हेटौँडा । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर २ मा उम्मेदवार भएका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको चियापान तथा अगुवा कार्यकर्ता भेलामा यस्तो बताएका हुन् । उनले ओलीले राजावादी र विखण्डनकारीहरूसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै भने, ‘ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बेच्नुभयो ।’
खतिवडाले मकवानपुरमा गठबन्धन बलियो मतका साथ अग्रता कायम गरिरहँदा नेकपा एमालेका उम्मेदवारहरू स्पर्धामा आउनै नसक्ने बताए । उनले पश्चिम मकवानपुरको विकासमा आफू र गठबन्धनको लगानीबारे बोल्दै भने, ‘यहाँको विकासमा साढे तीन वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’खतिवडाले अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने बताए ।
कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र २ को ‘क’ का उम्मेदवार कुमारी मोक्तानले पछिल्लोपटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर २ को रुपान्तरण भएको बताइन् । उनले सरकार निर्माणमा एउटा मत निर्णायक हुने र मकवानपुरका सबै गठबन्धन उम्मेद्वार यसपटक सरकारको नेतृत्वमा पुग्ने अनुहार भएकाले मत दिन आग्रह गरिन् ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ का उम्मेदवार इन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए । उनले डमरु बजाउँदै औषधि बेच्ने हालतमा एमाले पुगेको बताउँदै पश्चिम मकवानपुरको विकासमा एमालेको कुनै योगदान नभएको बताए ।