काठमाडौँ : अभिनेत्री उपासना सिंह ठकुरी अहिले आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनको कारण विवादमा आएकी छिन्।
‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’ बोलको गीतको छायाँकन युनेस्को विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा गरिएको थियो। उपासनाको पहिरनले फेसबुक, इन्स्टाग्राम र टिकटकमा रहेका नेपाली जनमानसलाई आक्रोशित बनाएको छ। एक टिकटक प्रयोगकर्ताले उपासनाको पहिरनमाथि आक्रोश पोख्दै लेखेका छन् – ‘पवित्र, धार्मिक, सहिष्णुता मठ मन्दिरहरूको चित्रलाई विल्कुलै अपमान गरेको छ। लुङ्गी र जामामा विभिन्न भगवानका मन्दिर गुम्बा र चैत्यलाई कुल्चेको छ। यसको छिटोभन्दा छिटो छानबिन गरि कार्वाही गर्नुपर्छ।’ त्यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन् – ‘हाम्रो संस्कृति र संस्कारको धरोहर स्वयम्भु कसैको लाज ढाग्ने कपडा भईरहेको देख्दा दु:ख लाग्यो। यो सुटिङ जस्तो देखिन्छ, यसको निर्देशकलाई कार्वाहि गरोस।’
उपासनाले लगाएको गाउनमा मठ-मन्दिर, बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा लगायत अन्य धार्मिक सम्पदालाई चित्रण गरिएको छ। उनको यो गाउनलाई फेशन डिजाइनर सुनिता श्रेष्ठले डिजाइन गरेकी हुन्।
उपासनाले लगाएको पहिरनले संस्कृति र संस्कारको धरोहरको अपमान गरेको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन्।