एकै परिवारका तीनसहित ६ जनाको भूकम्पले लियो ज्यान, ठाउँठाउँमा गयो पहिरो !

धनगढी । गत वर्षामा बाढी र पहिरोको कारण धनजनको क्षति बेहोरेको सुदूरपश्चिमले हिउँद लाग्दा नलाग्दै भूकम्पबाट पनि धनजनको क्षति खेप्नुपरेको छ । डोटीमा भूकम्पका कारण धनजनको क्षति भएको छ । जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्युटको भूकम्पले धनजनको क्षति पुर्याएको हो ।

भूकम्पका कारण घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ ठाडागाउँकी भगवतीदेवी बोहरा, निजकी १४ वर्षीया छोरी सीता बोहरा र निजकै आठ वर्षीय छोरा हर्क बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिए ।

त्यसैगरी भूकम्पमा परी सोही ठाउँका ५० वर्षीय प्रेम बोहरा, निजकी छोरी तुलसी बोहरा र निजको घरमा बास बस्न आएकी धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भूकम्पमा परी सोही गाउँका आठ जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जना ४५ वर्षीया बिष्नादेवी बोहरा र ४६ वर्षीया चनादेवी बोहराको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्यसैगरी घाइते चार जना ५० वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा र १५ वर्षीया भगुकुमारी बोहराको जिल्ला स्वास्थ्य कार्यालय डोटीमा उपचारपश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ । त्यस्तै सामान्य घाइते दुई जना ४२ वर्षीय केशरसिं बोहरा र जगुदेवी बोहराको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएको जनाइएको छ ।

भूकम्पबाट जिल्लाभरी मानवीय बाहेकको अन्य क्षति कति भएको छ भन्ने एथेष्ट विवरण भने अझै आउन नसकेको डिएसपी भट्टले बताए । उनले भने, ‘ठाडागाउँका आठ वटा घर पूर्ण क्षति भएका छन्, अन्य क्षेत्रमा घरहरू चर्किएको केही क्षति भएको भन्ने खबर आइरहेको भए पनि बास्तविक क्षतिको विवरण आएको छैन्, हामी विवरण संकलन गरिरहेका छौँ ।’

भूकम्पका कारण धेरै परिवार विस्थापित भएका छन् । घरहरू भत्किँदा, चर्किंदा घरमा बस्न नसक्ने अवस्था भएका कारण खुला ठाउँमा त्रिपाल टाँगेर बस्नुपर्ने अवस्था आएको छ । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले विस्थापितलाई रेडक्रसले त्रिपाल ब्लांकेट लगायतका सामग्रीहरू वितरण गरेको बताए ।

‘अहिले विस्थापित भएका परिवारलाई रेडक्रसले त्रिपाल, ब्लांकेट लगायतका सामान ल्याएर दिनुभएको छ, खाने व्यवस्था गाउँपालिकाबाट हामी मिलाउँछौँ’, अध्यक्ष उपाध्यायले भने, ‘तत्कालका लागि त्रिपाल, लुगाकपडा बन्दोबस्त गरेर अस्थायी व्यवस्था मिलाउनुको विकल्प छैन, पछि गएर भत्केका संरचना बनाउनमा लाग्नुपर्ने हुन्छ ।’ सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस भए पनि अन्य जिल्लामा भने मानवीय क्षति भएको विवरण आएको छैन ।

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । त्यसअघि पनि रातप् ९ः३७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटकपटक झट्का महसुुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

प्रकाशित : बिहिबार, कार्तिक २४, २०७९०७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाजुरामा भूकम्पको धक्का