्मी–२ का स्थानीय सन्तोष पुन सङ्गठनको हिसाबले एमालेबाट विष्टलाई जित्न गाह्रो नरहेको बताउनुहुन्छ । “यस क्षेत्रमा कांग्रेसको उम्मेदवार नभएकाले झाँक्रीप्रति सहानुभूति देखिनु स्वाभाविक हो । लामो इतिहास बोकेका विष्टलाई हराउन झाँक्रीलाई कठिनै होला । विष्टको यस क्षेत्रमा प्रभाव राम्रै छ । अनुभव र सरल स्वभाव उनको जित्ने आधार हो,” पुनले भन्नुभयो ।
यस पटकको स्थानीय निर्वाचनको मतका आधारमा पनि गुल्मी–२ मा गठबन्धन र एमालेको टक्कर नै देखिन्छ । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा एमाले गठबन्धन दलभन्दा ७९७ मतले मात्र पछाडि थियो । स्थानीयमा गठबन्धनले ३२ हजार ३२० र एमालेले ३१ हजार ५२३ मत पाएको थियो । तीन पटक निर्वाचन जित्नुभएका ‘ह्याट्रिक’वाला विष्टसँग भूगोलको राजनीतिमा पहिलो पटक ‘डेब्यु’ गर्नुभएकी झाँक्रीको भिडन्त कडा हुने अनुमान गरिएको छ । प्रतिनिधि सभासँगै गुल्मी–२ मा प्रदेश सभाको भिडन्त पनि रोचक हुने देखिएको छ । प्रतिनिधि सभासँगै गुल्मीमा प्रदेश सभाको भिडन्तले पनि यहाँको माहोल तालेको हो ।
यहाँको प्रदेश सभा (क)मा १० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये एमालेका डिल्लीराज भुसाल र सत्ता गठबन्धनका उम्मेदवार भुवन श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै प्रदेश सभा (ख)मा ८ जनाको उम्मेदवारी परे पनि एमालेका दिनेश पन्थी र सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका बुद्धि जीसीबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । –गोरखापत्रबाट
