गौरिकालाई स्वास्थ्यले दिएन साथ, नवौं राष्ट्रिय खेलकुद भयो खल्लो !

काठमाडौँ – कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि नवौं राष्ट्रिय खेलकुद यादगार बन्न सकेन। अस्वस्थता र प्राप्त पदक संख्यामा मात्र नभई आफैंले बनाएको कीर्तिमान समेत तोडिएका कारण पनि त्रिभुवन आर्मी क्लबकी गौरिकाका लागि यस पटकको प्रतियोगिता खल्लो बन्यो।

नेपालगन्जमा सम्पन्न आठौैं राष्ट्रिय खेलकुदमा १२ स्वर्णसहित कीर्तिमान रचेकी गौरिकाले यस पटक व्यक्तिगत विधामा १ स्वर्ण मात्र जितिन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

फिस्टेल एकेडेमीमा शनिबारबाट सुरु भएको पौडीको ११ स्पर्धामा भाग लिएकी गौरिका अस्वस्थताका कारण पहिलो दिन सहभागी दुई स्पर्धाको हिट चरणमा मात्र सहभागी भइन्। हिट चरणमा पनि उनको प्रदर्शन सम्झनलायक थिएन। महिला १ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याक स्ट्रोकको अन्तिम चरणमा उनले प्रतिस्पर्धा गरिनन्।

आइतबार दोस्रो दिन गौरिकाले चार स्पर्धामा भाग लिने बताइएको थियो। तर चिकित्सकले नखेल्न सुझाव दिएको भन्दै उनले महिला २ सय मिटर फ्रिस्टाइल र ८ सय मिटर फ्रिस्टाइल पनि खेलिनन्। पहिलो विधामा भाग नलिएकी गौरिकाले सोही दिन १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिन्। जुन उनका लागि जारी राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक थियो।

समग्रमा गौरिकाले ११ मध्ये ४ विधा छोडिन् भने अन्य सात इभेन्ट खेलिन्, जसध्ये ६ विधामा पदक जितिन्। गौरिकाले ५ स्वर्ण र १ रजत पदक जितिन्।

यसबाहेक सोमबार तेस्रो दिन एनआरएनएकी एस्ली सापकोटा डंगोलले महिला १ सय मिटर बटरफ्लाइमा गौरिकाको तीन वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण पदक जितिन्।

एस्लीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले बनाएको १ मिनेट ०९.९७ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन्। एस्लीले निर्धारित दूरी पार गर्न १ मिनेट०७.७४ सेकेन्ड खर्चिएकी थिइन्।

पौडीतर्फ मंगलबार अन्तिम दिन गौरिकाले दुई विधामा प्रतिस्पर्धा गरेकी थिइन्। अन्तिम दिन गौरिकाले महिला ५० मिटर फ्रिस्टाइल र मिक्स्ड ४ सय मिटर फ्रिस्टाइल रिलेमा प्रतिस्पर्धा गरेकी थिइन्।

महिला ५० मिटर फ्रिस्टाइलमा गौरिका रजत पदकमा सीमित भइन्। उनी यस विधामा आफ्नै नाममा रहेको कीर्तिमानभन्दा पछि परिन्। स्वर्ण विजेता एनआरएनकी एस्लीले २८.२७ सेकेन्डमा निर्धारित दूरी पार गर्दा रजत विजेता गौरिकाले निर्धारित दूरी पूरा गर्न २८.५३ सेकेन्ड खर्चिएकी थिइन्।

यद्यपि गौरिकाले अन्तिम विधाका रूपमा रहेको मिक्स्ड ४ सय मिटर फ्रिस्टाइल रिलेमा भने स्वर्ण पदक जितिन्। आर्मीका एलेक्जेन्डर शाह, डुवाना लामा, नासिर हुसेन यायाले स्वर्ण जिते।

गौरिका अस्वस्थताका कारण आफूले टाइमिङमा सुधार गर्न नसके पनि प्रतियोगितामा सहभागी हुनु नै ठूलो उपलब्धि मान्छिन्।

‘म बिरामी भएँ, धेरैले मैले नवौं राष्ट्रिय खेलकुदका कुनै पनि इभेन्ट्स खेल्दिन होला भन्ने अनुमान गर्नुभएको थियो,’ गौरिकाले भनिन्, ‘तर अस्वस्थताका बावजुद पनि म प्रतिष्पर्धामा उत्रिएँ। प्रतियोगिता हो, जितहार हुन्छ र यसलाई स्वाभाविक रूपमा लिनुपर्छ।’

प्रकाशित : बुधबार, कार्तिक ०२, २०७९०८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खुट्टामा हाउ हुँदा-हुँदै दौडिइन्, जितिछाडिन् दुई स्वर्ण !